कपिलवस्तुमा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ
रुपन्देही । कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा लागुऔषधसहित कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको विशेष सर्च अप्रेशनका क्रममा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित कारोबारीलाई पक्राउ गरिएको हो ।
मङ्गलबार राति ९ बजे आएको विशेष सूचनाको आधारमा कृष्णनगर प्रहरीले सर्च अप्रेशन चलाएको र कृष्णनगर ३ हनुमानगढीबाट उक्त परिमाणको लागुऔषधसहित स्थानीय १९ वर्षीय सिकन्दर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।
ठूलो मात्रामा लागुऔषध नेपाल भित्रन लागेको सूचनाको आधारमा समूह बनाई प्रहरी परिचालन गरिएको र सोहीअनुसार उपलब्धि हात परेको कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । पक्राउ परेका चौहानले दिएको जानकारीका आधारमा अन्य स्थानमा समेत लुकाइराखेको लागुऔषध ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ ।
कृष्णनगर प्रहरीले यसअघि पनि ठूलो मात्रामा नेपालमा प्रतिबन्धित औषधिजन्य लागूऔषधसहित कारोबारीहरु पक्राउ गरेको जनाएको छ ।