नारायणगढ-बुटवल सडकको काम सुरु गर्न स्थानीय तह र सरोकारवालाको दबाब – Nepal Press

नारायणगढ-बुटवल सडकको काम सुरु गर्न स्थानीय तह र सरोकारवालाको दबाब

रुपन्देही । नारायणगढ बुटवल सडक निर्माणको काम पछिल्लो समय बिस्तार हुन नसकेपछि सडक निर्माणको काम सुरु गराउन सडक क्षेत्रमा पर्ने तीन वटा जिल्लाका स्थानीय तहले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् ।

यस विषयमा बर्दघाट नगरपालिकामा सम्बद्ध सरोकारवालाहरूको संयुक्त छलफल भएको हो ।सो सडक खण्ड अन्तर्गत पर्ने तीनवटा पालिका र जिल्ला समन्वय समितिको पहलमा सडक निर्माण सुचारुका लागि ध्यानाकर्षण गराउने निर्णय भएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।

जिल्ला समन्वय समिति नवलपरासीको संयोजनमा सडक क्षेत्रमा पर्ने रुपन्देही, नवलपरासी पश्चिम र पूर्वका जनप्रतिनिधिबीच पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको छलफलमा ठेकेदारले काम सुरु नगरेकाले प्रधानमन्त्रीसहित संघीय सरकारका निकायको ध्यानाकर्षण गराउँदै समयमै काम सक्ने वातावरण निर्माण गर्न दबाब दिने निर्णय गरिएको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही कार्तिक २९ गते भेटेर ध्यानाकर्षण गराउँदै सडकको काम सुचारु गराउने विषयमा छलफल गर्ने निर्णय पनि गरेको जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जानकारी दिइन् ।

जिसस नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले ठेकेदारले आर्थिक अभावका कारण काम गर्न ढिलाइ गरेको बताए ।

काममा ढिलाइ गरेको भन्दै नोटिस टु करेक्ट पठाएर परामर्शदाता कम्पनीले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनलाई सचेत बनाइसकेको आयोजना प्रमुख मिश्रले बताए ।

ठेकेदारलाई ठेक्का तोड्नु अगाडिको प्रक्रियागत रूपमा दिनुपर्ने अन्तिम चेतावनी स्वरूप एनटिसि जारी भइसकेको बताउँदै मिश्रले उक्त समयावधिभित्र तोकेअनुरूप काम नभए ठेक्का तोड्नुपर्ने बताए। दुई वटा लक्ष्य दिएर अन्तिम चेतावनी दिइएको र उक्त जिम्मेवारी अनुरूपको काम पूरा नभए ठेक्का तोडिने आयोजनाले जनाएको छ ।

परामर्शदाता कम्पनीले चाइना स्टेटलाई आगामी मंसिर २५ गतेसम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्र भएको हुनुपर्ने र दोस्रो शर्तमा मार्च मसान्त अर्थात चैत्र १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म सडकको एकातर्फ सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ ।

ठेक्का तोड्ने चेतावनी पनि ठेकेदारले यसै हप्ताबाट पश्चिम खण्डमा काम सुरु गर्ने हिजो भएको छलफलमा प्रतिबद्धता जनाएको आयोजना पश्चिम खण्डका प्रमुख मिश्रले आयोजित छलफलमा जानकारी दिए ।

ठेकेदार चाइना स्टेटले बजेट अभावका कारण काम गर्न नसकेको बताउँदै आएको छ । काम छाड्ने स्थितिमा पुगे पनि पछिल्लो समय काम प्रतिविद्धताका साथ ठेकेदार कम्पनी फर्किएको बताइएको छ । छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले काम नगर्ने भए ठेक्का तोड्नुपर्ने बताए ।

यही ठेकेदारलाई कुर्दा लामो समयसम्म सास्ती खेप्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्नेमा जोड दिए । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सडकका कारण जनप्रतिनिधिहरूले गाली खानुपरेको भन्दै अब जसरी पनि समयमै सडक निर्माण सम्पन्न गर्न दबाब सृजना गर्नुपर्नेमा जोड दिए।

सो क्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, जिसस पूर्वी नवलपरासी प्रमुख बाबुराम विश्वकर्मा, देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेल, देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, बुटवल उपमाहानगरका उपप्रमुख सावित्रादेवी अर्याल, सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेतलगायतले बोल्दै सडक निर्माण तत्काल सम्पन्न गर्न दबाब सृजना गर्नुपर्ने बताएका थिए ।

निर्माण कार्य अलपत्रजस्तै बन्दा आमनागरिकले निकै सास्ती खेप्नुपरेको छ भने सडकका कारण सबै क्षेत्रमा निकै ठूलो प्रभाव परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *