देउवासँग ट्युनिङ मिलाउँदै गगन, कांग्रेसको आन्तरिक समीकरणमा उलटफेरको संकेत – Nepal Press

देउवासँग ट्युनिङ मिलाउँदै गगन, कांग्रेसको आन्तरिक समीकरणमा उलटफेरको संकेत

सभापतिको दौडबाट ब्याक नहुने पक्षमा शेखर, गगनको बेग्लै मूभ

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आउन विधानतः अझै दुई वर्ष बाँकी छ । तर, नेताहरूलाई महाधिवेशनले छोइसक्यो ।

आगामी नेतृत्वको आकांक्षीले महाधिवेशनको तयारी थाले पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका शीर्ष नेताहरूको मनोभाव बुझ्दा ०८२ मंसिरभित्र १५ औँ महाधिवेशन हुने सम्भावना देखिन्न ।

त्यसो त गत फागुनमा भएको महासमितिको बैठकबाट महामन्त्री गगन थापाले आगामी महाधिवेशनको मिति तोकेर जानुपर्नेमा जोड दिएका थिए । महासमितिको बैठकमा मात्रै होइन, अनुमोदन गर्न बसेको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्ष हाबी भएकाले तोकिएको समयमा महाधिवेशन गर्ने भनिए पनि मिति तोकेन ।

देउवालाई विधानको प्रावधानअनुसार नै चार वर्षे कार्यकालमा एक वर्ष थप्न सक्ने छुट छ । त्यसमा संवैधानिक व्यवस्थालाई टेकेर साढे पाँच वर्ष पुर्‍याउन सक्छन् ।

एमालेसँगको सहमति कार्यान्वयन भए ०८३ असार देउवा छैटौंपटक प्रधानमन्त्री बन्नेछन् । आफू प्रधानमन्त्री भएर ०८४ को चुनावी सरकारको नेतृत्व गर्ने दाउमा रहेका देउवाले आफ्नो कार्यकाल पनि त्यहीँसम्म लम्बाउने रणनीतिमा रहेको नेताहरूले लख काट्न थालेका छन् ।

तर, संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालासहित नेताहरू भने विधानअनुसार समयमै महाधिवेशन हुने ग्यारेन्टी देउवासँग खोजिरहेका छन् । १४ औँ महाधिवेशनमा सभापतिमा पराजित कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व फुत्काउने दाउमा छन् । अहिलेदेखि नै महाधिवेशन केन्द्रित गरेर देशभर नेता कार्यकर्ता भेट्दै आफ्नो पक्षमा माहौल बनाउँदै हिँडिरहेका छन् ।

कोइराला मात्रै होइन, देउवालाई चर्को दबाब दिनेमध्येमा पार्थे महामन्त्री गगन थापा । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेललगायत नेताहरूको साथ छ ।

कुनै समय पार्टीभित्र सधैँ प्रतिपक्ष देखिने गगन अहिले प्रायः मौन छन् । पार्टीमा होस् या पार्टी नेतृत्वको सरकार हुँदा पनि आलोचना गरिरहने उनी एमालेसँगको सत्ता सहकार्यपछि चर्को सुनिन छाडेका छन् । त्यसमा देउवा पनि सन्तुष्ट देखिन्छन् ।

गगनको यो मौनतालाई कतिपयले १५ औँ महाधिवेशनको रणनीतिक चालको रूपमा बुझेका छन् । देउवाले आगामी महाधिवेशनबाट आफू नेतृत्वमा नआउने बताइसकेपछि देउवाको विश्वास जित्ने रणनीतिमा गगन लागेको चर्चा हुन थालेको छ ।

कांग्रेसमा अहिले पनि देउवा नै हाबी छन् । त्यसैले आगामी महाधिवेशनका लागि सभापतिको तयारीमा लागेका गगन देउवाको विश्वास लिने प्रयास गरिरहेको कांग्रेसकै नेताहरू स्वीकार्छन् । महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेर पत्नी आरजु राणालाई पनि उचित जिम्मेवारीसहित व्यवस्थापन गर्न चाहन्छन् देउवा ।

सभापतिको यही मनोभाव बुझेर नै गगन निकट हुने प्रयासमा रहेको आन्तरिक विश्लेषण छ । इतर पक्षका नेता कोइरालाले सुरूदेखि नै आफ्नै तयारी गरिराख्दा एउटै टीमबाट दुईजना सभापतिको उम्मेदवार हुन सम्भव नहुने निश्चित भएपछि गगनले कित्ता फेर्ने प्रयास गरेको पनि कतिपयको बुझाइ छ । तर, त्यो सहज छैन ।

संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलादेखि डा. शशांक कोइरालासम्म देउवाको आशीर्वाद पाउनेमा आश्वस्त छन् ।

तर, देउवाले एमालेसँग सहकार्य थालेपछि हरेक शीर्ष तहको बैठकमा गगनलाई अघि सार्दै आइरहेका छन् । दुई दलबीच बनेको उच्चस्तरीय संयन्त्रमा पनि गगन अटाएका छन् । अहिले प्रतिपक्ष दलको नेता झैँ शेखरले सार्वजनिक कार्यक्रममा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेका छन् ।

अहिले सभापति र महामन्त्रीबीच कुनै विवाद नभएको कारण दुवैले एक अर्काको विश्वासको आधारमा काम भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।

देउवानिकट रहेका विश्वकर्माले भने, ‘उहाँहरूको मिलनलाई महाधिवेशन केन्द्रित भन्न मिल्दैन । सभापति र महामन्त्रीबीच पहिलादेखि नै काम गर्न सहजता हुनुपर्ने हो । यो बीचमा फरक-फरक प्यानलबाट लडेको भएकाले कुरा मिल्न सकेको थिएन । त्यसपछि महासमितिको दस्तावेजलगायतको विषयमा केही फरक धारणा रह्यो । अहिले उहाँहरूसँग सबै कुरा मिलिसकेपछि विवाद छैन ।’

उनले सभापति देउवाले महामन्त्रीलाई अहिले विश्वास लिएर काम गरिरहेको बताए । आगामी महाधिवेशनलाई लक्षित गरेर पनि गगनलाई देउवासँग मिलेरै जाँदा फाइदा हुने उनको बुझाइ छ ।

नेता विश्वकर्माले भने, ‘गगनजी आगामी महाधिवेशनमा जसरी पनि सभापतिको उम्मेदवार बन्ने, त्यहाँमा शेखर दाइले नछाड्ने भइसकेपछि उहाँले कुनै न कुनै रूपमा अर्को बलियो समूहको साथ लिनुपर्ने थियो । त्यसैले अहिले गगनजीले सभापतिको विश्वास जित्ने कोसिस गर्नुभएको छ । राम्रै कुरा छ ।’

महाधिवेशन आउन अझै धेरै समय बाँकी भएकाले सभापतिले कसलाई समर्थन गर्नुहुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको बताए ।

‘सभापतिसँग ट्युनिङ मिल्नु सकारात्मक’

पार्टी सभापति र महामन्त्री मिलेर काम गर्नु सकारात्मक भएको भएको गगननिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बताउँछन् ।

उनी भन्छन्, ‘पार्टीको कामले महामन्त्री र सभापति मिलेका हुन्, पार्टीको आन्तरिक मात्रै होइन, बाह्य चुनौती पनि बढिरहेको बेलामा मिलेर अघि बढ्नु सकारात्मक रूपमा लिनुपर्छ। महाधिवेशन केन्द्रित भएर मिलेको भनेर जोड्न हतार हुन्छ ।’

उनले महाधिवेशन गर्नको लागि पनि सभापति र महामन्त्री नजिक भएर काम गर्नुपर्ने बताए ।

उनले थपे, ‘पार्टी सरकारमा छ, कार्यसम्पादनको विषयमा पनि मिल्नुपर्छ, महाधिवेशन गरेर जाने वातावरण बनाउनु छ। अहिले पार्टी सञ्चालन गर्दा सभापति र महामन्त्रीको ट्युनिङ मिलेको छ । त्यसलाई पार्टीका नेता कार्यकर्तालाई सकारात्मक रूपमा लिनुपर्छ ।’

‘शेखर-गगन एक ठाउँमा हुन्छन्’

गगन देउवासँग नजिकिएको भन्नेमा इतर पक्षका नेताहरू विश्वास गर्दैनन् ।

शेखरनिकटका केन्द्रीय सदस्य गोविन्द पोखरेलले भने, ‘गगनजी र शेखर दाइ एउटै टीममा हुनुहुन्छ, अलग हुँदैनन् । महामन्त्रीले सभापतिसँग मिलेर काम गर्नुपर्ने हुन्छ, नत्र गर्न पनि सकिँदैन । एउटै पार्टीमा भएपछि कुरा भइहाल्छ । पार्टीलाई गतिशील बनाउनलाई महामन्त्रीको हैसियतले सभापतिसँग कामको लागि मिल्नुभएको हो । सभापति र महामन्त्री मिलेर काम गरे न कार्यकर्तालाई पनि पार्टीप्रति विश्वास हुन्छ । तर, महाधिवेशनको हकमा गगन र शेखर एक ठाउँमा हुन्छन् ।’

