कर्जन्हाका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर – Nepal Press

कर्जन्हाका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सजाय निर्धारणका लागि मंसिर १० मा पेशी तोकियो

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरू ५ जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका उपरजिस्ट्रार एवम प्रवक्ता गेहेन्द्रराज रेग्मीका अनुसार दोषी ठहर हुनेमा नगरपालिकाका पूर्व प्रमुख गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव दोषी ठहर भएका हुन् ।

उनका अनुसार मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका सदस्य खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायमको फैसला गरेको हो ।

उनीहरूलाई सजाय निर्धारणका लागि भने आगामी मंसिर १० गतेका लागि तोकिएको छ । आयोगले गत चैत १४ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष ०७८/०७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको आयोगले ठहर गर्दै मुद्दा दायर गरेको थियो ।

उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साबिक कर्जन्हा गाविसको कार्यालयबाटै कार्यालय सञ्चालन गर्नु भनेर जारी गरेको आदेशविपरित प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी पुर्‍याएको आयोगले आरोप पत्रमा दाबी गरेको थियो ।

निर्माण व्यवसायीले भवन निर्माणका लागि पेस्की भुक्तानी लिएको थियो । तर, निर्माण कार्य सुरु नगरेको, पेस्की भुक्तानी ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरेको र फिर्ता दाखिला नगरेको आयोगले दाबी थियो ।

आयोगले तत्कालीन प्रमुख पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ करोड ८ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *