कोशीमा पहिचान पक्षधरहरु फेरि आन्दोलित, चैत १० भित्र पुन: नामाङ्कन प्रक्रिया सुरु गर्न अल्टिमेटम (भिडिओ) – Nepal Press

कोशीमा पहिचान पक्षधरहरु फेरि आन्दोलित, चैत १० भित्र पुन: नामाङ्कन प्रक्रिया सुरु गर्न अल्टिमेटम (भिडिओ)

विराटनगर । प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने मागसहित आन्दोलन गरिरहेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशको नाम फेर्न दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । हिजो विराटनगरमा पहिचान पक्षधरहरुले शक्ति प्रदर्शन गर्दै आमसभा गरेका थिए ।

समितिले कोशी नाम खारेज गर्न माग गर्दै फागुन १७ लाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । समितिले चैत १० सम्ममा कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु गर्न अल्टिमेटमसमेत दिएको छ ।

समितिले काेशी नाम खारेजी गरी पुनः नामकरणको प्रक्रिया सुरु गर्न माग राख्दै प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।

समितिले प्रदेशको नाम कोशी राख्न हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई बहिस्कार गर्ने पुरानै नीति लिएको छ । समितिले हस्ताक्षर फिर्ता लिएको जानकारी नगराएसम्म कोशी नामको पक्षमा उभिने प्रदेशसभा सदस्यहरूलाई बहिस्कार गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले प्रदेशको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । कोशी नामको पक्षमा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेशसभा सदस्यहरू उभिएका थिए ।

प्रदेशको नाम कोशीको पक्षमा उभिएका प्रदेशसभा सदस्यहरूलाई पहिचान पक्षधरहरूले बहिस्कार गर्दै उनीहरू सहभागी कार्यक्रममा अवरोध गर्दै आएका थिए । अवरोधका कारण पटक पटक प्रहरी समक्ष झडप हुँदै आएको थियो । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

प्रदेशको नामकरणको विवादपछि सरकार र पहिचान पक्षधरहरूबिचमा पटक पटक वार्ता भएको थियो ।

तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि पहिचान पक्षधरहरूले शान्तिपूर्ण गतिविधि गर्ने बताएका थिए । शान्तिपूर्ण आन्दोलन गर्दै आएका पहिचान पक्षधरहरुले पुनः प्रदेशसभा सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा निषेधको घोषणा गरेका छन् ।


प्रतिक्रिया

One thought on “कोशीमा पहिचान पक्षधरहरु फेरि आन्दोलित, चैत १० भित्र पुन: नामाङ्कन प्रक्रिया सुरु गर्न अल्टिमेटम (भिडिओ)

  1. आफ्ना छोराछोरी विदेशमा नोकर बन्न पठाउने, विदेशी सेनामा पठाउने अनि यहाँ चाहिँ पहिचान भनेर तीनै पश्चिमाको टट्टु बन्ने यी नौटंकीहरूको मुख्य निशाना एमाले नै हो । अरूको नाम त झुण्डाएका मात्र हुन् दुर्गेले जस्तै । यी दलालहरू हुन् । पहिचानका खास विरोधी यी आफैं हुन् । यी दलालहरूलाई चाहिँ लखेटने बेला भयो । जनता सचेत भए पछि यी लखेटिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर