माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा बाईबाई भइसक्यो : पूर्वसञ्चारमन्त्री गुरुङ (भिडिओ) – Nepal Press

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा बाईबाई भइसक्यो : पूर्वसञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सत्तारुढ नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा माओवादी केन्द्रले विकासको नाममा कमिसनतन्त्र चलाइरहेको आरोप लगाएका छन् ।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकासविरोधी, अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले उसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिरसमेत गरे ।

नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराइदिने दाबी गरे । विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको भनाइ थियो ।

नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिन कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढ्नुपरेको बताए । माओवादी केन्द्रले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर आफ्नो अस्तित्वमात्रै जोगाइरहेको उनको भनाइ छ ।

हाम्रो पार्टीलाई जिताउन जरुरी छ । माओवादी केन्द्रलाई बाईबाई गर्न जरुरी छ । किन जरुरी छ ? माओवादी केन्द्र कुनै पनि राजनीतिक संस्कार बोकेको, विकासलाई अगुवाइ गर्ने पार्टी होइन । माओवादीले त २०७४ सालमा आएर पनि कुलबहादुर तामाङको हत्या गर्ने पार्टी हो । त्यसैले हामीले गौरीशंकरबाट कुलबहादुरको रगतको बदला लिन जरुरी छ । दिलबहादुर खत्री अहिले पनि अपांग हुुनुहुन्छ । उहाँ घाइते हुनुहुन्छ । यस्तो अवस्थामा हामीले उनीहरुको हितको निम्ति पनि गौरीशंकरमा एमालेले विजयको झण्डा गाड्नु छ’, नेता गुरुङले भने, ‘हामीले सहिदहरुको रगतबाट सञ्चित दोलखाको भूमिलाई अब माओवादीबाट बाईबाई गर्नुपर्छ ।’

उनले एमालेको प्रतिस्पर्धा कांग्रेससँग पनि नभएको जिकिर गरे ।

‘म दाबाका साथ भन्छु, प्रमाणका साथ भन्छु, हाम्रो प्रतिस्पर्धा कुनै नेपाली कांग्रेससँग होइन । हामी काँग्रेससँग मिलेर यो देशमा स्थायित्व दिन चाहन्छौं । राजनीतिक स्थिरता दिन चाहन्छौं । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौं’, उनले भने, ‘आफ्नो अस्तित्व टिकाउने र बचाउने पार्टी माओवादीलाई बाईबाई गर्न चाहन्छौं । राष्ट्रिय राजनीतिमा माओवादी बाईबाई भइसक्यो, दोलखाले पनि बिदाई गर्नुपर्छ ।’

एमालेले पार्टीको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ । कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य डा. राजन भट्टराईले शेर्पालाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट औपचारिक रुपमा वितरण गरेका थिए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य सरस्वती बस्नेतलगायतले गौरीशंकर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दाबी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर