बागलुङका योजनाको निरीक्षणमा गण्डकीका भौतिकमन्त्री, गुणस्तरीय काम गर्न निर्देशन – Nepal Press

बागलुङका योजनाको निरीक्षणमा गण्डकीका भौतिकमन्त्री, गुणस्तरीय काम गर्न निर्देशन

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार योजनाको अनुमगन गरेको हो ।

टोलीले शुक्रबार गल्कोट-हरिचौर-हिल्ल्तार-म्याग्दी सडक र शनिबार बुर्तिबाङ-तमानखोला-लमेला सडक र गाडीखोला-ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको अनुगमन तथा निरीक्षण गरेको छ ।

गल्कोट-हरिचौर-म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ कात्तिक २७ गते २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेभीसँग सम्झौता भएको थियो । सम्झौता अवधि सकिन करिब ५ महिना बाँकी रहेको सडकको काम ६७ प्रतिशत सकिएको छ ।

बुर्तिवाङ-तमानखोला १०.२०० किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ । निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८४२ रुपैयाँमा सम्झौता गरेको थियो ।

सडक निरीक्षणको क्रममा मन्त्री केसीले समय सीमाभित्र काम सक्न निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे ।

यस्तै चक्ती खोलामाथि बनेको २.८ किलोमिटर पुलसँगै १०.३६० किलोमिटर गाडीखोला-ढोरपाटन सडकको निर्माण सकिएको छ ।
अनुमगनपछि मन्त्री केसीले बागलुङका योजनाबारे भौतिक पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका थिए ।

छलफलका क्रममा भौतिक पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख सीडीई दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई जानकारी गराए । साथै कार्यालयमा कर्मचारीको समस्या रहेको भन्दै थप कर्मचारी पठाइदिन आग्रह गरे ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमल अधिकारीले छलफल गरेर कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरे । भौतिकमन्त्री केसीले समय सीमाभित्र निर्माण सक्ने गरी ठेकेदारलाई काम लगाउन निर्देशन दिए ।

‘केही समस्या छ भने त्यहीअनुसार अगाडि बढ्नुहोला । जनगुनासो कति पनि नआओस् कुनै पनि काममा । पारदर्शी तरिकाले गर्नुहोला, गुणस्तरयुक्त गर्नुहोला । भोलि गएर कुनै पनि कुरा सुन्न नपरोस्’, उनले भने ।

काम छोडेर गएका ठेकेदारलाई मन्त्रालयमै बोलाएर छलफल गर्ने मन्त्री केसीले बताए । उनले भने, ‘काम छोडेर गएको ठेकेदारलाई बोलाएर मन्त्रालयमै छलफल गरौंला । मन्त्रालयबाट तपाईंलाई पूर्ण सहयोग हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर