धरहरा चढ्न २०० रुपैयाँ शुल्क लगाउने प्रस्ताव मन्त्रिपरिषदमा
लिफ्ट बिग्रिएर दुई दिन बन्द रहेको धरहरा सुचारु
काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले धरहरा भ्रमण सशुल्क बनाउने तयारी गरेको छ । दुई महिनाअघि केही समयका लागि निःशुल्क चढ्न पाउने गरी धरहरा खोलिएको थियो ।
कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आएको भन्दै विभागले जतिसक्दो चाडो शुल्क उठाउने तयारी गरेको हो । शहरी विकास मन्त्रालयले टेन्डरबाट कुनै निजी कम्पनीलाई दिने गरी धरहरा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधिको मस्यौदा गत असोजमै मन्त्रिपरिषद्मा पेश गरेको थियो । तर हालसम्म मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत नभएको विभागले जनाएको छ ।
विभागले मंसिर ७ गतेबाट लागू हुने गरी शुल्कसहितको प्रस्ताव मन्त्रालयमा पठाएको विभागका एक अधिकारीले बताए । तत्कालका लागि न्युनतम २०० रुपैया शुल्क तोक्ने प्रस्ताव मन्त्रालयमा पठाइएको उनको भनाइ छ ।
ती अधिकारीले भने, ‘तत्काल हामीले नि:शुल्क चलाइरहेका छौं । तर कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या भएको हुनाले शुल्क लिएर गर्दा उपयुक्त हुन्छ भनेर ७ गतेबाट लागू हुनेगरी शुल्क सहितको प्रस्ताव गएको छ । मन्त्रालयबाट मन्त्रिपरिषद्मा पठाइसकिए छ । हामीे पठाएको प्रस्ताव परिमार्जन हुन पनि सक्छ ।’
सञ्चालन मोडालिटी अझै अनिर्णित
आंशिक रुपमा सञ्चालनमा आएको धरहरा दिर्घकालीन रुपमा कसलाई कसरी सञ्चालन गर्न दिने भन्ने अझै टुंगो लागिसकेको छैन । धरहरा सञ्चालन गर्ने कार्यविधि बन्न बाँकी नै छ ।
गत असोजको तेस्रो साता नै मन्त्रालयले सञ्चालनको प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेको थियो । शहरी विकास मन्त्रालयले धरहरासँगै अन्य ६÷७ वटा संरचनाहरु कसरी सञ्चालन गर्ने भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । उक्त प्रस्ताव विधेयक समितिमा छलफलको लागि गएको छ । उक्त समितिले सञ्चालनको विषयमा दिएको सुझावको आधारमा बल्ल निर्णय हुने शहरी विकास मन्त्रालयका सूचना अधिकारी चन्द्रकाजी गुरुङले बताए ।
उनले भने, ‘धरहरा सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । विधयेक समितिमा धरहरामात्र नभई धरहरा जस्तै अन्य ६/७ वटा संरचनाहरुको प्रस्ताव छन् । एउटा समिति बनाएर त्यसले वर्कआउट गर्छ । त्यसपछि बल्ल दिर्घकालीन रूपमा सञ्चालनको प्रक्रिया अघि बढ्छ ।’
लिफ्ट बिग्रिँदा दुई दिन बन्द
सञ्चालनमा आएको दुई महिनामै लिफ्ट बिग्रिँदा धरहरा दुईदिनसम्म बन्द हुन पुग्यो । लिफ्ट मर्मतपछि पुनः सञ्चालनमा आएको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)का आयोजना निर्देशक प्रकाश अर्यालले बताए ।
उनी भन्छन्, ‘हाम्रो सिस्टम पनि समस्या आएर बन्द थियो । अनलाइन सिस्टममा गडबडी आएर बुक गर्न मिलिराखेको थिएन । साथै लिफ्ट बिग्रिएको थियो । पुनः सबै सुचारु भएको छ ।’
अर्यालका अनुसार प्यानल बोर्डहरु विदेशबाट मगाउनुपर्ने भएकाले लिफ्टमा अझै भरपर्दो प्यानल बोर्डहरु जोड्न सकिएको छैन । त्यसैको कारण लिफ्ट अनअफ भइरहेको छ ।
कहिलेकाही अशक्त, अपाङ्ग, वृद्धहरु लिफ्टबाट धरहरा चढ्न खोज्दा समस्या भइराखेको छ । सक्नेहरु भने हिँडेरै २० तलामाथि पुग्ने गरेका छन् । लिफ्ट बन्द भएपछि अशक्त अपाङ्गहरुलाई सकेसम्म नजान भनिएको छ ।
धरहरा सञ्चालन र व्यवस्थापन मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले गर्दै आएको छ । इकाइले ९ वर्षअघि भूकम्पले भत्काएको धरहरा गत असोज ३ गते आंशिक रुपमा सञ्चालनमा ल्याएको थियो । हालसम्म २६ हजार जनाभन्दा बढीले धरहरा चढिसकेका छन् ।