उपनिर्वाचन हुने ८ पालिकामा २०७९ को निर्वाचनमा भन्दा कति मतदाता थपिए ?
काठमाडौं । आगामी मंसिर १६ गते देशभरका ३३ जिल्लाका ४४ स्थानमा विभिन्न पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचत हुने ४४ स्थानमध्ये ८ पालिकाका ८ स्थानमा भने पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैँछ ।
४४ स्थान मध्ये २ जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुख र ३८ वडा अध्यक्ष पदमा हुन लागेको निर्वाचनलाई राजनीतिक दलले त्यति महत्व नदिए पनि ८ वटा पालिकाको प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष पदको निर्वाचनलाई बढी महत्व दिएका छन् । जसमा एक नगरपालिकामा प्रमुख र दुई गाउँपालिकामा अध्यक्ष तथा पाँच पालिकाका उपप्रमुख एवम उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैँछ ।
ति पालिकामा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा केहि सय संख्यामा मतदाता थपिएका छन् । २०७९ को निर्वाचनमा प्रमुख एवम उपप्रमुख र अध्यक्ष एवम उपप्रमुखले प्राप्त गरेको मतमा अहिले थपिएका केहि सय मतदाताले प्रभाव पार्ने देखिएको छ ।
आयोगका अनुसार सबैभन्दा बढी काठमाडौंको कीर्तिपुर नगरपालिकामा ७८४ मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा ३० हजार ३२८ मतदाता रहेकोमा अहिले बढेर ३१ हजार ११२ पुगेका छन् । किर्तिपुर नगरपालिकामा प्रमुखका लागि उपनिर्वाचन हुदैँछ । अहिले त्यहाँ उपप्रमुख शुभलक्ष्मी शाक्यले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् । त्यहाँ उपप्रमुख महिला भएकाले प्रमुखमा पुरुष वा महिला जोसुकैले पनि उम्मेदवारी दिन पाउनेछन् ।
यस्तै दोस्रोमा दैलेखको महाँबु गाउँपालिकामा ३९७ नयाँ मतदाता थपिएका छन् । २०७९ को निर्वाचनमा १२ हजार २१७ मतदाता रहेकोमा अहिले १२ हजार ६१४ पुगेका छन् । महाबु गाउँपालिकामा उपाध्यक्ष एवम कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा बहाल रहेकाले त्यहाँ अध्यक्षमा पुरुष वा महिला जो सुकैले पनि उम्मेदवारी दिन पाउनेछन् ।
तेस्रोमा दोलखाको गौरिशंकर गाउँपालिकामा ३७७ नयाँ मतदाता थपिएका छन् । यस अघिको निर्वाच्नमा १५ हजार ३४१ मतदाता रहेकोमा बढेर १५ हजार ७१८ पुगेका छन् । गौरिशंकर गाउँपालिकाका प्रमुखमा पुरुष विश्वास कार्की बहाल रहेकाले त्यहाँ उपप्रमुखमा अनिवार्य महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछ । चौथोमा हुम्लाको सर्केगाड गाउँपालिकामा १३० जना मतदाता थपिएका छन् । उक्त गाउँपालिकाको अध्यक्षमा ठानबहादुर रोकाय बहाल रहेकाले उपाध्यक्षमा अनिवार्य महिलाले नै उम्मेदवारी दिनुपर्नेछ ।
यस्तै मोरङको ग्रामथान गाउँपालिकामा १०२ नयाँ मतदाता थपिएका छन् । यस अघि २५ हजार ९४२ मतदाता रहेकोमा बढेर २६ हजार ४४ पुगेका छन् । यस पालिकाका उपप्रमुख गुमावतीदेवी थारु कार्यवाहक प्रमुख रहेकाले त्यहाँ अध्यक्षमा राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारी दिने जो सुकैले पनि पुरुष वा महिलाले दिन पाउनेछ ।
सबैभन्दा कम बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ३३ जना मात्रै मतदाता थपिएका छन् । यस अघिको निर्वाचनमा ७ हजार ४२७ मतदाता रहेकोमा बढेर ७ हजार ४६० पुगेका छन् । उक्त पालिकामा अध्यक्ष भरतबहादुर रोकाया बहाल रहेकाले त्यहाँ उपाध्यक्षका लागि महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।
जाजरकोटको नलगाड नगरपालिका र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भने यस अघिको निर्वाचनमा भन्दा अहिले मतदाता घटेका छन् । नलगाडमा ५५ मतदाता घटेका छन् भने पुथा उत्तरगंगामा ७३ जना मतदाता घटेका छन् ।
नलगाडमा यस अघिको निर्वाचनमा १६ हजार ५०४ मतदाता रहेकोमा अहिले घटेर १६ हजार ४४९ मतदाता पुगेका छन् भने पुथा उत्तरगंगामा ११ हजार २५३ मतदाता रहेकोमा अहिले घटेर ११ हजार १८० पुगेका छन् ।
नलगाडमा डम्बरबहादुर राउत प्रमुख पदमा बहाल रहेकाले उपप्रमुखमा अनिवार्य महिलाले नै उम्मेदवारी दिनुपर्नेछ भने पुथा उत्तरगंगाको अध्यक्षमा पुनीराज घर्ती बहाल रहेकाले उपाध्यक्षमा महिलाले मात्रै दिनुपर्नेछ ।