शिखर धवनलाई प्रशिक्षण गर्ने मौका आएपछि के भन्छन् ज्ञानेन्द्र मल्ल ? – Nepal Press

शिखर धवनलाई प्रशिक्षण गर्ने मौका आएपछि के भन्छन् ज्ञानेन्द्र मल्ल ?

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलका लागि कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई आबद्ध गरेपछि यसले नेपाली क्रिकेटमा बेग्लै तरङ्ग सृजना गरेको छ । उनी एनपीएलको पहिलो संस्करणका सबैभन्दा हाइप्रोफाइल खेलाडी बनेका छन् ।

धवन आवद्ध कर्णाली याक्सका प्रमुख प्रशिक्षक हुन् नेपालको राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल । भारतका एक लिजेन्ड खेलाडीलाई मल्लले प्रशिक्षण गराउने मौका पाएका छन् । यसै सन्दर्भमा उनीसँग गरिएको संक्षिप्त कुराकानीः

– एनपीएलमा शिखर धवनलाई प्रशिक्षण गर्न कत्तिको उत्साहित हुनुहुन्छ ?

एक्साइटेड त हुने नै भइयो नि ! एउटै टीममा भएपछि कोच र खेलाडीभन्दा पनि उहाँलाई टीममा ल्याउँदा समग्र नेपाली क्रिकेटका लागि खुसी हुनुपर्छ ।

– धवनको उपस्थितिले कर्णाली एक्स टीममा कस्तो फरक पार्छ ?

धवनसँग जुन किसिमको एक्सपेरियन्स छ, जुन लेभलको क्रिकेट खेलेको छ र आफुलाई प्रुभ गरेको छ, त्यस्तो मान्छेसँग सँगै काम गर्न पाउनु, इन डेप्थमा काम गर्न पाउनु मेरा लागि राम्रो अवसर हो । यो कोच-खेलाडीको रिलेसनभन्दा पनि समग्रमा क्रिकेट रिलेसनलाई हेर्नुपर्छ जस्तो लाग्छ । क्रिकेट रिलेसनमा कसरी अगाडि बढ्न सकिन्छ र हामीले के लिन सक्छौं भन्नेतर्फ सोच्नुपर्छ ।

उहाँबाट हामी कति लिन सक्छौं भन्ने हो । उहाँको उपस्थिति टीममा रहेका बाँकी खेलाडीका लागि महत्वपूर्ण हुन्छ । धवनले उहाँहरुलाई के दिन सक्नुहुन्छ भन्ने सोच्नुपर्छ । उहाँ आउने वित्तिकै कोचिङ गर्नुपर्ने कुरा होइन । यो तर क्रिकेट कल्चरको एक्सचेन्ज हो जुन हाम्रो टीमको मात्र होइन सबै टीमलाई फाइदा हुन्छ जस्तो लाग्छ ।

– धवनले सन्यास लिएर बसिरहेको अवस्था थियो । अब उनलाई टीममा ल्याएर उत्कृष्ट प्रदर्शन निकाल्न कत्तिको च्यालेन्जिङ होला ?

त्यस्तो होइन । उहाँले अन्तर्राष्ट्रिय मात्र खेल्न छाडेको हो, अरु लिगहरू खेलिरहनुभएको छ । उहाँ आउने बित्तिकै पफर्मेन्स गरिहाल्नुपर्छ भन्ने हुँदैन । त्यो कसैको पनि ग्यारेन्टी हुँदैन । होप फर द बेस्ट ।

उहाँको जुन क्रिकेटिङ नलेज, स्किल जुन छ, त्यत्रो लेभलमा खेलेको मान्छेलाई यहाँ आएर एडप्ट गर्न समय लाग्छ भन्ने मलाई लाग्दैन । उहाँबाट हामीले कति लिने भन्ने हो । त्यो भनेको पफर्मेन्सको कुरा मात्र होइन, टीम बिल्डिङ र क्रिकेट कल्चरको विषय पनि हो । नेपाली क्रिकेट जहाँ पुग्ने सोचिरहेको छ त्यसका लागि खेलाडीहरुको अप्रोच र मेन्टालिटी पनि सोही किसिमको चाहिन्छ । धवनबाट त्यो मात्र बुझ्न पायौँ भनेपनि ठुलो कुरा हुन्छ ।

– धवन टीममा कहिले मिसिनुहुन्छ ?

उहाँ सुरूदेखि नै टीममा रहनु हुन्छ । उहाँले कम्तीमा चार वटा खेल चाहीँ खेल्ने पक्का छ ।

उहाँको आगमनले टीमको कप्तानीमा त परिवर्तन नहोला नि ?

– त्यो विषयमा हामीले केही सोचेका छैनौँ । हामीले केही डिसिजन लिएका छैनौँ । टीम बसेर अझै धेरै कुरा गर्न बाँकी छ ।

– तपाईँहरू उपाधिको प्रबल दावेदार हो ?

प्रतियोगिता खेल्ने सबै ८ टोलीले उपाधि जित्न प्रयास गर्ने हो । धवनको आगमनले टीमको मोरल र साइकोलोजी बुस्ट अप चाहीँ हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर