डोटीको पूर्वीचौकी-६ मा वडाध्यक्षका लागि ४ प्रतिस्पर्धी – Nepal Press

डोटीको पूर्वीचौकी-६ मा वडाध्यक्षका लागि ४ प्रतिस्पर्धी

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.६ रिक्त वडाध्यक्ष पदका लागी चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मनोनयन दर्ता गर्ने समय तोकेको थियो । सो समयभित्र चार जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रुद्रराज गिरीले जानकारी दिए । उम्मेदवारी दर्ता गराउनेहरूमा तीन पुरुष र एक महिला रहेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट मोहन थापा, नेकपा एमालेको तर्फबाट देवबहादुर थापा, नेकपा (माओवादी केन्द्र) को तर्फबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट जानकी कुमारी खड्का (कुँवर) उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेसबाट उम्मेदवार बनेका थापा २०५४ सालमा साबिकको गाँजरी गाउँ विकास समितिका अध्यक्ष हुन । उनी ०७४ को स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षका प्रतिस्पर्धी थिए ।

एमालेबाट उम्मेदवार भएका देवबहादुर थापा ०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष हुन् । जनताको बिचमा राम्रो छवि बनाएका देवबहादुरलाई एमालेले बलियो उम्मेदवार मानेको छ ।

माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापा लामो समयदेखि स्थानीय राजनीति तथा सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् । रास्वपाले भने महिलालाई अघि सारेको छ । कांग्रेस, एमाले र माओवादीले पुरुष उम्मेदवार बनाउँदा एक मात्र महिला प्रतिस्पर्धी हुँदा सोही नारा लिएर रास्वपा जनताको घरघरमा जाने देखिन्छ ।

उम्मेदवारी दर्ता भएसँगै चुनावी सरगर्मी सुरु भएको छ । जिल्ला, प्रदेश र केन्द्रीयस्तरका नेताहरू वडामा पुगेर आफ्नो उम्मेदवारको पक्षमा माहौल बनाउन सुरु गरेका छन् । ०७९ को निर्वाचनमा पूर्वीचौकी गाउँपालिकाका ३७ वटै पदमा कांग्रेसले क्लिनस्वीप गरेको थियो ।

०७९ सालमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको २०७९ साल मंसिर १४ गते हृदयाघातबाट निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर