एमालेलाई फापेको उपचुनाव- इलाम र बझाङ क्लिनस्वीप, स्थानीय तहमा ‘बोनस सीट’ जित्न ह्वीप – Nepal Press

एमालेलाई फापेको उपचुनाव- इलाम र बझाङ क्लिनस्वीप, स्थानीय तहमा ‘बोनस सीट’ जित्न ह्वीप

उपाध्यक्ष युवराज ज्ञवालीको विश्लेषण- एमालेको जनमत घटेको छैन बरु एक्ला एक्लै लड्दा फाइदा हुन्छ, असन्तुष्ट नयाँ मतदाता कता डाइभर्ट हुन्छन् यो निर्वाचनले देखाउँछ

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले अहिले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित भएको छ । उपनिर्वाचन हुने ४४ सीटमध्ये अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याएको एमालेको सिंगो पार्टी पंक्ति अहिले उपनिर्वाचनमा जित निकाल्ने रणनीतिमा छ।

सत्ताको नेतृत्वमा रहेर पनि मिसन ०८४ को अभियान नछाडेको एमालेले अहिले उपनिर्वाचनलाई शक्ति परिक्षणको रूपमा हेरेको छ । यसअघि भएको इलाम २ को प्रतिनिधि र बझाङ प्रदेशसभाको उपनिर्वाचनमा क्लिनस्वीप गरेपछि हौसिएको एमालेले अहिलेको उपनिर्वाचनलाई शक्ति विस्तार गर्ने अवसरको रूपमा लिएको छ।

गत वैशाखमा भएको इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा एमालेले क्लिनस्वीप गरेको थियो । दुवै ठाउँको मुख्य प्रतिस्पर्धी कांग्रेस नै थियो। अहिले एमाले र कांग्रेस सत्ताको एउटै डुंगामा छन् । यद्यपि, मुख्य प्रतिस्पर्धी पनि उनै हुन् ।

एमालेको विरासत भएको इलाम २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले जितेका थिए भने बझाङमा गठबन्धनको बलमा कांग्रेसले जितेको क्षेत्र एमालेले फुत्काएको थियो ।

त्यहाँ पहिला पनि एमालेको राम्रो भएपनि कांग्रेसले माओवादीसँग गठबन्धन गरेको कारणले हारेको थियो । त्यहाँ एमाले दमनबहादुर भण्डारीले कांग्रेस अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका थिए ।

त्यही नतिजा एमाले अहिले हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा पनि दोहोर्‍याउने ध्याउन्नमा छ । अहिले ४४ मध्ये २६ पद कांग्रेस, एमाले र माओवादी ८/८, जसपा नेपाल र स्वतन्त्र उम्मेदवारले जितेको एक/एक सीटमा पनि उपनिर्वाचन हुँदैछ ।

रिक्त मेयर १, उपमेयर १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, जिसस प्रमुख २, वडाध्यक्ष ३४ पदपूर्ति उपनिर्वाचनबाट हुँदैछ । एमालेलाई यो उपनिर्वाचनबाट आफूले जितेको सीट सुरक्षित गरेर ‘बोनस सीट’ जित्ने मौका छ । किनकी विगतमा गठबन्धनसँग लडेको एमालेका लागि यसपटक एक्ला एक्लै लड्ने सुविधा छ ।

कांग्रेस र माओवादी पनि आफूले जितेको क्षेत्र सुरक्षित गर्न चाहन्छन्, तर अहिले चुनावी गठबन्धन नगरी दलहरु एक्लाएक्लै मैदानमा जान तयार भएकाले त्यसको मौका एमालेले उठाउनसक्ने विश्लेषण भइरहेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

एमालेले मुख्य पदका लागि महत्व दिएर तयारी थालेको छ । पार्टी पंक्तिलाई पनि यसअघि जितेका सीट सुरक्षित गर्दै थप ठाउँमा जित्नेगरी लाग्न निर्देशित गरिसकेको छ ।

यसबाहेक कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौं महानगरपालिका वडा नं १६, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ लाई पनि प्राथमिकता दिएको छ । त्यसबाहेक ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुखको लागि पनि चुनाव हुँदैछ ।

कीर्तिपुरमा गएको निर्वाचनमा कांग्रेसले क्लिनस्वीप गरेको थियो । तर, एमालेले अहिले आफ्नो विरासत फिर्ता ल्याउनेगरी रणनीतिक रूपमा चुनावको तयारीमा लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

एमाले एक्लै लडेर यो उपनिर्वाचन हुने ४४ मध्ये २३ क्षेत्र जित्ने उनको दाबी छ । यो उपनिर्वाचनले शहरी क्षेत्रको जनमत निर्धारण गर्ने भएकाले एमालेको प्राथमिकता परेको उनको भनाइ छ ।

यसअघि कांग्रेस, माओवादी, नेकपा एसले चुनावी गठबन्धन गरेकाले झिनो मतले हारेका क्षेत्रमा अहिले सहजै जित्न सकिने एमालेको बुझाइ छ । त्यही अनुसार सिंगो पार्टी पंक्तिलाई केन्द्रित हुन निर्देशन दिइसकेको छ ।

शनिबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए, ‘पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गरेको छ ।’

जनमत परीक्षण हुँदैछः युवराज ज्ञवाली

करिब सबै क्षेत्रको उम्मेदवार टुंग्याएर उपनिर्वाचनमा एमालेले एक्लै जित्नेगरी सम्पूर्ण तयारीमा लागिसकेको उपाध्यक्ष उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

