समान विकासका लागि विश्वका सभ्यताको आदान–प्रदान आवश्यकः वरिष्ठ उपाध्यक्ष पोखरेल
चीन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरु थप एकताबद्ध भएर सामुहिक हित र मानव समद्धिका लागि लाग्नुपर्ने बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ‘ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उक्त समारोहमा विश्वका १ सय बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरुको सहभागिता रहेको छ । ग्लोबल साउथ देशहरुका समस्याहरुलाई सामूहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वब्यापी अभियानलाई थप सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताहरुको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यकता रहेको पनि उनले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासका लागि विश्वका विभिन्न सभ्यताको आदान–प्रदान आवश्यक रहेको चर्चा गर्दै यसले सबै सभ्यतालाई थप विकास गर्न सहयोग गर्ने धारणा पनि व्यक्त गरे ।
सभ्यताको अनुभव आदान–प्रदानले विश्वका सबै मुलुकहरुलाई आपसी समझदारी बढाउन, असमझदारी घटाउन र शान्ति तथा सुखमा ठूलो योगदान दिन सहयोग गर्ने उल्लेख गर्दै उनले सभ्यताहरुको आदान प्रदानले नै मानव समाज आजको विकसित र वैज्ञानिक युगमा पुगेको स्मरण गराए ।
उनले प्रकृतिले धेरै श्रोतहरुको उपहार दिएको नेपालमा रहेका प्राकृतिक श्रोतहरुलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरुले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सहयोग गर्न आग्रह गरे।
नेपालको जनविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरुले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृृतिक श्रोतलाई ग्लोबल साउथका जनताहरुको समृद्धिका लागि उपयोग गर्न सकिने उनको भनाई थियो ।
हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौंदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी मंसीरमा हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धिमुलक हुने उहाँले विश्वास व्यक्त गरे ।
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीन लगायतका मित्रराष्टको महत्वपूर्ण सहयोग हुने आशा व्यक्त गरे ।
समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागमा मन्त्री ल्यु च्याङ्गचाओ, नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, चिनिया कम्युनिष्ट पार्टी ज्याङसु कमिटीका सचिब तथा ज्याङसु प्रदेश सरकार स्थायी कमिटीका अध्यक्ष छिन चाङसिन, क्यूवाको निका लोपिज युनिभर्सिटीका अध्यक्ष हुर्टाडो परेज, संयुक्त सेचेल्सका अध्यक्ष पत्रिक हेर्मनी लगायत बिभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए।
चिनियाँ कम्युनिष्ट पार्टी बिदेश बिभागको निमन्त्रणामा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको पन्ध्र सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले ग्लोबल साउथको साझा बिकासका लागि आधार तयार भइरहेकोमा खुसी ब्यक्त गरे ।