लकडाउनले मोडियो मुकुन्दको बाटो : प्यारो लाग्छ आफ्नै माटो – Nepal Press

लकडाउनले मोडियो मुकुन्दको बाटो : प्यारो लाग्छ आफ्नै माटो

डोटी । बाली विज्ञानबाट तीन वर्षे प्रमाण पत्र तह (आइएस्सी एजी) को अध्ययन गरिरहँदा इजरायल वा दक्षिण कोरियालाई आफ्नो भविष्य सोच्दै थिए एक किशोर । तर, उनी विदेश गएनन्, आफ्नै देशको बाँझो जमिन जोत्दैछन् ।

डोटी आदर्श गाउँपालिका–१ का मुकुन्द अवस्थी उमेरले २३ वर्षका मात्रै भए । २०७७ सालमा बैतडी, दोगडाकेदार गाउँपालिकामा रहेको चनै माध्यमिक विद्यालयबाट आईएस्सीको औपचारिक कक्षा सकेर उनी अभ्यास (ओजेटी) का लागि पूर्वतिर निस्किए । अभ्यासकै क्रममा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण लकडाउन भयो । मुकुन्द उतै थन्किए । लकडाउन छल्दै जसोजसो घर पुगेका मुकुन्दलाई महामारीका कारण भविष्यका सबै बाटा बन्द भए जस्तो लाग्थ्यो ।

‘कृषि विषय पढेपछि कि इजरायल, कि कोरियामा राम्रो काम पाइन्छ भन्ने सुनेको थिएँ, इजरायल योजना पनि बनाएको थिएँ’ मुकुन्द भन्छन् ‘लकडाउनले गर्दा घरबाट बाहिर निस्कनै सकिएन ।’

घरमा खाली बस्नु भन्दा आफूले पढेको शिक्षा उपयोग गर्न बारीमा साग तरकारी लाउन थाले उनले । तरकारी खेतीबाट आम्दानी हुन थालेपछि मुकुन्दको मन पनि फेरियो । जब जब उनी आफूले लाएको तरकारी बारीमा जान्थे, आफ्नो भविष्य हाँसिरहेको देख्थे ।

मुकुन्दले तरकारी खेतीमै सम्भावना देख्न थाले । उनले घरमा सल्लाह गरे । आफ्नो पुर्ख्यौली बाँझो जमिनमा तरकारी खेती गर्ने निर्णयमा पुगे । उनले दुई रोपनी÷चार रोपनी गर्दै तरकारी खेती बढाउँदै गए । हाल उनी १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् ।

‘२५ टनेलमा टमाटर खेती गरेको छु, करिब पाँच रोपनीमा बन्दा र काउली छ, १० रोपनीमा आलु लाएको छु’ मुकुन्द भन्छन् ‘यो सिजनमा टमाटर मात्रै एक सय क्विन्टल भन्दा माथि बिक्री भएको छ ।’

उनी टमाटरको उत्पादन अहिले पनि भइरहेको बताउँछन् । उनी टमाटरबाट यो सिजनमा करिब सात लाख रुपैयाँ आम्दानी भएको बताउँछन् ।

रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक बाहिरिने लाखौँ युवाहरूमा एक बन्न चाहने मुकुन्द अचेल भने आफूले गरेको कामप्रति खुशी छन् । ‘रहर भनौँ वा बाध्यता सबै जना बिदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनु पर्छ भन्ने मेरो पनि सोच थियो’ उनी भन्छन् ‘तर लकडाउन भएपछि मेरो त्यो सपनामा बिराम लाग्यो ।’

हाल दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरी व्यावसायिक तरकारी खेतीमा पसिना बगाइरहेका उनी अब रोजगारीकै लागि विदेश जाने सपनाबाट धेरै टाढा छन् । ‘कमाउनकै लागि विदेश जानु पर्छ भन्ने त मलाई लाग्दैन, आफ्नै देशमा परिश्रम गर्ने हो भने राम्रै आम्दानी गर्न सकिने रहेछ’ मुकुन्द भन्छन् ‘तर व्यवसाय गर्नका लागि राज्यले वातावरण बनाउन भने जरुरी छ ।’

मुकुन्दले थालेको कृषि पेसाबाट पाँच जनाको परिवार स्वरोजगार भएको छ । यसका साथसाथै उनले पाँच जनालाई नियमित रोजगारी दिएका छन्, भन्छन् ‘सिजनमा त अरू चार/पाँच जनाले पनि काम पाउँछन् ।’

गरिखानेलाई सरकारले पनि पत्याउँदैन

मुकुन्द तरकारी खेतीलाई अझ बिस्तार गर्न चाहन्छन् । उनी थप लगानी लगाउन चाहन्छन् तर आफूसँग छैन । उनले बैङ्कबाट ऋण लिन खोजे, बैङ्कले दिन मान्दैन । ‘ऋण दिनका लागि बैङ्कले कि त तराईको जमिन खोज्छ, कि बजारमा नक्सा पास भएको, सडक पुगेको घर खोज्छ’ उनी भन्छन् ‘तराईमा जमिन भएको भए म तराईमै खेती गर्थे हुँला, बजारमा घर भएको भए पसल व्यवसाय गर्थे हुँदा, नभएको बस्तु कहाँबाट ल्याउनु !’ उनी कहिले धितो पुगेन, कहिले लगानी लाउने कार्यक्रम छैन भन्ने जस्ता बहाना गर्दै बैङ्कले आफूलाई ऋण नदिएको गुनासो गर्छन् ।

सरकारको नीति देखेर उदेक लाग्छ मुकुन्दलाई । ‘विदेश जानलाई, घर बनाउनलाई, जग्गा खरिद गर्नलाई बैङ्कले सजिलै ऋण दिन्छ’ उनी भन्छन् ‘आफ्नै देशमा केही गरिखान्छु भन्नेलाई लगानी लाउन मिल्दैन भनेर फर्काइ दिन्छ ।’

कागजी प्रक्रिया पुर्‍याएरमात्रै करोडौँ ऋण लिनेहरू भएको देशमा गरिखानेहरूले ऋण नपाउने गरेको उनको अनुभव छ, भन्छन् ‘यस्ता यस्तै कुराले त कहिलेकाहीँ विदेशतिरै हान्निउँ कि जस्तो पनि लाग्छ ।’

बाटो र बजारको समस्या

उनको लागि अर्को समस्या बाटोको हो । वर्षात्को समयमा उनको बारीबाट दिनहुँ डेढ क्विन्टल टमाटर बजार लैजानुपर्ने हुन्थ्यो तर बाटो छैन । उनले बोकेरै टमाटर बजार पुर्‍याउनुपर्‍यो । उनी भन्छन् ‘टमाटर जस्तो उत्पादन, धेरै समय रोक्न पनि नमिल्ने, अनि भरिया लगाएरै ढुवानी गर्नु पर्‍यो ।’

उनको गाउँसम्म जाने ग्रामीण कच्ची सडक वर्षात्का कारण अवरुद्ध भएपछि उनलाई आफ्नो उत्पादन बजारसम्म लैजान मजदुरद्वारा ढुवानी गर्नु प¥यो ।

मुकुन्दले आफ्नो तरकारी खेतीमा मन्चिङ्ग विधिको प्रयोग गरेका छन् । सिँचाइका लागि थोपा सिचाई प्रविधिको प्रयोग भएको उनी बताउँछन् । स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल नै पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु हुने तयारी छ ।

तरकारी खेतीप्रति थप उत्साहित गर्नका लागि आदर्श गाउँपालिका र कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको मुकुन्द बताउँछन् । थोपा सिचाई प्रविधि, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादनमा ज्ञान केन्द्रले सहयोग गरेको उनको भनाई छ ।

लगानी लगाउने क्रममा कहिलेकाहीँ गोजीमा पैसा हुँदैन त्यति वेला मुकुन्द चिन्तित हुन्छन् । ‘यसबेला त विदेश गएको भए हुन्थ्यो जस्तो लाग्छ’ उनी भन्छन् ‘कृषि पेसा जुवा जस्तो छ, रोग किरा, प्राकृतिक प्रकोप, बजारको समस्या त आइरहन्छ ।’ भारतबाट आयात हुने तरकारीसँग प्रतिस्पर्धा गर्नु पर्ने अर्को समस्या रहेको मुकुन्दको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *