रविमाथि ९ घन्टामा ५० प्रश्न : सहकारीको रकम हिनामिनाबारे जीबी राईलाई सोध्नुपर्ने जवाफ – Nepal Press

रविमाथि ९ घन्टामा ५० प्रश्न : सहकारीको रकम हिनामिनाबारे जीबी राईलाई सोध्नुपर्ने जवाफ

रुपन्देही । रुपन्देही प्रहरीको हिरासतमा रहेर सहकारी ठगी मुद्दामा बयान दिन बुधबार ९ घन्टा बसेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५० भन्दा बढी प्रश्नको जवाफ सोधिएको छ ।

पोखरामा तीन पटक समय थपेर अनुसन्धानमै राखिएका उनलाई मंगलबार रुपन्देही ल्याइएको हो । मंगलबार मौखिक बयान सोधिएपनि बुधबार लिखित बयान लिइएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोप लागेका पूर्वगृहमन्त्री लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुधबार नै बयान सक्नेगरी लामो समय लिन खोजेपनि साँझ ७ बजेपछि नसकिने भएकाले बिहीबारलाई सारिएको हो । भोलि बिहीबार पनि उनलाई कार्यालय समयमै बयानका लागि लगिनेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जनाएका छन् ।

जिल्ला सहकारी वकिलको कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले दुई दिन बयान लिइए पनि अझै पूर्ण नभएकाले भोलि पनि बयान लिने जनाएका छन् । पौडेलले प्रश्न सोध्ने क्रम करिब अन्तिम चरणमा पुगे पनि नम्बरिङको काम नभएको जनाएका छन् । तर अनुसन्धानमा रहेका अर्का अधिकृतले उनलाई ५० भन्दा बढी प्रश्न सोधिएको जनाएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयमा आज लिएको बयानमा सुप्रिम सहकारीको मुद्दा हेरिरहेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र केही अनुसन्धान अधिकृतहरूले रवि लामिछानेसँग सोधपुछ गरेका थिए ।

आज बिहान १० बजेर १० मिनेट जाँदा बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएकोमा साँझ ७ बजेसम्म बयान लिइएको हो ।

दुई दिनसम्म जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दिएको बयानमा रविले सुप्रिम सहकारी प्रकरणमा निर्दोष रहेको दावी गरेका छन् । उनले सहकारी सम्बन्धी सङ्गठित रूपमा रकम हिनामिनामा आफ्नो संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको विषयमा सङ्गठित ठगी गरेको आरोप लागेका रविले सहकारीको रकम लैजान आफ्नो कुनै भूमिका नरहेको बताएका हुन् ।

स्रोतका अनुसार सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा कसरी पुग्यो भन्नेबारे सोधिएको प्रश्नमा रविले यसबारे सम्पूर्ण काम जीबी राईले गरेकाले आफूलाई जानकारी नरहेको बताएका थिए । यो प्रश्नको जवाफ उनले मंगलबार र बुधबार एकै प्रकृतिले दिएका छन् ।

उनले पैसा लैजान कतै निवेदन नदिएको, ऋण नमागेकोले रकम हिनामिनामा आफ्नो कसरी संलग्नता हुन्छ भनेर प्रतिपश्न गरेका थिए । रविको बयान भोलि सकेर कास्की प्रहरीसमक्ष फिर्ता पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले बाँकी बयान बिहीबार सकिए पठाउन सकिने तर त्यसको टुंगो नलागेको बताइन् ।

सुप्रिमबाट २०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । तर रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् । रवि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कात्तिक २ गते साँझ काठमाडौंस्थित रास्वपाकै कार्यालयबाट पक्राउ परेका थिए ।

सोही राति पोखरा लगिएका उनी प्रहरी हिरासतमै रहेका बेला बयानका लागि भैरहवा ल्याइएको हो । सुप्रिम सहकारीका १ हजार ८३१ जनाले आफूहरूको ८६ करोड बढी बचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सहकारीका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको देखिएपछि अनुसन्धान अघि बढाइएको हो। मुद्दा दायर भएका २८ जनामध्ये ८ जना पक्राउ परिसकेका छन् । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)सहित अन्य व्यक्तिहरू भने फरार छन् ।

लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय प्रवेश गराउँदा र बाहिर निकाल्दा प्रहरीले कडा सुरक्षासहितको घेरा दिएको थियो । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा रविले ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रहरीले आज उनलाई घेरा हालेर सरकारी वकिल कार्यालय लैजाँदा र फर्काउँदा कडाई गरेको थियो ।

यसैबीच रविलाई भैरहवामा ल्याएपछि पक्ष र विपक्षमा भएका आन्दोलनमा कार्यक्रम स्थगित भएका छन् । मंगलबार दिनभर भैरहवामा सहकारी पीडित र रविको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आन्दोलन गरेका थिए ।

बुधवार रास्वपाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे पनि सहकारी पीडितहरूले आन्दोलन गरेनन् । भोलि रविको पक्षमा सभा नगर्ने रास्वपा नेता गणेश पौडेलले बताए । उनले बिहीबार लामो समय बयान नहुने भएकाले विमानस्थल लैजाँदा मोटरसाइकल र्याली मात्रै गरिने योजना बनाएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *