भोकविरुद्ध आन्दोलन भएको चितवनकी विकनी महतोको स्मरण- भनिसाध्य छैन भोक दबाएर बिताएका दिन
चितवन । केही वर्षअघि नेपालका अभियन्ताहरुले देशकै पूर्व-पश्चिमबाट पैदलयात्रासहित काठमाडौंबाट समेत महिलाहरु सहभागी भएर चितवनको नारायणगढमा रहेको क्याम्पाचौरमा ठूलो बृहत सभा गरेका थिए । त्यस सभाको मूल विषय थियो- भोकविरुद्धको आन्दोलन ।
नेपालका पूर्वी र पश्चिम क्षेत्रका गाउँगाउँका महिला उपस्थित त्यो बृहत सभा ती भोका महिलाहरुका नाममा थियो, जसको भान्छामा पकाउने पहिलो जिम्मेवारी हुन्छ । र, खानमा अन्तिममा पालो आउँछ । अर्थात् महिलाको खाद्य अधिकारको विषयमा गरिएको सचेतनामूलक बृहत सहभागिता थियो त्यो ।
बाँके, बर्दियादेखिका मुक्त कम्लहरीहरु, सीमान्तकृत, दलित समुदायका महिला सहभागी थिए । घरमा भान्छा सम्हाल्ने, परिवारको खेती सम्हाल्ने पहिलो जिम्मेवारी भएकै व्यक्ति अर्थात् आमाहरु, बुहारीहरु समग्रमा महिला सदस्य किन भोका हुन्छन् भन्ने विषयमा सार्वजनिक बहस भएको थियो ।
सञ्चारमाध्यममा पनि त्यस विषयले प्राथमिकता पाएको थियो । नेपालमा महिला अधिकारको विषयमा बहस पैरवी गर्दै आएका राजनीतिक व्यक्ति, महिला अभियन्ताहरु पनि सहभागी थिए त्यस कार्यक्रममा ।
त्यस कार्यक्रममा चितवन रत्ननगरकी विकनी चौधरी सहभागी हुन पाएकी भए आफ्नो भोकको कहानी कति सुनाउँदी हुन् । विकनी आफ्नो जीवन भोगाइ सिलसिला मिलाएर सुनाउन जान्दिनन् । न उनलाई कसैले जीवनमा कति कष्टसाध्य भोका रात बिताइस् भनेर नै सोधेको छ ।
जन्मको हिसाबले ६६ वर्ष पुगेकी उनी आफू यति नै वर्ष भएँ भन्ने पनि किटानीसाथ भन्न सक्दिनन् । न ४४ वर्षको वैवाहिक जीवनका कति समय अत्यासलाग्दो बित्योे भन्ने लेखाजोखा नै गरेकी छन्, तर उनलाई पाँच सन्तानसहित, परिवारका १२ सदस्यलाई खाना खुवाइवरी भोकै सुतेका रातहरुको एकएक स्मृति भने ताजै छ ।
विकनी चितवनको राप्तीपारि पुरानो पदमपुरमा (जुन बस्ती स्थानान्तरण गरेर कालिका नगरपालिकामा ल्याइएको छ) जन्मिइन् । त्यहीबाट विवाह पनि भयो । हालको रत्ननगर नगरपालिकामा पर्ने बेल्सीगाउँका रामदिन महतोसँग उनको विवाह भयो । त्यतिबेला १७ वर्षकी थिइन् ।
परिवारकी जेठी बुहारी भएपछि भातभान्छाको दायित्व उनको भागमा आयो । परिवारका काम गर्नसक्ने सबै जना सबेरै खेतमा जान्थे । उनको भागमा भने दुई हलगोरु, गाईभैंसीका लागि घाँसपातको जिम्मा पनि थियो । भातभान्छा त यसै भइहाल्यो ।
चितवनमा राप्तीदुन परियोजना सुरु भएदेखि पहाडी क्षेत्रबाट मानिसहरु बसोबासको लागि झर्न थालेको करिब १५–१६ वर्ष जति भएको थियो त्यो समय । २०३२ सालमा उनको विवाह भएको थियो । चितवनका आदिवासी परिवार भए पनि टाठाबाठा ब्राह्मणहरुले उनीहरुलाई अधिनस्थ गर्न थालिसकेका थिए ।
चार बिघाभन्दा बढी जमिन आफ्नो भए पनि उब्जाउ राम्रो थिएन । त्यसैले बनियारी (अरुको हलो जोत्ने काम) बस्थे ससुरा । १२ जनाको संयुक्त परिवार थियो ।
‘साह्रै दुःख पाएको छु जीवनमा । उधारो चामल-मकै ल्याउँथ्यो बुढाले’, उनी सम्झिन्छिन्, ‘मकैको च्याख्ला र चामल मिलाएर खाने पकाउँथें । त्यो पनि पुग्थेन कहिलेकाहीँ त ! चामल नपुगेर बिहान र बेलुकै गहुँको रोटी खान्थें । पहिलाको दुःख सम्झिएर त कस्तो कस्तो लाग्छ । भात नपाएर छोराछोरी रोएर बेलुका त्यतिकै सुत्थे । भुराहरुसँगै आफू रुनुपर्थ्यो ।’
अझ २०३३ सालपछि जब दुई वर्षे अन्तरालमा पाँच पटकसम्म आमा भइन्, उनको पूरा पेट खाने अवस्था नै रहेन ।
हुन त त्यो र यो जमाना धेरै फरक भइसक्यो । विकनीले पनि अहिले सुख पाएकी छन् । छोराहरु कमाउने भएका छन् । आफ्नै बारीमा पनि खान पुग्ने उब्जाउ हुन्छ, तर विकनी ती प्रतिनिधि महिला हुन्, जसले चितवनको आदिवासी र परिवारको जमिनमाथि स्वामित्व भएर पनि जीवनको अधिकांश समय खाद्य अधिकारबाट बञ्चित भइन् ।
विश्वमा सन् १९९६ देखि भोकमरीविनाको भविष्य नारा राख्दै विश्वव्यापी किसानहरुको खाद्य सम्मेलन भयो । खाद्य सम्मेलनले खाद्य सुरक्षाको अवधारणा पनि अगाडि ल्यायो । यो अवधारणाले कृषि प्रणालीमा किसानहरुको बञ्चितीकरणको प्रतिवाद गर्छ, तर विकनी जस्ता भूमि भए पनि खाद्य अधिकारबाट बञ्चित महिलाका अधिकारबारे अझ पनि पर्याप्त छलफल भएको पाइँदैन । विकनीले खानाको अभावमात्रै होइन, अन्तिममा भात खाने पालो आउँदा नूनखुर्सानी तरकारी बनाएको दिन पनि थुप्रै थिए ।
सन् १९८३ मा विश्व खाद्य तथा कृषि संगठनले प्रत्येक व्यक्तिलाई आवश्यक परेको हरेक समयमा आधारभूत खाद्यान्नमा भौतिक र आर्थिक पहुँच हुनुपर्ने भनेको छ । त्यो समय विकनी हरेक दिन जस्तो भोको वा आधा पेट भान्छाबाट उठ्थिन् । नेपालमा २०७५ सालमा आएर बल्ल खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन बनेको हो । यसले पनि विश्व खाद्य तथा कृषि संगठनले नै परिभाषित गरेको कुरालाई आत्मसात गरेको छ ।
नेपालले नागरिक भोकै नहुन् भन्ने मान्यता राखे पनि विकनी जस्ता आदिवासी महिला र उनीहरुको खाद्य अधिकारका विषयमा आजसम्म पनि खासै खोजीको विषय भएको पाइँदैन । हुन त हरेक आर्थिक कमजोर भएका परिवारको भान्छामा खाने पालो अन्तिममा आउने सदस्यले अधिकांश छाक आधा पेट वा भोकै रहनुपरेको तथ्य आजसम्म पनि छ ।
नेपालको जीवनस्तर सर्वेक्षेण २०७९/०८० को नतिजाले नै नेपालमा २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको उल्लेख गरेको छ । गरिबीको रेखामुनि अर्थात् ती मानिसहरुका दैनिक आवश्यक क्यालोरीको मात्रा शरीरले पाउँदैन, आधारभूत खाद्य अधिकारबाटै वञ्चित हुन्छन् ।
गरिबीको फैलावटको अवस्था सोही सर्वेक्षणअनुसार हेर्दा तराई, जसलाई अन्नको भण्डार भनिन्छ- त्यहाँ सबैभन्दा बढी छ । चितवन भित्री मधेश र बागमती प्रदेशमा पर्ने भए पनि महिलाहरु अझै पनि निर्णय गर्ने तहमा छैनन् । विकनी त १२ जनाको परिवारमा अन्तिम सदस्य बनेर गएकी थिइन् । घरमा भएको अन्नमाथि पनि उनको निर्णय हुँदैनथ्यो ।
‘चामल पायो भने ससुराले बेच्न लगिहाल्थे’, विकनी सम्झिन्छिन्, ‘बिहानदेखि सामल जुटाउने, पकाउने र खेतसम्म पुर्याउने दुःख मलाई हुन्थ्यो । चामलले मात्रै नपुगेपछि हप्तादिनसम्म गहुँको रोटी बनाउनुपर्थ्यो ।’
विकनीले पेट भरेर खाने समय वर्षमा कहिलेकाहीँमात्र आउँथ्यो । त्यो समय गाउँका महाजनका परिवारमा भाँडा माझ्न जाँदा हुन्थ्यो, लुगा धोइदिन जाँदा हुन्थ्यो । उनका अनुसार चाडपर्व वा कुनै कर्म भयो भने उनीहरुलाई भाँडा माझ्न र लुगा धुन बोलाइन्थ्यो ।
‘त्यसबापत पेटभरि भात खान दिइन्थ्यो’, उनी सम्झिन्छिन्, ‘केही आफूले खायो, केही पोको पारेर छोराछोरीका लागि लिएर आउथें ।’
उनले दुईदुई वर्षको अन्तरालमा अस्पताल नगई सन्तान जन्माउँदाका दुःख त अहिले बिर्सिसकेकी छन् । दिनभर काम गरेर रातभरको व्यथामा पाँच सन्तान जन्माएको शारीरिक कष्ट उति गडेको छैन उनको मनमा । बरु सुत्केरी अवस्थामा पनि बाक्लो लुगाफाटा, पेटभरि खानाको जोहो गर्न नसक्ने ती दिनको याद अझै आउँछ ।
अहिले कुर्ता सलवार लगाउन थालिसकेकी उनी ती दिन सम्झिँदै थप्छिन्, ‘पेटीकोट, चोलो र आमाले कहिलेकाहीँ पठाइदिएको लुंगीभन्दा लाउने लुगा अरु हुन्थेन ।’