पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसाथ गर्ने सरकारको निर्णय – Nepal Press

पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसाथ गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा सार्वजनिक बिदा दिँदै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेलेको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उनको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

आइतबार सभामुख देवराज घिमिरेले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *