प्रकाश भुजेलको गाडी दुर्घटना प्रकरण : नगरकोटीकी गर्भवती पत्नीको पनि निधन
दुर्घटनाको अघिल्लो दिन नगरकोटीले किनेका थिए नयाँ बिवाइडी गाडी
काठमाडौँ। झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सानुमाया नगरकोटीको पनि निधन भएको छ ।
कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना हुँदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी उपचारका क्रममा निधन भएको थियो । सानुमायालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
शुक्रवार सानुमाया नगरकोटीको पनि निधन भएको प्रहरी स्रोतले जनाएको छ । सानुमायाको निधनपछि गरिएको पोष्टमार्टममा उनको पेटमा १२ हप्ता (तीन महिना) को गर्भ रहेको पुष्टि भएको थियो । आमासँगै कोखको शिशुको पनि निधन भएको छ ।
गाडी चढ्ने रहर अधुरो
जग्गा कारोबार र सानातिना ठेक्कापट्टाको काम गर्ने मृतक नारायण नगरकोटीले दुर्घटनाको अघिल्लो दिन विद्युतीय कार (विवाइडी) किनेका थिए । अहिले पनि उनको घरमा थन्किरहेको छ ।
घर गएर विद्युतीय कारको धार्मिक विधिअनुसार पूजा गर्ने र मोटरसाइकलको सट्टा सोही कारमा सवार हुने योजनाका साथ त्यसदिन उनले हतार(हतारमा मोटरसाइकल चलाएका थिए ।
सीसीटीभी फुटेजको विश्लेषण गरेका एक प्रहरीका अनुसार उनले झाँक्री भुजेलको गाडीलाई ओभरटेक गर्न खोजेका थिए । अचानक मोटरसाइकल अगाडि आएपछि भुजेलले गाडीलाई नियन्त्रणमा लिन सकेनन् र उनको गाडीले मोटरसाइकललाई ठक्कर दियो ।