उनले भने, ‘चुनावलाई मध्यनजर गरेर मंसिर ७ गते उपत्यकाका तीनैवटा जिल्लाका कार्यकर्ताहरुको वृहत् जनसभा गर्दैछौं । चुनावको बेलामा जनपरिचालन पनि हुन्छ भन्ने बुझाइ छ । हामीले कुनै पार्टीसँग तालमेल नगरी एक्लै लड्नुपर्छ भनेर लागिरहेका छौं । यो उपनिर्वाचनमा अधिकांशका ठाउँ कांग्रेसको छ, हाम्रो थोरै परेको छ, एमालेले यसपटक ती ठाउँ जित्नुपर्छ भनेर लागेका छौं ।’

यो उपनिर्वाचनको परिणामले जनमत कता जाँदैछ भन्ने सन्देश दिने उनको भनाइ छ ।

उनले थपे, ‘४४ क्षेत्रमा भएपनि मेचीदेखि महाकालीसम्म चुनाव हुँदैछन् । यो निर्वाचनको परिणामले जनमतको सर्वेक्षण पनि गर्ने भएकाले हामीले महत्वपूर्ण रूपमा लिएको छौं ।’

सरकारमा भएकाले बेलामा आलोचना हुने भएपनि चुनावी परिणामलाई असर नगर्ने उनको दाबी छ ।

उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘जनताको अपेक्षा धेरै छन् । समस्या भएकाले जनताले उठाउनु स्वाभाविक हो । असन्तुष्टि देखिएपनि सत्तामा भएका पार्टी ठिक छैनन् भन्दा पनि राम्रो काम गर भन्ने किसिमले गरेका हुन् । यो असन्तुष्टिलाई जनमत नै एमाले कांग्रेसलाई हराउन लागिरहेको छ भन्ने अर्थ राख्दैन । हामी सरकारको भएको बेलामा विगतमा पनि चुनाव लडेका छौं । एमाले र कांग्रेसको आ-आफ्नो जनमत छ ।’

एमाले नेतृत्वको सरकारप्रति असन्तुष्टि बढिरहेको बेलामा जनमत घट्दैन ? भन्ने नेपाल प्रेसको जिज्ञासमा उनले भने, ‘यसले खासै ठूलो असर पर्छ जस्तो लाग्दैन । अहिले नयाँ आउनेहरुले के गर्छन् भन्ने रास्वपाको गतिविधिबाट पनि जनताले हेरिरहेका छन् । जनताले नयाँले पूरै विश्वास गरेको अवस्था छैन । त्यसैले कांग्रेस एमालेको आफ्नै जनमत छ । असन्तुष्टि भएपनि एमालेको मतदाताले एमालेबाहेक अरु रोज्दैनन् ।’

एमालेको आफ्नै पुरानै मतदाता भएपनि नयाँ कता डाइभर्ट हुन्छन् भन्नेमा चुनावी नतिजामा देखिनसक्ने उनको बुझाइ छ ।

उनले भने, ‘नयाँ अहिले थपिएको मतदाता कता डाइभर्ट हुन्छन भन्नेमा पनि छ । उनीहरू बढी असन्तुष्ट छन् । त्यसैले ढुक्क हुने अवस्था त छैन । त्यसैले हामीले अलिक मेहनत गर्नुपर्छ, यो बेलामा सरकारले पनि अलिक राम्रो काम गरेर देखाउन सक्नुपर्छ । परिणाम देखाउन सक्नुपर्छ ।’

ज्ञवालीले अहिले सत्तामा भएकाले कारणले आलोचना र विरोध नभएपनि कांग्रेस एमाले मुख्य प्रतिस्पर्धी दल भएकाले चुनावमा कतै सहकार्य नहुने बताए ।

‘हामीले गरेका काम जनताकहाँ पुर्‍याउन नसके कांग्रेस एमाले उस्तै हुन् भन्ने कुरा जनतालाई पर्नसक्छ हामी सरकारमा भएपनि जनतालाई पार्टीको कुरा बुझाउनसक्नुपर्छ’, उनको भनाइ छ ।

एकताबद्ध भएर जित्न लागेका छौं : कर्ण थापा

स्थायी कमिटी सदस्य कर्ण थापा पनि यो निर्वाचनको परिणामले ठूलो सन्देश दिने भएकाले महत्वपूर्ण रूपमा लिएको बताउँछन् ।

उनले भने, ‘निर्वाचन हुने क्षेत्रमा एकताबद्ध भएर हामीले निर्वाचन जित्नेगरी लागेका छौं । हामीले भनिरहेको मिसन ०८४ लाई पनि यो निर्वाचनले सन्देश दिनेगरी तयारीमा छौं । हाम्रो पार्टीको सिंगो शक्ति नै र नेतृत्व नै एकताबद्ध भएर लागेका छौं ।’

भिन्नभिन्न एजेण्डा र लक्ष्य भएको पार्टी देशको खास परिस्थितिको कारणले सरकार बनेको भएपनि चुनावमा कुनै समस्या नहुने बताए ।

उनले थपे, ‘सरकारमा सहकार्य हुन्छ । निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । सरकारले यो निर्वाचनमा कुनै हस्तक्षेप वा बल पुर्‍याउँदैन, हामीले त्यो रणनीतिका साथ जाने समझदारी छ । त्यसैले अहिले सबै एक्ला-एक्लै लडेर आ-आफ्नो जमनत प्रकट होस् भन्ने पक्षमा छौं । यो निर्वाचन र सरकार अलग कुरा पनि हुन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर