जागरणसभाबारे एमाले- सत्तापक्ष जनताको बीचमा जानै हुँदैन भन्ने छैन
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दल जनताको बीचमा जानै हुँदैन भन्ने नरहेको बताएका छन् ।
काठमाडौंमा गर्न लागेको मंसिर ७ को जागरणसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले जनताको बीचमा गएर आफ्नो कुरा राखेर भ्रम चिर्ने बताए ।
उनले भने, ‘सरकार जनताबाट निर्वाचन भएका जनप्रतिनिधिबाट बन्ने हो । त्यसैले सरकारबाट उठेको प्रश्नको जवाफ जनतामा गएर दिने परम्परा विश्वव्यापी छ । हाम्रो छिमेकी भारतमा पनि प्रधानमन्त्री स्वयम् भाषण गर्दै हिँडेको देखेकै छौं । सत्तापक्ष भनेको जनताको बीचमा जानै हुँदैन भन्ने छैन । जनतामा गएर भ्रम चिरेर आफ्नो कुरा राख्छ । जनतालाई आश्वस्त बनाउँछ, त्यो कर्तव्य सत्तापक्षको पनि हो ।’
महासचिव पोखरेलले दुई ठूला दल मिलेर बनेको सरकारलाई प्रभावकारी बनाउन संयन्त्र बनाएको भन्दै कुनै हस्तक्षेप नगर्ने बताए ।
संयन्त्रले सरकारलाई प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्ने उनले बताए ।