गुट-उपगुट हुँदा फाइदा लिन खोज्नेहरूले अहिले शेखर-गगन अलग हुँदै छन् भनेर हल्ला गरेको शेखर निकट एक नेताको जिकिर छ ।

ती नेताले भने, ‘संस्थापन पक्षका नेताहरू पनि शेखर दाइसँग आएर भेट्ने कुरा गर्ने गरिराख्नुभएको छ । केही नेताहरूमा देउवापछि विकल्प शेखर नै हो भन्न थालिसक्नुभएको छ । गगन र देउवा पार्टीलाई गतिशील बनाउनको मिल्नुभएको हो । दुवैजना महामन्त्री नजिक हुनुभएको छ । महाधिवेशनमा कसरी मिलेर जाने भन्ने उहाँहरूबीच छलफलपछि टुंगिन्छ । सँगै जानुहुन्छ ।’

‘आन्तरिक समीकरणमा उलटफेर हुने देखिन्छ’

संस्थापन पक्षका कतिपय नेताहरूले पार्टीको अबको सभापति शेखरलाई नै स्वीकारिसकेको ती नेताको दाबी छ । शेखरले सभापति दौडका लागि कोइराला परिवारको पनि आशा राखेका छन् । सुजाता कोइरालाले खुलेर समर्थन गरे पनि शशांक आफ्नो तयारीमा देखिन्छन् ।

ती नेताले भने, ‘संस्थापन पक्षका केही नेताहरूसँग पनि छलफल त भइरहेको छ, तर त्यही विषय केन्द्रित गरेर भएको छैन। अहिले गगनजीलाई सभापतिसँग नजिक भयो भन्ने आरोप लागिरहेको छ तर पार्टीको काम गर्न महामन्त्रीले सभापतिसँग मिलेर काम गर्नुपर्‍यो । यही विषयलाई देखाएर शेखर र गगनलाई फुटाउन पनि केही नेताहरू लागिरहेका छन् । त्यही षड्यन्त्रअनुसार अहिले बजार हल्ला भएको हो । तर, बाहिर आएजस्तो होइन ।’

तर, शेखर र गगन दुवैले सभापतिको तयारी थालिसकेकाले तत्कालै ब्याक कोही हुनसक्ने अवस्था नदेखिएको गगननिकट एक नेताले बताए ।

ती नेताले भने, ‘शेखर र गगन दाइ दुवैले सभापतिको तयारी थाल्नुभएको छ, त्यसले गर्दा अब एकै ठाउँमा नहुने हो कि भन्ने विश्लेषण पनि हुन थालेको छ । दुवैको दौडले यो लुकेको विषय पनि रहेन अब । आफ्नो तयारीबाट ब्याक भएर कम्प्रमाइज गर्ने पनि देखिने अवस्था छैन । आ-आफ्नो तयारीमा छ ।’

अहिले दुवै नेताहरूले आन्तरिकरूपमा आफू निकटका नेताहरूसँग छलफल गरेको भए पनि इतर पक्षको बैठक राख्न पहल नभएको ती नेताले बताए ।

ती नेताले थपे, ‘सबैलाई बोलाएर इतर पक्षको बैठक बसेको छैन । उहाँहरूले आन्तरिकरूपमा आफू निकटका नेताहरूसँग कुरा गरिराख्नुभएकै हो, तर पछिल्लो समय दुई नेताबीच संवाद र इतर पक्षको बैठकको पहल भएको देखिएको छैन ।’

१५ औँ महाधिवेशनसम्म पुग्दा पार्टीको आन्तरिक समीकरणमा नयाँ ध्रुवीकरण हुने संकेत देखिएको सुनाए ।

ती नेताले थपे, ‘पार्टीको आन्तरिक समीकरणमा नयाँ ढंगको ध्रुवीकरण हुने संकेत देखिएको छ । त्यसले गर्दा अहिले कुन नेताले कसलाई साथ दिन्छन् भन्ने भन्न सक्ने अवस्था छैन । एउटै टीममा रहेका शेखर र गगनबीच नै प्रतिस्पर्धा हुने अवस्था बन्यो भने त्यो टिमको मान्छेले मात्रै जितिँदैन । अर्को समूहको ध्रुवीकरण हुन्छ नै ।’


प्रतिक्रिया

One thought on “देउवासँग ट्युनिङ मिलाउँदै गगन, कांग्रेसको आन्तरिक समीकरणमा उलटफेरको संकेत

  1. कहिले शेखर कहिले देउवासँग दलाली गरेर दिन बित्ने भए । रवि विरूद्व लागे पछि त यो मान्छे सकियो अब । यसलाई कसैले पनि भोट दिदैनन अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर