जीवन-कविताको निःस्वार्थ समाज सेवा: ठेला चलाएरै स्याहार्छन् अनाथ बालबालिका
रुपन्देही । गुल्मीको चन्द्रकोट गाउँपालिका- ५ घर भएका ४७ वर्षीय डम्बरबहादुर (जीवन) पुनमगर दुई दशकयता बुटवलमा घर भाडामा लिएर बसेका छन् । ठेलागाडीमा मौसमअनुसारका वस्तु बेचेर जीविकोपार्जन गरिरहेका छन् । धेरै कमाएर घर बनाउने, ऐसआराम गर्ने उनमा कुनै सपना छैन न लालसा नै छ ।
तर, आफूले भेटेसम्मका अनाथ बालबालिकालाई यही भाडाको कोठामा पालेका छन् उनले । कहीँकतै अनाथ बालबालिका भेटेमा उनी कोठामा ल्याइहाल्छन्, सक्दो स्याहारसुसार गर्छन्, शिक्षादीक्षा दिने व्यवस्था गर्छन् ।
धेरैलाई विश्वास नलाग्नसक्छ, जीवनले आफूले स्याहारसुसार गरेका बालबालिकालाई आफ्नै नाउँबाट नागरिकतासमेत दिलाएका छन् । उमेर पुगेकालाई विवाह गरिदिनेदेखि उनको दैनिकी सहज हुने व्यवस्थापनसम्म गरिदिएका छन् ।
यस्तो उदाहरणीय काम गर्न जीवनलाई उनकी श्रीमती कविता कुमालले पनि पूरा साथ दिएकी छन् । जीवन ठेला घचेटेरै घरभाडा र दैनिक खर्च जुटाइरहेका छन् । कविता अनाथ बालबालिकाको स्याहारसुसार गर्छिन् ।
बुटवल उपमहानगरपालिका- ११ मजुवामा अस्थायी बसोबास गर्ने जीवनको परिवारको जिन्दगी दुई दशकयता यसैगरी अनाथ बालबालिका स्याहेरेर बितिरहेको छ । कोही नहुनेहरूको पनि कोही त हुन्छन् भन्ने भनाइ यो जोडीले पुष्टि गर्दै आएको छ ।
जीवनले आफ्ना सन्तान नभएर अनाथ बालबालिका स्याहारेको पनि होइन । उनका दुई छोरी र एक छोरा छन् । उनीहरु सबैले आआफ्नो व्यवस्थित जीवन अगाडि बढाइरहेका छन्, तर जीवनकी पहिलो श्रीमती भने उनले अनाथ बालबालिका घर ल्याउन थालेपछि छोडेर हिँडेको बताइन्छ । तैपनि जीवनले अनाथ बालबालिकाको स्याहारसुसार गर्न छाडेका छैनन् ।
अहिलेसम्म ९ जना अनाथ बालबालिका स्याहारेर केहीको सहज व्यवस्थापन गरेको उनी बताउँछन् । पहिलो श्रीमतीले छाडेपछि ५ वर्षअघि उनले अर्को बिहे गरेका छन् । बोल्न नसक्ने उनकी कान्छी श्रीमती ४५ वर्षीय कविता कुमालको श्रवणशक्ति पनि कमजोर छ । तैपनि जीवनले ल्याएका अनाथ बच्चाहरुको स्याहारसुसार गर्ने र विद्यालय पठाउने काम उनै कविताले गर्दै आएकी छन् ।
कविताले बच्चाहरुको स्याहारसुसार गरेर स्कुल पठाउने सबै काम गरेकाले आफूले ढुक्कसँग ठेलामा व्यवसाय गर्न पाएको र घर खर्च जुटाउन सकेको जीवनको भनाइ छ । उनी कोहीकसैबाट आर्थिक सहयोग पाइने आशमा यस्तो काम नगरेको बताउँछन् ।
‘मलाई सानैदेखि बालबच्चाको माया लाग्ने गर्दथ्यो, यहाँ आएपछि पनि त्यो वातावरण बन्यो, अहिले त छिमेकमा कसैले यस्ता अनाथ बालबालिका भेटिए मलाई बोलाएर राख्न लगाउँछन् । जसको कोही हुँदैन, उसैलाई सेवा गर्न पाउनु सबैभन्दा ठूलो धर्म हो’, उनले भने, ‘कोही नहुनेहरूको आफू हुने भनेको सबैभन्दा ठूलो धर्म हो, मेरो श्रीमतीले यस्ता बच्चाको सेवा मैले चाहे जसरी गरेपछि मलाई स्रोत जुटाउन नि गाह्रो परेको छैन, श्रीमतीले घरमा सेवा नगरेको भए मैले ल्याएरमात्रै कसरी हुने थियो र !’
उनले अहिलेसम्म ९ जना बालबालिकाको सहारा बनेको बताए । बाटोमा कसैले छाडेर गएको २८ दिनको बच्ची अहिले ३ वर्षकी भएको जीवन बताउँछन् । उनी अहिले मन्टेश्वरी स्कुल जान्छिन् । जीवनका अनुसार ती बच्चीका बुवा उनको कोठासम्म आएका थिए ।
‘आमाले छाडेर गएपछि बुवाले त्यो बच्चा लगेर पो के गरुन् खै ! मैले नै राख्छु, हुर्काउँछु भनेपछि फर्केर गए’, उनले भने, ‘त्यसपछि अहिलेसम्म आएका छैनन्, मलाई त यी बच्चाहरुको औधी माया लाग्छ । संसारमा यस्ता अवोध बालबालिकाको अभिभावक हुनु मेरो भाग्य हो । योभन्दा ठूलो सन्तुष्टि मलाई अरु लाग्दैन ।’
अहिले जीवनसँग ३ जना बच्चामात्रै छन् । कसैको बिहे गरिदिए भने कसैलाई काममा लगाएर व्यवस्थापन गरिदिएका उनले । एक बालकलाई उनले आफ्नै छोरा बनाएर नागरिकतासमेत बनाइदिएर विदेश पठाएका छन् । पहिले यतै काम गर्दा राम्रो नभएपछि विदेश पठाएको उनी बताउँछन् ।
‘सहाराविहीन बालकलाई राखेर ठूलो बनाएँ, आफ्नै सन्तान बनाएर नागरिकतासमेत बनाइदिएँ, अहिले वयस्क भएर विदेश गएको छ’, उनले भने, ‘अमर पुन नाम राखेर मेरो कान्छो जस्तै बनाएर नागरिकता दिलाएँ, अनि बल्ल उसले अधिकार पायो, अब त कमाउनसक्ने भयो, मलाई नै बुवा भन्छ ।’
यस्तो सोच कसरी आयो भन्ने नेपाल प्रेसको प्रश्नमा उनले हर्षित भएर भने, ‘भित्री मनबाट गरेको हो, कसैलाई देखाउन होइन ।’
जीवन थप्छन्, ‘आफ्ना सन्तानलाई सबैले माया गर्छन्, खुसी बनाउने प्रयास गर्छन्, तर जो अभिभावकविहीन छन्, तिनै बालबालिकाको अभिभावक बन्दा म निकै खुसी छु, बुवाआमा गुमाएका बालबालिकाले निकै अभाव, समस्या र दुःख भोग्नुपर्ने अवस्था छ । त्यो अवस्था हटाउन मैले सकेको गरेको हुँ ।’
भोक, अभाव, गरिबी र अनाथको बिचल्ली देखेपछि सेवाको भावना भित्रैबाट आउने उनको भनाइ छ । यस्ता काम गर्नेहरुले अरुबाट स्रोत जुटाएर आफ्नो प्रचार पनि गर्छन्, तर जीवनलाई यस्तो कहिले लागेन ।
स्थानीय सिमली स्कुलका संस्थापक महेन्द्र अर्यालले जीवन पुनमगरको उहारणीय काम देखेर सहयोगी हात बढाएका छन् । उनले जीवनले स्याहारेकी बच्चीलाई निःशुल्क शिक्षा दिने भएका छन् ।
‘हामी आफ्नै घरमा बस्नेले, नियमित कमाई हुनेले, सरकारले गर्न नसकेको काम दिनभर काम गरेर साँझको खर्च जुटाउनेले गरेर सबैलाई आश्चर्यमा पारेका छन्, उनको यही महानताको सम्मान गर्दै अब उनले पालेकी ती बालिकाको पढाइ खर्च निःशुल्क गर्नेछु’, उनले भने ।
अर्यालले आफूहरुले यस्ता अनाथ बालबालिकालाई पढाउने योजनासहित विद्यालयमा राख्ने योजना बनाएको बताए ।
स्थानीय टोल विकास समितिका अध्यक्ष आत्मराम बुढाले समाजमा अनाथ बालबालिकाको सेवा गरेर जीवनले पुण्य काम गरेको बताए ।
अनाथ बालबालिकाको सहारा बनिरहेका उनको कामबाट धेरैले शिक्षा लिनुपर्ने र स्थानीय सरकारले यस्ता विषयमा बढी चासो राख्नुपर्ने अधिकारकर्मी ऋषि आजाद बताउँछन् ।
उनले यस्तो सेवा गर्नेहरुलाई उच्च सम्मान गर्दै प्रेरणा र स्रोतको व्यवस्थापन गरिदिनुपर्ने काम स्थानीय सरकारकै भएको बताए । पुनको कामले सबैलाई निःस्वार्थ समाज सेवा गर्न प्रेरणा मिल्ने आजाद बताउँछन् ।