रजिष्टार अधिकारीलाई कारबाही माग गर्दै अखिल क्रान्तिकारद्वारा संस्कृत विश्वविद्यालयमा ताला लगाउने धम्की – Nepal Press

रजिष्टार अधिकारीलाई कारबाही माग गर्दै अखिल क्रान्तिकारद्वारा संस्कृत विश्वविद्यालयमा ताला लगाउने धम्की

रुपन्देही । अनेरास्ववियु क्रान्तिकारीका नेताहरूले नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीमाथि कारबाही माग गर्दै त्यसो नगरे विश्वविद्यालयमा तालाबन्दी सहितका कडा आन्दोलन गर्ने तीन दिने चेतावनी दिएका छन् ।

दाङस्थित विश्वविद्यालयमा यसअघि विभिन्न माग लगाउँदै ताला लगाएका क्रान्तिकारीका नेताहरूले रजिष्टार अधिकारीले पुनः नियुक्ति चर्चाकै समयमा फेरी आन्दोलनको चेतावनी दिएका हुन् । सो संगठनका नेताहरू अभयप्रताप चोवे र विष्णु चौधरीले विज्ञप्ति जारी गरी विभिन्न विवादमा मुछिएका रजिष्टार अधिकारीलाई कारबाही गर्ने यसअघिको सहमति कार्यान्वयन नआएको भन्दै तत्काल यसो नगरिए विश्वविद्यालयमा ताला लगाउने चेतावनी दिएका छन् ।

उनीहरूले यसअघि निलम्बनमा परेर विवाद समाधान भएका रजिष्टारलाई पुनः जिम्मेवारीमा ल्याएर गलत अर्थ लागेकाले त्यसो नगर्न आग्रह गरेका छन् ।

उनीहरूबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो चरण रजिस्ट्रार माधव अधिकारीले आर्थिक अनियमितता तथा आफूमाथि कुटपिट खोजेको भन्दै पटक–पटक लिखितरुपमा नै कारबाहीको लागि तत्कालीन उपकुलपति यादवप्रकाश लामिछाने हालका कामचलाउ उपकुलपति भीमप्रसाद खतिवडाले पत्राचार गरी माग गरेको र तत्कालीन रजिस्ट्रारलाई निलम्बन गरी कारबाही गरेको र रजिस्ट्रारको जिम्मेवारी शिक्षाध्यक्षलाई दिएर विश्वविद्यालय कार्यकारीले गरेका निर्णयहरूलाई उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको र यो सँगै रजिस्ट्रार पनि निलम्बन सदर देखिएको हुनाले करिब बिस दिन निलम्बन परेका कुलसचिवलाई नैतिकता देखाउँदै मार्गप्रशस्त गर्न अनुरोध गर्दछौँ र विभिन्न राजनीतिक लडाइँका कारण विश्वविद्यालयलाई व्यक्तिगत सम्पत्ति सोचेर नियम बाहिर गएर विभिन्न किसिमका निर्णय गरिएकोप्रति खबरदारी गर्दछौँ ।’

विज्ञप्तिमा आफूहरूले विभिन्न चरणमा यस्ता बेथितिविरुद्ध आन्दोलन गरी यस्ता अराजक गतिविधि गर्ने पदाधिकारीलाई कारबाहीको दायरामा ल्याइ नयाँ किसिमले लिखित सहमति गरी अघि बढेकोले अहिले पनि त्यो विधिमा अघि बढ्न आग्रह गरिएको छ ।

उनीहरूले सहमति विपरीत एकपक्षीय राजनीतिक आस्थाका आधारमा विश्वविद्यालयमा नीति नियम विपरीत कार्य भइरहेको देखिएकाले पूर्वसहमति तीन दिनभित्र कार्यान्वयनमा नल्याए तालाबन्दीसहितका कडा आन्दोलन गरिने चेतावनी दिएका छन् ।

रजिष्टार अधिकारीको चार वर्ष कार्यकाल पूरा भएपछि अहिले तीन महिना थप गरिएको छ । यसअघिका उपकुलपति यादवप्रसाद लामिछाने र रजिष्टार आचार्यको विवाद बढेपछि लामिछानेले अधिकारीलाई निलम्बन गरेका थिए तर अधिकारीले त्यो निलम्बनलाई फुकुवा गराउन दबाब दिएपछि उल्टै लामिछानेले राजीनामा दिएर बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *