श्रम बेचिएका वर्षहरू…    – Nepal Press

श्रम बेचिएका वर्षहरू…   

काठमाडौं । एक दशकअघि हातमा जेब्रा झोला बोकेर अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पाइला लम्काउँदै गर्दा मनिष लामालाई लागेको थियो, ‘दुई/चार वर्ष त हो, ऋण तिरिसकेपछि त नेपाल फर्किहाल्छु नि !’

मकवानपुर थाहा नगरपालिकास्थित दामनका लामाले विदेशी भूमिमा एक दशक  बिताउँछु भन्ने सोचेका थिएनन् । सन् २०१३ मा साउदी अरब पुगेका उनी अहिले पनि सोही ठाउँमा श्रम गरिरहेका छन् ।

‘थपिएको ऋणको भारीले स्वदेश बस्ने अवस्था रहेन । ऋण तिर्न विदेश जान्छु, तिरिसकेपछि नेपाल नै फर्किन्छु भनेर विदेश आए । लामो समय बस्दिन भन्ने लागेको थियो । सोचाइ र भोगाइ फरक हुँदो रहेछ । अहिलेसम्म पनि नेपाल फर्किन सकिन’, उनले भने ।

एउटा घरको ऋणले पुर्‍यायो विदेश

२०५० सालमा बाढीका कारण विस्थापित भएको परिवार हो उनको । घरजग्गा सबै बाढीले बगाएपछि उनको परिवार सोही नगरपालिकाको बजारमा कोठा भाडामा बसेको थियो । लामो समय कोठा भाडामा बसेपछि उनीहरूले एउटा घरको जग राख्न पुग्ने जग्गा किनेर घर बनाउने सोचे । ज्यालादारीबाट कमाएर जम्मा गरिएको पैसाले पुग्यो तर घर बनाउन भने ऋण लिनुपर्‍यो । आफन्त र एक वित्तीय संस्थाबाट ऋण लिएर घर बनाए ।

‘बुवा बितिसक्नु भएको थियो । घरको जिम्मेवारी दाइ र ममा थियो । दाइ विदेश नजाने यही ज्यालादारी गर्ने भन्नुभयो । उहाँको कमाइले ऋण तिर्न सक्ने अवस्था थिएन । मैले गरिरहेको ज्यालादारीबाट पनि आशा रहेन’, उनी सुनाउँछन् ।

मनिष लामा ।

घर बनाउँदा लिएको ऋण तिर्न भने उनलाई त्यही गरिरहेको ज्यालादारीको आम्दानीबाट पुगेन । त्यसपछि उनी श्रीमतीसहित काठमाडौं आए । काठमाडौंमा उनले मालीको काम गरे । काठमाडौंको आम्दानीले उनलाई घरको ऋण तिर्नु त परको कुरा बिहान बेलुकाको छाक टार्न नै मुस्किल पर्‍यो ।

फेरि काठमाडौं छोडेर गाउँ फर्केको सुनाउँदै लामा भन्छन्, ‘काठमाडौं आएर दु:ख नगरेको होइन । धेरै दु:ख गरेँ । तर पनि परिवार पाल्न नै समस्या भयो । यस्तो अवस्थामा ऋण तिर्ने कुरै भएन । अनि फेरि गाउँ फर्किएँ ।’

गाउँ फर्के पनि उनी लामो समय गाउँमै बस्न भने सकेनन् । बढ्दो ऋणको ब्याज र थपिँदै गरेको परिवारको जिम्मेवारीले उनी वैदेशिक रोजगारीमा जाने निर्णय लिए । त्यसपछि काठमाडौं आएर पासपोर्ट बनाए । म्यानपावरू धाउन थाले । र, उनी काठमाडौंको रातोपुलमा रहेको एक म्यानपावरमार्फत साउदी अरब पुगे ।

‘वैदेशिक रोजगारीमा आउनु मेरो रहर होइन, बाध्यता हो । परिवारको जिम्मेवारी थपिँदै थियो । मुन्टो लुकाउन बनाएको एउटा घरको ऋण तिर्नु थियो । ऋण तिर्न र परिवारको गुजारा चलाउनका लागि साउदी अरब आउन बाध्य भए’, उनले सुनाए ।

विदेश आउँदा लागेको ऋण तिर्न उनलाई ६ महिना लाग्यो । त्यसपछिको कमाइले घर बनाउँदा लागेको ऋण तिर्न थाले । त्यो ऋण तिर्न उनलाई चार/पाँच वर्ष लाग्यो ।

अधुरो सपना

पाँच वर्षपछि उनले साउदीको बसाइलाई बिट मार्ने निधो गरे । अब नेपाल फर्किन्छु, बङ्गुर पालन गर्छु, बस्दिन अर्काको देशमा भन्ने सोचले नेपाल फर्किए । व्यवसायिकरूपमा बङ्गुर पालनमा लागेकाहरूलाई भेटे । यसबारे अध्ययन गरे । नेपालको वातावरण बुझे । यस क्षेत्रमा लागेकाहरूको वास्तविकता देखेपछि लगानी गर्ने आँट आएन र पुनः विदेश फर्किए ।

‘आफ्नै देशमा केही गर्न नचाहेको होइन । व्यवसायिकरूपमा बंगुर फारम खोल्ने सोच बनाएको थिएँ । तर, देखेको र भोगेको यथार्थ धेरै नै फरक रहेछ । यसको वास्तविक अवस्था देखेपछि लगानी सुरक्षित होला जस्तो लागेन । र, यसमा काम गर्न आँट भएन अनि फर्किएँ साउदी’,  मनिष भन्छन् ।

उनले साउदीको जुस फ्याक्ट्रीमा काम गरेको ११ वर्ष भइसक्यो । लेवरको रूपमा उक्त कम्पनीका काम गरेका उनी हाल सोही कम्पनीको अपरेटर लिडरका रूपमा कार्यरत छन् । लामो समयदेखि विदेशमा पसिना बगाएका लामासँग स्वदेश फर्किने योजना छैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘नेपाल फर्किएर के गर्नु ? केहि गर्ने वातावरण छैन । त्यतिकै बसेर परिवार पाल्न सकिँदैन । स्वदेश फर्किने मन छ तर के गर्ने भन्ने वातावरण छैन ।’

जुन ऋण तिर्न विदेशिएका थिए त्यो ऋण तिरिसके उनले । तर, जीविकोपार्जनका लागि अर्को भरपर्दो बाटो पहिल्याउन नसक्दा उनी नेपाल फर्किन भने सकेका छैनन् ।

स्वदेशमै रोजगारीको ग्यारेन्टी र लगानीको वातावरण हुने हो भने तत्कालै नेपाल फर्किन तयार छन् उनी । यी सबै वातावरण नेपालमा नबन्दा उनी लामो समयदेखि विदेशमा सस्तो श्रम बेच्न बाध्य भएको सुनाउँछन् ।

उस्तै पीडामा घनश्याम पनि

लामाजस्तै एक दशकदेखि साउदी अरबमा श्रम बेचिरहेका अर्का नेपाली हुन्, खोटाङका घनश्याम खत्री । उनी पनि सन् २०१३ यता वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् ।

‘म २०१३ देखि विदेशमा छु, पहिलो पटक मलेसिया गए । त्यहाँबाट नेपाल फर्किए । केही महिना बसे त्यसपछि फेरि विदेश तिरै लागे । अहिले साउदीमा छु’, उनले सुनाए ।

लामो समयदेखि विदेशमा श्रम बेचेका उनले उल्लेख्य प्रगति गर्न भने सकेका छैनन् । आफू र आफ्नो परिवारलाई आवश्यक घर र घडेरी जोडेका छन् । र, बाँकी उनको कमाइ परिवारको गुजारा चलाउन खर्च भइरहेको छ ।

उनमा पनि नेपाल फर्किएर केही गर्छु भन्ने सोच आउँछ । तर, नेपालको परिस्थिति देखेर उनलाई नेपाल फर्किने हिम्मत आउन सकेको छैन ।

घनश्याम तिवारी खत्री ।

खत्री भन्छन्, ‘नेपालमा त्यस्तो आधुनिकताको आयाम देख्दिनँ । देशको राजनीतिक अस्थिरता त्यही हो । चरम भ्रष्टाचारले मुलुक जेलिसकेको छ । मन्दीको मार त छँदैछ । यस्तो अवस्थामा रोजगारी पाइने या भनौँ नयाँ व्यवसाय गर्न सकिन्छ जस्तो लाग्दैन ।’

स्वदेश फर्किन चाहने नेपालीहरूलाई सरकारले सीप अनुसारको रोजगारी दिनुपर्ने बताउँदै उनी थप्छन्, ‘विदेशमा नेपालीहरूले कमाएको रकम र उसले सिकेको सीपलाई व्यवसायमा लगानी गर्ने योजनामा सरकारले सहयोग गर्नु पर्छ । धितो या बिना धितो ऋण दिनुपर्‍यो । झन्झटिलो नियम कानूनहरू सजिलो बनाउनु पर्‍यो । योसँगै मुलुकमा राजनीतिक स्थिरता हुनुपर्छ ।’

विदेशबाट स्वदेश फर्किन चाहने युवाहरूको सीपलाई स्वदेशमै सदुपयोग गर्ने जिम्मा सरकारले लिनुपर्ने खत्रीको माग छ । सरकारले मुलुकमै रोजगारी र लगानीको वातावरण बनाइदिने हो भने विदेशमा सस्तो श्रम बेचिरहेका नेपालीहरू नेपाल फर्किने निश्चित रहेको उनको भनाइ छ ।

फर्किएकाले पनि पाउँदैनन् काम, जान्छन् फेरि विदेशै

बाध्यताले श्रमको साइनो गाँसेर लामो समयदेखि परदेश रहेका नेपालीहरू स्वदेश फर्कन चाहन्छन् । तर, स्वदेशमै श्रम बेच्ने अवसर नपाउँदा उनीहरू विदेशमै रहन बाध्य छन् ।

नेपालमै केही गर्छु भनेर फर्किएकाहरू यहाँ विकल्प नपाउँदा उनीहरू पुनः विदेश नै फर्किएको समेत देखिन्छ । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययन हेर्दा स्वदेश फर्किएका अधिकांश नेपाली विदेश फर्किन नचाहेपनि अवसर र बेरोजगारी अभावले उतै जान बाध्य छन् ।

२०२० मा उक्त प्रतिवेदन तयार पार्दा नेपाल फर्किएकाहरूमध्ये पुनः वैदेशिक रोजगारीमा जान नचाहनेको संख्या ५९ प्रतिशत र फर्किएकामध्ये नेपालमै केही गर्न चाहने नेपालीहरूको संख्या १७ प्रतिशत रहेको पाइएको थियो । तर, स्वदेश फर्किएका नेपालीहरूमा १८ प्रतिशतले मात्र तलबी रोजगारी पाए । ४३ प्रतिशत कृषि र गैरकृषि क्षेत्रमा आवद्ध भए भने ३९ प्रतिशत बेरोजगार नै रहे ।

‘वैदेशिक रोजगारी रहर होइन, बाध्यता हो । माथिको तथ्यांकले पनि भन्छ की नेपालीहरू स्वदेशमै बस्न चाहाँदाचाहँदै विदेशिनु परेको छ । नेपालमा जिविकोपार्जन नहुँदा बाध्य भएर विदेशिनेहरु धेरै छन्’, उनले भने ।

बाध्यकारी वैदेशिक रोजगारी गमन अन्त्य गर्ने घोषणा पनि नगरिएको होइन । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षे रोडम्याप घोषणा गर्दै बाध्यकारी वैदेशिक रोजगारी गमन अन्त्य गर्ने भनियो । जुनबेला दैनिक श्रम स्वीकृति लिनेको संख्या एक हजार ३९४ थियो । घोषणा भएको पाँच वर्ष पूरा हुँदाको परिणाम ( २०७९/८०) आइपुग्दा दैनिक श्रम स्वीकृति लिनेको संख्या २ हजार ११३ पुग्यो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई फर्काएर स्वदेशमै स्वरोजगार बनाउने कुरा भाषणमा मात्रै सीमित हुने विज्ञ नेपालको धारणा छ ।

‘रोजगारीका कार्यक्रम, सिप सिकाइको अवस्था, नयाँ उद्योग कलकारखाना थपिनेको संख्या लगायत विभिन्न समय सरकारले गरेका घोषणाहरुको हभिगत छन् । क्षमता नै छैन । यस्तो अवस्थामा विदेशबाट नेपाल फर्किएर के गर्छन ?’, विज्ञ नेपाल प्रश्न गर्छन ।

फरक गोरेटो, लक्ष्य उस्तैउस्तै

वैदेशिक रोजगारीका लागि घरबाट निस्केका गोरेटोहरु फरक-फरक भएपनि लक्ष्य भने अधिकांश नेपालीहरूको लगभग उस्तैउस्तै नै हुन्छ । वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गरेर आफू र आफ्नो परिवारको अवस्था सुधार गर्ने सपना बोकेर अर्काको देशमा लामो समयदेखि श्रम गर्ने नेपालीहरूको जमात ठूलो छ । लामा र खत्री प्रतिनिधि पात्रमात्रै हुन् ।

दक्ष जनशक्तिले समेत नेपालमा रोजगारीका लागि लामो समय भौतारिएर अन्ततः विदेशिनु पर्ने अवस्था छ । स्वदेशमा रोजगारीको अवसर नपाएर हरेक वर्ष लाखौँको संख्यामा युवाहरु कामको खोजीमा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामै एक लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । चालू आवको साउनदेखि असोज मसान्तसम्म एक लाख १० हजार ६५३ जनाले श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगारीका लागि साउनमा ३६ हजार ९२८ जनाले श्रम स्वकृति लिएका थिए । उक्त संख्या भदौमा बढेर ३९ हजार ५५७ पुग्यो । असोज महिनामा ३४ हजार १६९ जनाले विदेश जानका लागि संस्थागत र व्यक्तिगतरुपमा अन्तिम श्रम स्वीकृति लिएको विभागका निर्देशक सुवेदीले जानकारी दिए ।

आर्थिक वर्ष २०५०/५१ देखि वैदेशिक रोजगारीमा जानका लागि लिइने श्रम स्वीकृतिको अभिलेख विभागले राख्न थालेको थियो । यस आवमा ५ हजार १५९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । सरकारले तथ्यांक राख्न शुरु गरेको आवदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा ९७ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालमा पर्याप्त रोजगारी सिर्जना नहुँदा नेपालीहरू विदेशी भूमिमा श्रम बेच्न बाध्य भइरहेको श्रम आप्रवासन विज्ञ रामेश्वर नेपाल बताउँछन् ।

आप्रवासन विज्ञ रामेश्वर नेपाल ।

उनी भन्छन्, ‘वर्षेनि बेरोजगार हुनेहरू थपिँदै गएका छन् । रोजगारीका नयाँ बाटोहरू कोरिएको छैनन् । स्वदेशमा सम्भावना नरहेपछि विकल्पमा विदेश पुग्छन् ।’

नेपालमा बेरोजगारीको संख्या बढ्दो छ । प्रतिवर्ष करिब पाँच लाख नयाँ श्रम शक्ति बजारमा प्रवेश गर्छन् । त्यसमध्ये करिब ५० हजारले मुस्किलले रोजगारी पाएका हुन्छन् । एकवर्ष साढे चार लाखको हाराहारीमा बेरोजगार भइरहँदा अर्को वर्ष थप पाँच लाख आउँछन् ।

अहिलेको अवस्थामा वार्षिक पाँच लाखलाई रोजगारी दिन सरकारले सक्दैन । सरकारले दिन्छु भनेर घोषणा गरेपनि यथार्थमा पाउने सम्भावना नरहेको नेपालको तर्क छ । आन्तरिक रोजगारीको व्यवस्था नहुँदा वर्षेणी बेरोजगारको संख्या थपिँदै गएको छ । नेपालमै रहेकाहरुले रोजगारी नपाइरहेको अवस्थामा बाहिरबाट नेपाली फर्काएर रोजगारी दिन्छु भन्नु भाषणमा मात्रै सीमित रहेको उनी टिप्पणी गर्छन् ।

सरकारले रोजगारी दिन्छु भन्दा पनि व्यवसायिकरुपमा कृषिकर्म, पसल, उद्योग खोल्न चाहानेहरुलाई सहज वातावरण बनाइदिनु पर्ने उनको सुझाव छ ।

उनी भन्छन्, ‘कोही फर्किएर केही उद्यम गर्छ, पसल खोल्छ, व्यापार व्यवसाय गर्न चाहन्छ भने त्यसको प्रक्रिया पुर्‍याउन नै झन्झट छ । यसमा  सहज वातावरण सरकारले बनाइदिने हो भने नेपालमै केही गर्न चाहनेहरू विदेशबाट फर्किने सम्भावना छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *