दक्षिणी चीनमा कार दुर्घटनामा ३५ जनाको मृत्यु, दर्जनौं घाइते – Nepal Press

दक्षिणी चीनमा कार दुर्घटनामा ३५ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ । दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । त्यस्तै ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

सोमबार नै यो घटनाको जानकारी दिइएको थियो, तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए, तर मङ्गलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ ।

फान उपनामले चिनिने ६२ वर्षीय चालकले एउटा सानो एसयुभी गेटबाट भित्र चलाएर शहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।

प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैंलाई काटिरहेको अवस्थामा फेला पारी तत्काल रोकेर उपचारका लागि अस्पताल पठाएको थियो ।

उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैंले गरेको चोटका कारण कोमामा छन् र सोधपुछका लागि असक्षम रहेको प्रहरीले बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारका लागि सम्पूर्ण प्रयास गर्न आग्रह गरेको र कानूनबमोजिम अपराधीलाई दण्डित गर्न माग गरेका सरकारी सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

बेइजिङको नागरिक र सैन्य एयरोस्पेस क्षेत्र प्रदर्शन गर्ने चीनको सबैभन्दा ठूलो एयर शो यही शहरमा आयोजना भइरहेको छ । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर