कमलामा अनौठो मेला- कोही भूतप्रेत खेल्दै, कोही देवताको नाममा ताण्डव देखाउँदै (तस्बिरहरू / भिडिओ) – Nepal Press

कमलामा अनौठो मेला- कोही भूतप्रेत खेल्दै, कोही देवताको नाममा ताण्डव देखाउँदै (तस्बिरहरू / भिडिओ)

जनकपुरधाम । आज कार्तिक शुक्ल पूर्णिमा । सिरहा–धनुष जिल्ला जोड्ने कमला नदीमा स्नान गर्नेहरूको घुइँचो लागेको छ । चारैतिर ढोल, पिपही, मृदङ्ग र झामरको संगीतमय कर्तल ध्वनि गुन्जिरहेको छ ।

भगतिया (ठेट मैथिली भाकामा भगैत गीत गाउने)हरूको बीचमा भूतप्रेत र देवी देवता खेल्ने गरेको देखिन्छ । दैवी शक्ति शरीरमा प्रवेश गरेका भक्ताहरु (महिला र पुरुष दुवै) हातमा आगोले भरिएको माटोको ढकना लिएर हैं…हैं… (ठुलो स्वरले सिंहनाद गर्दै) कमलामा स्नान गरिरहेका छन् ।

कोही दैवी शक्ति त कोही भूतप्रेत भन्दै नदीमा कामी रहेका छन् । यसरी काम्ने र दैवी कौतुक प्रदर्शन गर्नेहरूलाई जताततै देख्न सकिन्छ । उनीहरूले रौद्रता देखाउँछन् । ताण्डव गर्छन् । यो दिनको कमला जमघटलाई ‘भूत मेला’ भनिन्छ ।

औरहीका धामी मागैन मोचाी भन्छन्– मुख्यतः यो धामीहरूको सतवैद्य समारोह हो । प्रेत आत्माहरूलाई ठेगान लगाउने दिन हो । सतवैद्य अर्थात शपथ ग्रहण । मन्त्र गुण सिकेर वा दैवी शक्ति शरीरमा प्रवेश गरेर काम्न थालेका नयाँ धामीहरूलाई कार्तिक शुक्ल पूर्णिमा अर्थात् आजको दिन कमला नदीलाई ‘गंगा’ मानेर स्नान गराइन्छ ।

 

‘नयाँ बन्ने धामीहरूलाई कमला नदीमा प्रात प्रहरमा डुवुल्की मार्न लगाई पवित्र बनाई शपथ ग्रहण गराउँछौँ,’ धामी मोचीले भने, ‘भगतालाई हामीले मन्त्र सिकाउँछौँ । शपथग्रहण गराउँछौँ । भगताले सिकेको मन्त्र र प्राप्त गरेको दैवी शक्तिलाई मानव, अन्य प्राणी र समाजको हितमा मात्र प्रयोग गर्न वचनबद्धता गराउँछौँ । जसलाई स्थानीय भाषामा सतवैद्य भनिन्छ ।’

धामीहरूले आ–आफ्नो वस्तिमा वेला वखतमा प्रकट भएर मानिसलाई दुःख दिने प्रेत शक्तिहरूलाई मन्त्रद्वारा कैदी बनाई ल्याएका हुन्छन् । त्यस्ता प्रेत शक्तिहरूलाई सोही अवसरमा कमलामा विसर्जन गरिन्छ । यसो गर्नाले मानिसको जीउ ज्यान तथा पशुधनहरू बिरामी हुँदैनन् भन्ने जनविश्वास रहेको छ ।

नयाँ धामीहरूमा नवरात्रीको समयमा नै लक्षण देखा पर्छ । घटस्थापनादेखि नवरात्रि भरीमा गाउँका कुनै मानिस महिला वा पुरुषलाई काम छुट्छ । उसले दैवी शक्ति आफूमा प्रवेश गरेको घोषणा गर्छ । त्यसपछि ती मानिसलाई भक्ता बनाइन्छ । कार्तिक चतुर्थीको दिन पहेँलो रङ्गमा रंगिएको धोती र फूलको माला लगाएर भक्तालाई पवित्र बनाउने गरिएको धामीझाँक्रीहरु बताउँछन् ।

हातमा वेतको लाठी थमाइन्छ । भक्तासंग एक वा दुईजना अगुवा पछुवा रहन्छन् जसले नयाँ धामीलाई सम्हाल्ने काम गर्छन् । ५ देखि १० जनाको भगतिया हुन्छन् । उनीहरुलाई दहिन गवैया पनि भनिन्छ । उनको काम हुन्छ– दैवी शक्तिको स्तुति गीत गाउने । जसलाई ‘भगैत’ गीत पनि भनिन्छ । भगैत गाएपछि भगताको शरीरमा देवता प्रवेश गर्छन् ।

वाद्यवादन हुन्छ मृदङ्ग र झ्याली । भक्ताको हातमा माटोको ढकना हुन्छ । त्यसमा भरभराउँदो आगो हालिएको हुन्छ । आगोमा सालधूप हालिन्छ । भक्ताले आगोको लप्काले भरिएको ढकना हातमा नचाउँदै रौद्रता र ताण्डव नाच नाच्छन् । हैं…हैं…को सिंहनाद गर्छन् । कतिपय धामीहरूले अविश्वसनीय र अकल्पनीय कर्तव्य गरी देखाउँछन् । तातो खीर हातले चलाउने, अगेनाको भुंग्रोमा हात हाल्ने, आगोमाथि हिँडेर देखाउने जस्ता दृश्यले सर्वसाधारण दर्शनार्थीहरुको आङ्ग जिरिङ्ग हुन्छ ।

कार्तिक महिनालाई नदी स्नानको महिना भन्छ । सक्नेले गंगा पुगेर स्नान गर्छन्, नसक्नेले कमला, कोशी वा नजिकको कुनै नदीमा । आजको दिन जुनसुकै नदीलाई गंगा मानेर स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास पनि छ । त्यसैले कमला नदीमा धनुषा र सिरहाको सबै घाटमा ठूलो भीड लागेको छ । नदीमा स्नान गर्नेहरूको पनि भीड असंख्य देखिन्छ ।

सिरहाका धामी गंगा मण्डल भन्छन्, ‘हरेक वर्ष कमला स्नान गरेपछि हामी नयाँ शक्ति प्राप्त गर्छौ । हाम्रो मन्त्र प्रभावी हुन्छ । रोग व्याधि निको हुन्छ । भूत प्रेतबाट समस्या भोग्नेहरूलाई ल्याएर निको पार्छौँ । आजको दिन यहाँ स्नान गर्दा पापबाट मुक्ति पाइन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर