काठमाडाैं महानगरले गर्‍याे श्रम र असुरक्षित बाल गृहबाट १२ बालबालिकाको उद्धार – Nepal Press

काठमाडाैं महानगरले गर्‍याे श्रम र असुरक्षित बाल गृहबाट १२ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ । मंगलबार वडा नंं १ मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षिय बालकलाई उद्धार गरेको थियो ।

महानगरपालिकाले बुधबार वडा नं। २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र १ जना बालिका सबैको उद्धार गरेको हो । उद्धारपछि राष्ट्रिय बाल अधिकार परिषद्ले सबै बालबालिकाको अस्थायी संरक्षणको मिलाएको छ ।

उद्धार भएका बालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिनेछ । उद्धारमा खटिएका बाल संरक्षण अधिकृत सुनिता शाह भन्छिन्, ‘लेखाजोखा र मनोविमर्शपछि प्राप्त हुने मनोसामाजिक प्रतिवेदनका आधारमा पारिवारिक पुनर्मिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।’

महानगरपालिकाको हटलाइन नम्बरमा बालबालिकाको नाजुक अवस्था रहेको, उनीहरुका नाममा अवैध चन्दा संकलनलगायत काम भइरहेको सूचना प्राप्त भएको थियो । प्राप्त सूचनाका आधारमा २ ठाउँमा एकैपटक अनुगमन गरेको थियो ।

महानगरपालिकाका बाल कल्याण अधिकारी शान्ता पहाडी भन्छिन्, ‘बालबालिका राखिएको ठाउँमा उद्धार कार्यदलका संयोजक रसला तण्डुकारको नेतृत्वमा एउटा टोली र गैरकानुनी गतिविधि सञ्चालन गर्ने संस्थाको अनुगमनका लागि कार्यदलका सदस्य धिरज जोशीको नेतृत्वमा अर्को टोली एकै पटक परिचालन भयो । टोलीमा राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास सेवा ९१०४० महानगर नगर प्रहरी बल र नेपाल प्रहरीबाट प्रतिनिधि हुनुहुन्थ्यो ।’

महानगरपालिकाले पहिलो चरणमा उद्धार गरिएका बालबालिकाहरुको घटना व्यवस्थापन गरिसकेको छ । दोस्रो चरणको बाल उद्धार कार्यक्रममा महानगरपालिकाको हटलाइन नम्बर ११८० मा प्राप्त भएका सूचनाका आधारमा काम थालेको छ । पहिलो चरणमा २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकाको उद्धार भएको थियो ।

उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनःस्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सर्वोत्तम हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्यउपचार सहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको छ । उद्धार गरिएका ५१ जनामध्ये २४ जना बालबालिकालाई परिवारमा पुनस्स्थापना गरिएको बाल कल्याण अधिकारी पहाडीको भनाइ छ ।

महानगरपालिकाले गएको वर्ष बाल संरक्षण तथा बालबालिका सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । त्यसयता बालबालिका लक्षित विभिन्न कार्यक्रम तथा बाल संरक्षण प्रणाली सुदृढीकरणमा काम भइरहेको छ । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारा राखेर बालबालिका लक्षित कार्यक्रमका लागि यस आर्थिक वर्षमा सामाजिक विकास विभागअन्तर्गत ४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कार्यविधिअनुसार उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा महानगर बाल अधिकार समितिको गठन भइसकेको छ । समितिअन्तर्गत बाल उद्धार कार्यदल र घटना व्यवस्थापन उपसमिति गठन भएका छन् ।

बाल कल्याण अधिकारीको व्यवस्था गरिएको छ । बाल उद्धार कार्यक्रम पूर्व र उद्धार पश्चात् बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक प्रतिवेदन तयार पारेर बालबालिकाको सर्वोत्तम हित निर्धारणमा सहजीकरण गर्न समाजसेवी तथा बालमनोविज्ञको नियुक्ति भइसकेको छ ।

यसपछि महानगरपालिका आफैले अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने, महानगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरूमा बाल संरक्षण शिक्षक तोक्ने, वडा स्तरमा बाल अधिकार समितिहरू गठन गर्ने, बाल क्लब तथा सञ्जालहरू गठन गर्ने कार्यक्रम रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर