अधिकार नदिँदा प्रदेश सरकारले कामै गर्न नसक्ने अवस्था आयो : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गर्ने कार्य तत्काल सम्पन्न गरेर प्रदेशको अधिकार र प्रभावकारिता वृद्धि गर्न सकिने बताएका छन् ।
बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरुको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेका अधिकारहरु नदिदा प्रदेश सरकारहरुले कामै गर्न नसक्ने अवस्था आएको र जनतामा प्रदेश संरचना प्रति वितृष्णा उत्पन्न हुने गरेको उल्लेख गरे ।
यसका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री कार्कीले संविधानमा रहेको त्रुटी तथा कमजोरीहरु सच्याएर तीन तहको संरचना आवश्यक छ कि छैन भन्ने अन्यौल पनि अन्त्य गर्नुपर्ने धारणा राखे ।
उनले एमाले र नेपाली कांग्रेस बीच भएको सहमति अनुसार संविधान संसोधन अति आवश्यक भएको र निर्वाचन प्रणाली लगायतयका विषयहरु परिमार्जन तथा परिष्कृत गरेर संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने बताए ।
दुई दिन सम्म चल्ने सम्मेलनमा प्रदेश कानुन निर्माण र यसमा देखिएका समस्याहरु, प्रदेश प्रदेशको कार्यगत अनुभव साटासाट र मुख्य न्यायाधिवक्ताको भूमिका बारे छलफल हुने बताइएको छ ।