राष्ट्रियता र परिवर्तनका लागि लडेका नेताविरुद्धको प्रहारको भण्डाफोर गरौं : मुख्यमन्त्री कार्की (भिडिओ)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनुशासनहीन काम गर्ने कसैलाई छुट दिने पक्षमा एमाले नरहेको प्रष्ट्याएका छन् ।
मोरङको ग्रामथानमा एमाले मोरङद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमा उनले एमाले नेतृत्वको सरकारले मात्रै देशमा सुशासन कायम गर्न सक्ने जिकिर गरे ।
मुख्यमन्त्री कार्कीले भने, ‘कानूनविरोधी काम गर्ने कसैलाई पनि छुट छैन, जोसुकै भएपनि हामी कानूनी दायरामा ल्याउछौँ चाहे प्रदेश संसदभित्र रहेका मानिस हुन् वा संघीय संसदभित्र रहेका मानिस हुन, चाहे ठूला ठूला कुर्सीमा विराजमान भएका मान्छे हुन् सबैलाई कानूनी दायरामा ल्याइन्छ ।’
सामाजिक सञ्जालको दुरुपयोग गरेर, फेक आइडी बनाएर एआई प्रविधिको दुरुपयोग गरेर मुलुकको राष्ट्रियतामाथि र मुलुकको परिवर्तनका लागि लडेका नेताहरूमाथि प्रहार गर्ने काम केही व्यक्ति तथा संस्थाले गरिरहेको भन्दै यसको भण्डाफोर गरिनुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले मंसिर १६ गते हुने उपचुनावमा सत्ता सहकार्य गर्ने दल नेपाली कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने बताउदै आफ्ना उम्मेदवारलाई जिताउन कार्यकर्ताहरूलाई आग्रह गरे ।
ग्रामथानको विकासमा कोशी प्रदेश सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सक्ने जति काम यही आर्थिक वर्षमा पूरा गर्ने आश्वासन दिए ।