उपनिर्वाचनका लागि सबै क्षेत्रमा उम्मेदवार उठाउँदै नाउपा, अहिलेसम्म कहाँ-कहाँ टुङ्गियो ?

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले पनि स्थानीय तहमा रिक्त ४४ पदमा उम्मेदवार उठाउने जनाएको छ । आगामी मङ्सिर १६ गते उपनिर्वाचनमा आफ्नो पार्टीबाट सबै क्षेत्रमा उम्मेदवार हुने नाउपा महासचिव गङ्गा चौधरीले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्ष ३४ गरी ४४ वटा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
नाउपाले अहिलेसम्म केही स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने केही स्थानमा प्रक्रियामा रहेको जनाएको छ ।
नाउपाले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा रुक्मती थारुलाई उम्मेदवार बनाउने भएको छ । बझाङ सुर्मा ४ मा रेखा जेठारा र कञ्चनपुर भीमदत्त ६ मा हरिश चौधरी उम्मेदवार बन्ने भएका छन् ।
कपिलवस्तु शुद्धोदन १ मा सूर्यकुमार चौधरी थारु र ठाकुरवावा ४ मा प्रीतिलाल थारुलाई उम्मेलवार बनाउने नाउपाले जनाएको छ । त्यस्तै नाउपाले गोरखा ५ मा सुकमाया नेपाली र नुवाकोटको ककनी २ मा अमृत तामाङलाई उम्मेदवार बनाउने भएको छ ।
सप्तरीको डाक्नेश्वरी ४ मा शिवकुमार राम र १ मा चन्द्र किशोर चौधरी उम्मेदवार बन्ने छन् । रौतहटको ईशनाथ नगरपालिका–७ मा टेक साहिद, राजपुर नगरपालिका–६ नरुसिद्द खान र गढीमाई नगरपालिका–८ मा टेक सुनौलालाई उम्मेदवार बनाएको छ ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बुद्धिचन विश्वास उम्मेदवार बन्ने भएका छन् । सुनसरीको गढी ६ मा ललित चौधरी, सिरिजंग ३ मा प्रेममादेन, उदयपुरको त्रियुगा १२ मा सिताराम चौधरी र उदयपुरको बेलका ८ मा भूपेन्द्र राईलाई नाउपाले उम्मेदवार बनाउने भएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका मेयर, उपमेयर र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ। सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
आयोगका अनुसार २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ।
मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।