रविलाई भैरहवा ल्याए लगत्तै सुप्रिमका बचतकर्ताको प्रदर्शन – Nepal Press

रविलाई भैरहवा ल्याए लगत्तै सुप्रिमका बचतकर्ताको प्रदर्शन

रुपन्देही । सुप्रिम सहकारीका बचतकर्ताले भैरहवामा विरोध प्रदर्शन गरिरहेका छन् ।

गोर्खा मिडियामा गएको उक्त सहकारीको रकम खर्च गरे/गराएको विषयमा अनुसन्धानमा तानिएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट ल्याएलगत्तै यहाँ बचतकर्ताले विरोध जनाएका हुन् । अहिले सरकारी वकिल कार्यालयमा रविको बयान भइरहेको छ ।

आफूहरूको बचत फिर्ता पाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै उनीहरूले दबाबमूलक प्रदर्शन गरिरहेका छन् । यसअघि छविलाल बन्जाडे जोशीलाई ल्याउँदा पनि बचतकर्ताले प्रदर्शन गरेका छन् ।

संघर्ष समितिका संयोजक छविलाल नेपालका अनुसार कसैको विरोध नभएर आफ्नो न्यायको लागि लडेको बताए ।

प्रदर्शनकारीले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेका छन् । मुख्य दोषीलाई राजनीतिक संरक्षण गरिएको आरोप बचतकर्ताको छ ।

विभिन्न सहकारीको बचत रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले जोशीसहित जीबी राई र रवि लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

राई फरार छन् भने रवि लामिछाने र छविलाला बन्जाडेलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रूपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको संसदीय समितिको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर