निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, धमलासँग सोधपुछ
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको बताएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।
सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र र प्राइम टाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन’ का कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौं ।’
प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन् ।
तीनजनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ । उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ ।
अर्यालले आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको गाडी हाँक्दा सो घटना प्रत्यक्ष देखेको दाबी गरेका छन् । कञ्चनपुरमा भएको बेला झण्डाबाल गाडी लिएर हिँड्दा प्रत्यक्ष देखे पनि वास्ता नगरेको उनको भनाइ छ ।
धमला देशमा अस्थिर माहोल बनाएर अरूलाई खुशी पार्ने मिसनमा छन् । नेपालमा बन्ने हरेक सरकारलाई स्थिर नहुन वातावरण बनाउने, भारतको चाकडी गर्ने अनि चीनको विरोध गर्ने प्रमुख उद्देश्य हो । दाम त यी क्रममा कमाईहालिन्छ ।