पपुलिष्ट र अवसरवादी शक्तिहरूसँग संवादसहितको प्रतिवाद गर्न कार्यकर्तालाई एमाले नेता रावलको आह्वान
कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले पपुलिष्ट र अवसरवादी शक्तिहरूसँग संवादसहितको प्रतिवाद गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।
नेकपा एमाले शुक्लाफाँटाको दोस्रो नगर अधिवेशनको बिहीबार उद्घाटन गर्दै नेता रावलले भने, ‘पपुलिष्टहरुको कुनै सिद्धान्त र विचार हुँदैन, उनीहरु समस्या मात्र देखाउँछन्, समाधान दिँदैनन् । यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन रगत, पसिना बगाएकाहरूले मौनता साध्नु हुँदैन । डटेर प्रतिवाद गर्नुपर्छ ।’
पोलिटब्युरो सदस्य रावलले पपुलिष्ट र अराजकता फैलाउने शक्तिहरूले व्यवस्था र नेतृत्व माथि चौतर्फी रुपमा आक्रमण गरिरहेको बेला एमाले कार्यकर्ताहरू मौन बस्न नहुने बताए । ‘मौनता घातक हुन्छ, यसलाई यथास्थितिवाद पनि भनिन्छ’, उनले भने, ‘अवसरको पछि मात्रै दौडिने होइन, अप्ठेरो अवस्थामा सामूहिक जवाफ पनि दिनुपर्छ, त्यसका लागि पार्टी पङ्क्तिलाई आह्वान गर्छु ।’
गाउँगाउँमा खुलेका सहकारीहरूले राष्ट्रिय पुँजीको निर्माण गरिरहेको बेला अमेरिकाबाट आएका एकथरी मानिसहरू सहकारी आन्दोलनलाई बदनाम गराउन निरन्तर लागेको र अर्काथरी राष्ट्रलाई कर तिर्नै पर्दैन भनेर सडकमा बर्बराइरहेको उनले बताए ।
एमाले निश्चित विचार र सिद्धान्त बोकेको पार्टी भएकाले सामूहिकतामा विश्वास गर्ने र गुटगत प्रतिस्पर्धा अस्वीकार्य भएको बताउँदै उनले पार्टीबाट जितेका जनप्रतिनिधिहरूले नेतृत्वसँग सरसल्लाह गरी राम्रो काम गर्नुपर्ने बताए । ‘पुच्छरले कुकुर हल्लाउने होइन, कुकुरले पुच्छर हल्लाउने हो’, नेता रावलले भने ।
नगर अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा सम्पन्न दोस्रो नगर अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज नरबहादुर धामी, अर्का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृपाराम राना, युवा सङ्घका पूर्व केन्द्रीय अध्यक्ष बच्चन बहादुर सिंह, शुक्लाफाँटाका नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य रणबहादुर महरा, जिल्ला अध्यक्ष लक्ष्मी बुढा र सचिव पल्लवराज भट्टलगायतको उपस्थिति रहेको थियो ।