रूपन्देही सुपरलिग : देवदह ९५ रनले विजयी – Nepal Press

रूपन्देही सुपरलिग : देवदह ९५ रनले विजयी

रुपन्देही । देवदह क्रिकेट युनिटले बुटवल-११ क्रिकेट क्लबलाई पराजित गर्दै जित निकालेको छ । भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारको खेलमा देवदहले ९५ रनको सानदार जित निकालेको हो ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि दीपक भण्डारीले नआउट ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै, अर्जुन रायमाझीले ३१, संकेत भट्टराईले २७ र कृतिमान ढकालले १५ रनको योगदान गरे ।

बलिङमा बुटवल ११ का दिवेश खातीले ३, सुदन श्रेष्ठ, तौसिफ आलम, मञ्जिल भण्डारी, एजाज अहम्मद र प्रमिश अर्यालले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल २७ ओभर २ बलमा ९६ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा देवदहका सुरज खड्काले ९ ओभरमा २ मेर्डनसहित २६ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, अर्जुन रायमाझीले ३ र रोशन गौतमले २ विकेट हात पारे । बुटवलका प्रमिश अर्यालले ४२, बिशाल भुसालले २४ र विभेष खातीले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा देवदहका सुरज खड्का प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *