मुख्यसचिव अर्यालले दिए राजीनामा
काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त पत्र पेश हुने र अर्यालको राजीनामा स्वीकृत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको हो ।
अर्यालले आइतबार दिउसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो । गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।
उनी निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारी बिना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिएको बुझिएको छ ।
डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दर्ता भएको पछिल्लो दिन असार १० मा मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको थियो ।
काठमाडाैँका ब्यक्तिहरूलाई यस्तै यस्तै गरेर सिध्याएको देखियो ……!