कर्णालीमा उपनिर्वाचन : कुन दलका को उम्मेदवार ? – Nepal Press

कर्णालीमा उपनिर्वाचन : कुन दलका को उम्मेदवार ?

सुर्खेत । कर्णाली प्रदेशमा उपनिर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले आफ्नो उम्मेदवारहरूको अन्तिम तयारी तीव्र बनाएका छन्।

यस पटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकल रूपमा प्रतिस्पर्धामा उत्रने निर्णयसँगै यसलाई दलहरूको स्पष्ट जनमत परीक्षणको अवसरका रूपमा हेरिएको छ।

कर्णालीका आठ पदमा उपनिर्वाचन हुने भएको छ। जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, साथै कालीकोट, डोल्पा, रुकुमपश्चिमका विभिन्न वडाध्यक्ष पदमा उपनिर्वाचन हुनेछ।

एमालेले महाबु गाउँपालिका बाहेक अन्य स्थानका उम्मेदवारहरू टुङ्गो लगाइसकेको छ। जाजरकोटको नलगाड नगर उपप्रमुखमा सुनिता बोहोरा, सर्केगाड उपाध्यक्षमा जाना शाही, तथा विभिन्न वडाध्यक्षमा डम्बरबहादुर घर्ती, लालबहादुर शाही, जुना रोकाय, ऐनबहादुर शाही, र अमृत खत्री उम्मेदवार बनाइएका छन्।

नेपाली कांग्रेसले महाबु गाउँपालिका अध्यक्षमा झलक भण्डारी, नलगाड नगर उपप्रमुखमा इन्द्रा चन्द सिंह, दुल्लु नगरपालिकाको वडाध्यक्षमा शेरबहादुर शाही र कुशे गाउँपालिकाको वडाध्यक्षमा खम्बबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सविता बुढाको नाम तय गरिएको छ भने अन्य स्थानमा जिल्ला समितिले उम्मेदवार छनोट गर्नेछ।

नेकपा माओवादी केन्द्रले ८ मध्ये ६ स्थानका उम्मेदवारको टुंगो लगाइसकेको छ। महाबु अध्यक्षमा जंगबहादुर बराल, नलगाड उपप्रमुखमा देवका लामिछाने, सर्केगाड उपाध्यक्षमा कोपिला बुढा, र वडाध्यक्ष पदमा गोरख नेपाली, ढकेन्द्रबहादुर शाही र जसीराम बस्नेत उम्मेदवार बनाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन स्थानमा उम्मेदवारहरू टुंगो लगाएको छ। महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश बुढा, नलगाड उपप्रमुखमा पार्वती पुन, र सर्केगाड अध्यक्षमा सुजता फडेरा ९थापा० उम्मेदवार बनाएका छन्।

उपनिर्वाचनमा दलहरूको आन्तरिक तयारीले राजनीतिक वातावरण तातेको छ। पार्टीहरूबीचको प्रतिस्पर्धाले यस पटक जनताको विश्वासको साँचो मापन हुने आशा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर