गत स्थानीय तहको निर्वाचनमा भन्दा उपनिर्वाचनमा एक लाख ४० हजार मतदाता थपिए
काठमाडौं । गत स्थानीय तहको निर्वाचन, २०७९ मा भन्दा आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ लाख ४० हजार मतदाता थपिएका छन् ।
स्थानीय तहको उपनिर्वाचन, २०८१ का लागि निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार १ लाख ४० हजार २६२ मतदाता थपिएका हुन् ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि प्रकाशन भएको अन्तिम नामावली अनुसार मतदाताको संख्या १ लाख ४० हजार २६२ बढेर १ करोड ८१ लाख २८ हजार ८३२ पुगेका छन् ।
गत निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता र ८८ लाख ४७ हजार ५७९ महिला मतदाता थिए । अगामी उपनिर्वाचन प्रयोजनका लागि प्रकाशित भएको अन्तिम मतदाता नामावली अनुसार पुरुष मतदाता ८४ हजार ६४२ मतदाता थपिएर ९२ लाख २५ हजार ४४८ पुगेका छन् भने ५५ हजार ६१८ मतदाता थपिएर ८९ लाख ३ हजार १९७ पुगेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियका अनुसार गत वैशाख १४ मा सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचन प्रयोजनका लागि प्रकाशित भएको अन्तिम मतदाता नामावली अनुसार १ करोड ८० लाख ८८ हजार ९८३ मतदाता रहेका थिए । अहिले भने ३९ हजार ८४९ मतदाता बढेर १ करोड ८१ लाख २८ हजार ८३२ पुगेको थपलियाले बताए ।
कोशी प्रदेशमा ३३ हजार मतदाता थपिए
निर्वाचन आयोगका अनुसार प्रदेशगत रूपमा पनि फरक–फरक संख्यामा मतदाता थपिएका छन् । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कोशी प्रदेशमा ३४ लाख २९ हजार ८६८ मतदाता रहेका थिए । जसमा पुरुष मतदाता १७ लाख २९ हजार ७७२ र महिला मतदाता १६ लाख ६७ हजार ७१ मतदाता थिए । जम्मा मतदातामा ३३ हजार ३ मतदाता थपिएर ३४ लाख २९ हजार ८६८ मतदाता पुगेका छन् । जसमा १८ हजार ३५७ पुरुष मतदाता थपिएका हुन् भने १४ हजार ६४६ महिला मतदाता थपिएका छन् ।
मधेश प्रदेशमा ४२ हजार मतदाता थपिए
यस्तै गत निर्वाचनमा मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेकोमा १८ लाख २७ हजार ८५४ पुरुष मतदाता र १५ लाख ५८ हजार ७०४ महिला मतदाता थिए । अहिले ४२ हजार ७८ मतदाता थपिएर ३४ लाख २८ हजार ७०६ मतदाता पुगेका छन् । जसमा पुरुष मतदाता २६ हजार ५५७ बढेर १८ लाख ५४ हजार ४११ पुगेका छन् भने महिला १५ हजार ५२२ मतदाता थपिएर १५ लाख ७४ हजार २२६ पुगेका छन् ।
बागमती प्रदेशमा २३ हजार मतदाता मात्रै थपिए
बागमती प्रदेशमा गत निर्वाचनमा ३४ लाख ७१ हजार ४९२ मतदाता रहेकोमा १७ लाख ३८ हजार ८७ पुरुष मतदाता थिए भने १७ लाख ३३ हजार ३७८ महिला थिए । अहिले जम्मा मतदातामा २३ हजार १५९ मतदाता थपिएर ३४ लाख ९४ हजार ६५१ मतदाता पुगेका छन् । जसमा १२ हजार ४७० पुरुष मतदाता थपिएर १७ लाख ५० हजार ५५७ पुग्दा १० हजार ६८९ महिला थपिएर १७ लाख ४४ हजार ०६७ पुगेका छन् ।
गण्डकी प्रदेशमा साढे ३ हजार मतदाता घटे
गत निर्वाचनमा गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ मतदाता रहेकोमा ८ लाख ८२ हजार ३२९ पुरुष र ९ लाख ३५ हजार २०१ महिला मतदाता थिए । अहिलेको उपनिर्वाचनमा ३ हजार ६२१ मतदाता घटेर १८ लाख १३ हजार ९२० मतदाता पुगेका छन् ।
लुम्बिनी प्रदेशमा पौने २२ हजार मतदाता थपिए
गत निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेकोमा १६ लाख ३७ हजार १३२ पुरुष र १६ लाख १२ हजार ४७१ महिला मतदाता थिए । अहिलेको उपनिर्वाचनमा २१ हजार ८२६ मतदाता थपिएर ३२ लाख ७१ हजार ४६३ मतदाता पुगेका छन् । यस्तै १३ हजार ६८० पुरुष मतदाता थपिएर १६ लाख ५० हजार ८१२ मतदाता पुग्दा ८ हजार १४५ महिला मतदाता थपिएर ३२ लाख ७१ हजार ४६३ पुगेका छन् ।
कर्णाली प्रदेशमा सबैभन्दा कम १० हजार मतदाता मात्रै थपिए
गत निर्वाचनमा कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ मतदाता रहेकोमा ५ लाख १० हजार ४२० पुरुष र ४ लाख ९७ हजार ९८० महिला मतदाता थिए । अहिले उपनिर्वाचनमा जम्मा मतदातामा १० हजार १९८ मतदाता थपिएर १० लाख १८ हजार ६०१ पुगेका छन् । यस्तै पुरुष मतदाता ५ हजार ९३४ मतदाता थपिएर ५ लाख १६ हजार ३५४ पुगेका छन् भने महिला मतदाता ४ हजार २६४ मतदाता थपिएर ५ लाख २ हजार २४४ पुगेका छन् ।
सुदूरपश्चिम प्रदेशमा साढे १३ हजार मतदाता थपिए
गत निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता रहेकोमा ८ लाख १५ हजार २१२ पुरुष मतदाता र ८ लाख ४२ हजार ७७४ महिला मतदाता रहेका थिए । अहिलेको उपनिर्वाचनमा गत निर्वाचनमा भन्दा १३ हजार ६१९ मतदाता थपिएर १६ लाख ७१ हजार ६२३ मतदाता पुगेका छन् । जसमा पुरुष मतदाता ९ हजार ७२ थपिएर ८ लाख २४ हजार २८४ पुगेका छन् भने महिला मतदाता ४ हजार ५४५ थपिएर ८ लाख ४७ हजार ३१९ पुगेका छन् ।