दीर्घकालीन सोचसाथ सीटीईभीटीको पुन:संरचना गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड – Nepal Press

दीर्घकालीन सोचसाथ सीटीईभीटीको पुन:संरचना गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको बताएका छन् ।

परिषदको पुनसंरचनासम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार विराटनगरमा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा कार्कीले परिषद्ले आवश्यक्तालाई ध्यानमा राखी आफ्ना कार्यक्रमलाई विविधिकरण गर्नुपर्ने सुझाव दिए ।

मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीचमा समन्वय हुने गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही अनुसार परिषद पुनसंरचना गर्नुपर्नेमा जोड दिए । विद्यालय तथा विश्वविद्यालय तहको शिक्षाभन्दा फरक किसिमले सीटीईभीटीले कार्यक्रम ल्याउनु पर्नेतर्फ उनले ध्यानाकर्षण गराए ।

प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरुको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषदले यससम्बन्धी जनशक्ति उत्पादन गर्नुपर्ने पनि उनले औंल्याए ।

स्पष्ट रणनीति र कार्यनीतिको अभावमा पछिल्लो दिनमा प्राविधिक शिक्षालयमा विद्यार्थीको अभावमा ताला लगाउनुपर्ने अवस्थाप्रति कार्कीले चिन्ता जनाए ।

कोशी सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरूलाई छ महिनाको सूचना प्रविधिको तालिम एवं ल्यापटप उपलबध गराई स्वरोजगार बनाउने कार्य अगाडि बढाइरहेको पनि सुनाए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय पालिकासँग समन्यमा तालिम दिन सीटीइभीटीलाई सुझाव दिए ।

नेपाल नगरपालिका संघ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्न आग्रह गरे ।

परिषदका सदस्य सचिव इन्जिनियर मोहन भट्टराईले व्यवसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरुरी रहेको बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले परिषदको विकेन्द्रीकरणगरी प्रदेश सरकारको नेतृत्वमा परिषद सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वय हुने सुझा दिए ।

प्राविधिक परिषद पुनसंरचना उच्चस्तरीय कार्य टोलीकी संयोजक गीता पौडेल अधिकारीले प्रदेशमा प्राविधिक र व्यवसायिक तालिमको स्तरवृद्धि गर्न नागरिक शिक्षा, वैज्ञानिक, रोजगार मुलुक र राष्ट्रका लागि दक्ष जनशक्ति तयार गर्ने आवश्यक सुझाव संकलन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताइन् ।

प्रदेशमा परिषदको आङ्गिक ७, सरकारी १४ र ५४ वटा नीजि प्राविधिक शिक्षालय सञ्चालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर