कालीकोट जिल्ला अस्पतालको नवनिर्मित ५० शय्याको भवनबाट सेवा सुरु – Nepal Press

कालीकोट जिल्ला अस्पतालको नवनिर्मित ५० शय्याको भवनबाट सेवा सुरु

सुर्खेत । कालीकोट जिल्ला अस्पतालको नवनिर्मित ५० शय्याको सुविधा सम्पन्न भवनबाट सेवा सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार अस्पतालको भवनको औपचारिक उद्घाटन गर्दै आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

अस्पतालले लामो समयदेखि साँगुरो टिनको टहरामा औषधि र चिकित्सकको अभावको बीचमा सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माणसँगै अब टिनको टहरामुक्त बनेको अस्पतालले गुणस्तरीय सेवा दिन अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री कँडेलले उद्घाटन समारोहमा गुणस्तरमुखी सेवामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला स्वास्थ्य प्रमुख डा. भिष्म पोख्रेलका अनुसार अब अस्पतालले सुविधायुक्त भवनबाट बिरामीलाई सेवा दिन सहज हुने अपेक्षा गरिएको छ, तर दक्ष जनशक्ति र थप उपकरणको आवश्यकता रहेको पनि उनले बताए । यसैगरी, उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले पनि औषधि, उपकरण र विशेषज्ञ चिकित्सकको आवश्यकता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

उद्घाटन समारोहमा कर्णाली प्रदेश उपसभामुख यशोदा न्यौपाने, प्रदेश सभा सदस्य हिक्मत विष्ट, दुर्गबहादुर रावत, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *