भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजी क्षेत्रको आग्रह – Nepal Press

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजी क्षेत्रको आग्रह

रुपन्देही । भैरहवाबाट शुरु भएको अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजी क्षेत्रले आग्रह गरेका छन् । उनीहरूले यसको निरन्तरताको लागि आफ्नो भूमिका पूरा गर्ने बताउँदै पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय महत्वको क्षेत्रलाई यसले ठूलो प्रभाव पार्ने बताएन ।

विश्व शान्तिको केन्द्र मानिएको लुम्बिनीलाई केन्द्र मानेर यो विमानस्थललाई विश्व बजारमा अगाडि लैजान सकिने उनीहरूको भनाइ थियो ।

नेपाल टुर एन्ड ट्राभल एशोसिएन नाट्टा लुम्बिनीले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरूले अब अन्तर्राष्ट्रिय उडानको निरन्तरतामा ध्यान दिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले विमानस्थल चलाउनको लागि ट्राभल एजेन्टका साथै, होटल व्यवसायी, यातायात व्यवसायी लगायतले पनि भूमिका खेल्नुपर्ने बताइन् ।

नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी सागरले उडान भएको तर यात्रुमैत्री पूर्वाधारहरू विमानस्थलमा तयार नभइसकेको बताए।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले काठमाडौँ केन्द्रित सोचाइको कारण नयाँ विमानस्थल सञ्चालन हुन गाह्रो भएको बताए। उनले काठमाडौं केन्द्रित सोचाइको लागि बाहिरका व्यवसायीले दबाब दिनुपर्ने उल्लेख गरे।

नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरेराम अधिकारीले भैरहवा विमानस्थल चलाउन आफ्नो प्रदेशको पनि साथ रहने उल्लेख गरे। गण्डकीकी उपाध्यक्ष संगिता पौडेलले विमानस्थल चलाउन प्याकेज बिक्री गर्नुपर्ने बताइन्।

नाट्टा सुदूरपश्चिम अध्यक्ष पंकजविक्रम सिंहले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुँदा आफ्नो प्रदेशलाई पनि फाइदा हुने धारणा राखे।

कार्यक्रममा नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठ, नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाह, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका सल्लाकार भिमलाल ज्ञवाली, संघका सचिव अर्जुन थापा लगायतले विमानस्थल सञ्चालनको लागि भैरहवा र अरु शहरसँग सहज कनेक्टीभिटी हुनुपर्ने, होटल व्यवसायीहरुले छुट सुविधा प्रदान गर्नुपर्ने, बुद्धिष्ट मुलुकमा लुम्बिनी लगायत यहाँको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्नुपर्ने बताएका थिए। सहभागी सञ्चारकर्मीहरुले विमास्थल सञ्चालनको लागि आफूहरुको साथ निरन्तर रहने उल्लेख गरे।

शनिबार नै रुपन्देही आएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण रूपमा चल्ने बताएका छन् ।

सामाजिक सन्जालमा मन्त्री पौडेलले लेखेका छन्–’चल्ला र भन्दा भन्दै चल्न थालेको बताउँदै अब विमानस्थल पूर्ण रूपमा चल्ने बताए ।

उनले भने, ‘यस अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नेपाल सरकारको पछिल्लो निर्णय आंशिक रूपमा कार्यान्वयन हुँदा यो रूपमा चलेको छ, उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन हुँदा पूर्ण क्षमतामा चल्छ।’

यस अन्तर्राष्ट्रिय विमानस्थलको उज्ज्वल भविष्य देख्न चाहने सबैबाट सकारात्मक प्रस्तुति र सहयोग होस् भन्ने अपेक्षा गरेको अर्थमन्त्री पौडेलले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *