बौदीकालीले एकल पुरुष भत्ता रातो किताबमा राख्न बिर्सियो, कार्यान्वयनमा अन्योल – Nepal Press

बौदीकालीले एकल पुरुष भत्ता रातो किताबमा राख्न बिर्सियो, कार्यान्वयनमा अन्योल

चितवन । पूर्वी नवलपरासीमा रहेको बौदीकाली गाउँपालिकाले श्रीमतीको मृत्यु भएका र सम्बन्ध बिच्छेदपश्चात ६० वर्षसम्म पुनर्विवाह नगरेका पुरुषहरुलाई पनि सामाजिक सुरक्षा भत्ता दिएर चर्चित भएको कार्यक्रममा यसवर्ष बजेट राख्नै बिर्सिएको छ ।

पालिकाकी उपाध्यक्ष डिलकुमारी केसी सारु मगरले नीति तथा कार्यक्रम र चाू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा पनि राखिएको मासिक एक हजार रुपैयाँका दरले दिइने एकल पुरुष भत्ताका लागि रातो किताबमा भने बजेट नै राख्न बिर्सिएको हो ।

पालिकाका सामाजिक सुरक्षा शाखाका पञ्जीकरण तथा अपडेट सिष्टम हेर्ने प्रमुख धु्रव अर्यालले नेपाल प्रेससँग कुरा गर्दै रातो किताबमा बजेट राख्न बिर्सिएकोले यसवर्ष भत्ता वितरण अन्यौलमा रहेको बताए ।

गाउँपालिकाले कार्यविधि नै बनाएर श्रीमतीको मृत्यु भएका विदुर पुरुषका लागि तत्कालैदेखि र सम्बन्ध बिच्छेदपछि एकल बसेका पुरुषलाई ६० वर्ष पूरा भएपछि सामाजिक सुरक्षा भत्ता दिने गरि उक्त कार्यक्रम ल्याएको थियो । अघिल्लो आर्थिक वर्षमा ६६ जना पुरुषले उक्त कार्यक्रम अन्तर्गत सेवा लिएका थिए ।

चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा पनि ९ लाख रुपियाँ उपाध्यक्षले बजेट शिर्षक राखेकी थिइन् । तर, रातो किताबमा बजेट नै नभएपछि ति ६६ जनाको पनि नाम यसवर्ष नवीकरण भएको छैन । शाखाले नयाँ सेवाग्राहीको निवेदन पनि नलिएको अर्यालले बताए ।

बजेट पुस्तिकामा नै बजेट नभएपछि अर्को शीर्षकबाट तानेर मात्रै उक्त कार्यक्रम नगरले कार्यान्वयन गर्न सक्छ । तर, गाउँपरिषद् नभइ शिर्षक रकमान्तर गर्न नपाइने भएकोले परिषद् पनि मात्रै एकल पुरुष सुरक्षा भत्ताको रकम दिने नदिने निर्णय गरिने पालिकामा छलफल भएको अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर