संविधान ढुंगाको अक्षर होइन, गतिशील बनाउन संशोधन गरिन्छ: अर्थमन्त्री पौडेल (भिडिओ)
रूपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजको आवश्यकताका आधारमा संविधान परिस्कृत हुँदै जाने बताएका छन् ।
थारु कल्याणकारिणी सभाको २३औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै उनले संविधान ढुंगाको अक्षर नभई गतिशील दस्तावेज भएकाले संशोधन गरिने बताए ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनको माध्यमबाट समाजको विकास गर्न सकिने बताए ।
उनले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरु अहिलेको सरकारमा रहेको बताए ।
उनले अहिलेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने बताएका छन् । उनले थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्न नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने बताए ।
अर्थमन्त्री पौडेलले भने, ‘राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरुको सहभागितामा अहिलेको सरकार बनेको छ । थारु समुदायमाथि कुनै प्रकारको विभेद हुँदैन ।’
थारु समुदाय आदिवासी र धर्तीपुत्र भएको बताउँदै अर्थमन्त्री पौडेलले यो समुदायप्रति गर्व गर्नुपर्ने औंल्याए ।
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि यो समुदायको महत्वपूर्ण भूमिका रहेको र यो योगदान इतिहासमा स्वर्ण अक्षर लेखिने उनले बताए ।
‘सामाजिक सदभाव र एकता थारु समुदायको विशेषता हो । यहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नेपाल सबै जातजातिको फूलबारी हो’, अर्थमन्त्री पौडेलले भने, ‘हामीबीच तिक्तता होइन, मित्रता र एकता आवश्यक छ । यहाँहरुको प्रयास अनुकरणीय छ ।’
कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले थारु समुदाय अधिकारबाट वञ्चित भएको भन्दै थारु समुदायको माग सम्बोधन गर्न सरकारसँग माग गरे ।
थारु कल्याणकारिणी सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।