यू- १९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही अढाइ लाख दिने क्यानको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।
क्यानले आज एक विज्ञप्ति जारी गर्दै टी- २० विश्वकप २०२५ का लागि छनौट भएको यू-१९ नेपाली महिला क्रिकेट टिमका खेलाडीहरूलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
साथै क्यानले यू- १९ महिला टिमका टिम अफिसियलहरूलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने जानकारी दिएकाे छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।
एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।