ग्रामथानमा उपचुनावको तयारी, कसको पल्ला भारी ? – Nepal Press

ग्रामथानमा उपचुनावको तयारी, कसको पल्ला भारी ?

विराटनगर । कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गतेको उपचुनावका लागि ठूला दलहरूले उम्मेदवार टुंग्याएका छन् । उम्मेदवार टुंगिएसँगै यहाँ चुनावको सरगर्मी सुरू भएको छ ।

एमालेले आज ग्रामथानमा प्रशिक्षण कार्यक्रम गर्दै चुनावी अभियान सुरू गर्दैछ । प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल ग्रामथान आएका छन् । भोलिबाट घरदैलो कार्यक्रम थाल्ने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । यहाँ एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।

एमालेबाट अध्यक्षका प्रत्याशी भएका तुलसीरामसँग राजनीतिको छोटो अनुभव भए पनि उनी ग्रामथानका लागि परिचित युवा हुन । उनी अहिले पार्टी गाउँ कमिटीको उपाध्यक्षसमेत छन् ।

यहाँ सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंग्याएको हो । माओवादीले नमोनारायण माझीलाई उठाउँदै छ ।

माओवादीले एक साताअघिबाटै चुनावी अभियान थालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले नमोनारायणलाई पार्टी प्रवेश गराउँदै तीन साताअघि नै चुनावी कार्यक्रम सुरु गरेको सङ्केत गरेका थिए ।

अर्को दल नेपाली कांग्रेसले बलराम सरदारलाई अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । पुराना नेता बलराम कांग्रेस महासमितिका पूर्व सदस्य तथा मोरङ कांग्रेसका सल्लाहकार हुन् । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले पार्टी चुनावमा होमिएको बताए ।

ठूला पार्टीबाट उम्मेदवार निश्चित बनेका तीनैजना पहिलो पटक अध्यक्षको प्रत्याशी बनेका हुन् । नेकपा माओवादीबाट अध्यक्षको दौडमा रहेका नमोनारायण माझी हालै माओवादी प्रवेश गरेका नेता हुन् ।

२०७४ मा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित माझी ०७९ मा अध्यक्षको आकांक्षी थिए । पार्टीले अध्यक्षमा उम्मेदवार नबनाउने भएपछि उनले वडा नं. १ मा स्वतन्त्र उम्मेदवारी दिए । माझी १६४ मतान्तरले हारे ।

उनलाई माओवादी सांसद अमनलाल मोदीले अध्यक्षमा उम्मेदवार बनाउनकै लागि पार्टी प्रवेश गराएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने अध्यक्षको उम्मेदवर बन्न ४ जनाले आकांक्षा देखाएका छन् । तर, कसलाई अघि सार्ने भन्ने बारे टुंगो लागि नसकेको नेता अशोक चौधरीले बताए ।

त्रिपक्षीय प्रतिस्पर्धा

गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ मा निधन भएकाले यहाँ उपचुनाव हुन लागेको हो ।

यस पालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । २०७४ मा यहाँ एमालेका शिवनारायण माझी झिनो मतान्तरले विजयी भएका थिए ।

उनले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार (थारु) लाई ५९ मतले हराए । २०७९ को उपनिर्वाचनमा जयप्रकाशले एमालेका माझीलाई १ हजार ५१२ मतान्तरले पराजित गरे ।

फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच एकीकरण भएपछि उनी कांग्रेसबाट उम्मेदवार बनेका थिए । कांग्रेससँगको एकीकरणसँगै जयप्रकाशले शिवनारायणसँग अघि हारको बदला लिएका थिए ।

गच्छदारले निर्वाचन जित्दा ७ हजार ६०५ मत ल्याएका थिए भने शिवनारायण माझीले ६ हजार ९३ मतमा रोकिए ।

०७४ को निर्वाचनमा चौथो भएको नेकपा माओवादी केन्द्रले १ हजार ६०२ मत ल्याएको थियो । ५ वर्षपछि माओवादी केन्द्रले २ हजार ७२७ मत ल्याएको थियो ।

५ वर्षमा १ हजार १२५ मत बढाएको नेकपा माओवादी केन्द्र अहिले उपनिर्वाचनमा तीव्र रूपमा चुनावी अभियानमा लागेको छ । अहिले सबैभन्दा अघि नै उम्मेदवार घोषणा गरेर माओवादी चुनावी अभियानमा लागेको छ ।

कांग्रेसमा १७ र एमालेमा ११ जना आकांक्षी हुँदा दुवै दललाई उम्मेदवार टुंग्याउन हम्मेहम्मे परेको थियो ।

वडामा एमाले बलियो

७ वटा वडा रहेको ग्रामथानमा एमालेका ५ वटा वडाध्यक्ष छन् । गाउँपालिका उपाध्यक्षसहित एमाले पालिकामा बलियो छ । ०७४ को निर्वाचनमा एउटा मात्रै वडाध्यक्ष जितेको एमालेले ५ वर्षमा ४ वटा वडाको थप नेतृत्व लिन सफल भएको थियो ।

एमालेले ग्रामथान २ मा २०७४ र ०७९ दुवै निर्वाचनमा विजयी भएको थियो । त्यसबाहेक ४, ५, ६ र ७ नं वडामा आफ्नो प्रभाव पार्न सफल भएको छ । वडागत निर्वाचनमा एमालेले सात वटै वडामा ६ हजार ७६३ मत ल्याएको छ ।

अध्यक्षका उम्मेदवारले वडाध्यक्षले पाएको भन्दा ६७० मत कम पाएका थिए । एउटा मात्रै वडा जितेको नेपाली काँग्रेसले वडागत रूपमा ५ हजार ६२७ मत ल्याएको थियो । तर, उसले गाउँपालिका अध्यक्षमा १ हजार ९७८ मत थप्न सफल भएको थियो । अध्यक्षमा वडामा स्वतन्त्र उम्मेदवारी दिएकाहरूको मत उनलाई गएको स्थानीय स्तरको विश्लेषण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *