सीता- राम विवाह पञ्चमीको तयारी सुरु, अयोध्याबाट जन्ती आउने – Nepal Press

सीता- राम विवाह पञ्चमीको तयारी सुरु, अयोध्याबाट जन्ती आउने

जनकपुरधाम । सीता–राम विवाहपञ्चमी महोत्सव यसवर्ष भव्यताका साथ मनाउने तयारी सुरु भएको छ । हरेक पाँच वर्षमा रामजन्मभूमी अयोध्याबाट जानकी मन्दिरमा आउने जन्ती यसवर्ष आउनेछ ।

जन्ती लिएर आउनका लागि औपचारिक पत्र विश्व हिन्दू परिषद् धनुषाले पठाउने तयारी गरिरहेको छ । शनिवार परिष्दका धनुषा अध्यक्ष सन्तोष साहको अगुवाईमा २५१ सदस्यीय टोली तिलक लिएर अयोध्या प्रस्थान गर्ने परिषद्कै नगर अध्यक्ष जानकी रमण झाले जानकारी दिए ।

उनका अनुसार सीताराम विवाह पञ्चमी महोत्सवको विषयमा छलफल गर्न परिषद् धनुषाका अध्यक्ष साहको अध्यक्षतामा बुधबार बैठक सम्पन्न भयो । उक्त बैठकले मंसिर १ गते तिलक लिएर अयोध्या प्रस्थान गर्ने निर्णय गरेको छ ।

उनले भने, ‘हामी तिलक लिएर मंसिर २ गते अयोध्या पुग्छौं । ३ गते तिलकसहित जानकी मन्दिरको पत्र राम मन्दिरका प्रतिनिधिलाई हस्तान्तरण गर्छौं ।’ पत्र परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा राम मन्दिरका प्रतिनिधि चम्पत रायलाई बुझाउने उनको भनाई छ ।

त्रेतायुगमा भगवान राम र सीताबीच मंसिर शुक्ल पञ्चमीकै दिन विवाह भएको सम्झनामा विवाहपञ्चमी मनाउँदै आएको छ । यसवर्ष मंसिर २१ मा सीताराम विवाह पञ्चमी परेको छ ।

सात दिनसम्म मनाइने विवाहपञ्चमीको मुख्यदिन मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरधाममा मर्यादापुरुषोत्तम भगवान राम र सीताबीच सांकेतिक रुपमा विवाह गराइन्छ ।

सीताराम विवाह समारोहमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुन्छन् । यसवर्ष अयोध्याबाट करिब ५ सय साधुसन्त जन्ती समेत आउने भएकाले अन्य वर्षको तुलनामा बढी भिडभाड हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर