दुई वर्षदेखि अस्थायी टहरामै भूकम्प पीडित, भन्छन्- जवान सबै भारत लागे, जितेर गएका नेता फर्केर आएनन् (भिडिओ)
बाजुरा । गौमूल गाउँपालिका २ आगरी बस्तीमा दशैं आएन । १२ घरपरिवार बस्ने यो टोलका कुनै पनि घरमा जवान पुरुष थिएनन् । २०७९ माघ १० गते आएको भूकम्पले घरहरूमा बस्नै नमिल्ने गरी क्षति पुराएपछि पुरै बस्ती केही तल झरेको थियो । घरमा पनि क्षति पुगेपछि अस्ताई टहरा बनाएर बसेका युवाहरू त्यसलगत्तै सस्तोमा श्रम बेच्न भारत पलायन भए । केही तेस्रो मुलुक गए ।
मधे चदरा र तुला चदरा भारतको पिथौरागठमा मजदुरी गर्छन् । उनीहरू दुवै जना दसैँमा आएनन् । तिहार भन्दा केही दिन अघि पुगेका दुवै जनालाई अहिले फेरि भारत पस्न हतार छ ।
‘हामी कोही पनि दसैँमा आएनौँ तिहारमा भेला भयौ’ मधे चदराले भने, ‘दसैँमा आउँदा पैसा काम हुने भयो त्यही भएर केही ढिला भए पनि तिहार मनाउने गरी पुग्यौँ, अब फकिन्छौँ ।’
आगराकी सृजना चदरालाई दसैँ र तिहार केही आएजस्तो लागेन । भूकम्पले घर बस्नै नमिल्ने गरी भत्काइदिएपछि दुई साना सन्तान स्याहार्दै उनी आश्रयस्थलको खोजीमा लागिन् । उनका श्रीमान् सानो टिनको घर बनाएपछि रोजगारीको लागि कतार लागे । उनी दसैँ र तिहार दुवै पर्वमा आएनन् ।
‘दसैँमा कोही पुरुषहरू बस्तीमा आउनु भएन तिहारमा सबै आउँदा मेरो श्रीमान् आउन पाउनु भएन ’ पीडा पोख्दै उनले भनिन्, ‘भूकम्पले घर मात्रै लागेन श्रीमालाई पनि मजदुरी गर्न बाध्य बनायो ।’
२ वर्ष पुग्दा पनि न उनीहरूले गतिलो घर पाएका छन् न त सरकारको भर पाएका छन् । स्थानीय तहको सरकारले केही प्रयास गरे पनि उनीहरूको लागि त्यो पर्याप्त भने छैन ।
स्थानीय कलक बहादुर चुनाराले २ वर्ष पुग्दा पनि आफूहरूको समस्या सम्बोधन गर्न कोही नआएको दुख पोखे । ‘जग्गा थिएन, भएको घर पनि ध्वस्त भयो तर, केही पनि आएनन् ’ उनले भने, ‘हाम्रो त कोही छैन जस्तो लाग्न थाल्यो ।’
तुला चुनारा स्थानीय तहको सरकारले केही गरेको भए पनि प्रदेश सरकार र संघीय सरकारले केही नगरेको बताउँछन् । ‘बद्री पाण्डे आउनुभयो जितेर जानुभयो हाम्रो माग मुद्दाबारे वास्तै गर्नु भएन’ उनले भने ।
बझाङ तथा बाजुरा केन्द्रबिन्दु भएर गएको भूकम्पले गौमूलमा मात्रै ४०३ परिवार विस्थापित भएका छन् । ती मध्ये अहिलेसम्म कुनै पनि परिवारले सरकारको कुनै आर्थिक साथ पाएका छैनन् ।
‘मान्छे मारेर चुनाव जितेकाहरू मान्छे मर्दा पनि सम्झिएर आएनन्’ मीन चदाराले भने, ‘चुनावमा भोट माग्न आउँदा केही समस्या पर्दा हामी छौँ भनेका थिए। यत्ति ठुलो विपत्तिमा पनि साथ दिएनन् ।’
आफ्ना वडावासी बिचल्लीमा परेकोको भन्दै गौमूल गाउँपालिका वडा नम्बर २ का वडा सदस्य प्रेम रोकायाले आफ्नो निजी जग्गामा भूकम्प पीडितलाई बस्न दिएका थिए ।
‘उहाँहरू घरबार विहीन भएपछि मैले आफ्नो निजी जग्गा दिएको हुँ ’ उनले भने, ‘गाउँपालिकाले उहाँहरूको लागि जग्गा खरिद गरेर भए पनि समस्या समाधान गर्ने कुरा छ ।’
गौमूलमा भूकम्पले ४०३ तीन घर भत्किदा १ जनाको ज्यान गएको थियो । अहिलेसम्म पनि उनीहरूले क्षतिपूर्ति पाएका छैनन् । बस्ती नै पुरुष विहीन बन्ने अवस्था आउँदा पनि कसैले चासो नदिएको उनीहरूको गुनासो छ । बझाङ तथा बाजुरा केन्द्रबिन्दु भएर आएको भूकम्पले बाजुरामा मात्रै १ हजार १६६ घरमा क्षति पुराएको थियो । जाजरकोटमा भूकम्प जाँदा बाजुरामा १ हजार ८४४ घरमा क्षति पुराएको थियो ।
जाजरकोट भूकम्प जाँदा तत्काल अस्थायी टहरा निर्माण मार्फत बाजुरामा ४ करोड ६१ लाख निकासा भएको थियो । ५० हजार पाउनु पर्ने प्रभावितले पहिलो किस्ता मार्फत २५ हजार मात्रै पाएका छन् । त्यसपछिको अर्को किस्ता पाएका छैनन् ।
गौमूल गाउँपालिका उपाध्यक्ष सिता थापाले विस्थापितहरूको व्यवस्थापनका लागि आफूहरू लागि रहेको बताइन् । उनले पहिलो किस्ताको रकम उपलब्ध गराएको भन्दै दोस्रो किस्ताको रमक उपलब्ध गराउन पहल गरेको बताइन् । उनले अन्य व्यवस्थापनका विषयमा पनि छलफल भइरहेको जानकारी दिइन्।
बझाङ तथा बाजुरा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुराएको क्षतिका बेला सरकारले कुनै पनि सरकार निकासा गरेन । २०७७ सालदेखि मनसुनजन्य विपद् प्रभावितले राहत नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराले १५ करोड रकम माग गरेको छ ।
‘सुरुबाटै धेरै प्रभावितहरूले राहत रकम पाउनु भएको छैन हामीले निर्णय गरेर रकम माग गरेका छौँ माग गरेको रकम आउँदा धेरै सहज हुन्छ ’ प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्ययले भने ।