काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना कोठाभित्र मृत फेला
१६ गतेदेखि हराइरहेको भनेर श्रीमानले आजै दिएका थिए प्रहरीमा निवेदन
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा घरको कोठामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।
कुमारी गाम्छा बस्ने ४९ वर्षीय कान्छा नगरकोटीले कात्तिक १६ गतेदेखि नै आफ्नो श्रीमती, छोरा र छोरी हराइरहेको भनि बिहीबार प्रहरी वृत बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरी टोलीले खोजतलास गर्दा नगरकोटीकै घरको कोठाभित्र ३३ वर्षीया श्रीमती सीता दंगाल (नगरकोटी), १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाको बालक मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौं बाटसमेत अनुसन्धानको लागि टोली खटिई गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।