पाल्पाको सत्यवती मेलाबाट ३३ लाख भेटी संकलन
रुपन्देही । पाल्पाको सत्यवती तालमा लागेको पाँच दिने मेलाबाट करिब ३३ रुपैयाँ भेटी संकलन भएको छ । मेलामा श्रद्धालु भक्तजनले मन्दिर निर्माणका लागि भेटी चढाएका हुन् ।
संकलित ३२ लाख ८१ हजारमध्ये ९ लाख ७६ हजार २१९ रुपैयाँ नगदी रसिदबाट दान सहयोग प्राप्त भएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिले जनाएको छ । समितिले सत्यवती परिसरका पसलहरुबाट भाडा पनि उठाउने गर्छ ।
सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाड्ने र मध्यराति पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ ।
मेला भर्न रुपन्देही, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, कास्की, काठमाडौंलगायत भारतका विभिन्न स्थानबाट दर्शनार्थी आएका छन् ।
मेला अवधिमै झण्डै २० लाख बराबर सुनसमेत दान गरेको भेटिएको समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । मेला सकिएपछि आइतबार र सोमबार तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको सहभागितामा भेटी गनिएको छ ।
मन्दिरको वरपर ६-७ स्थानमा राखिएका दानपात्रमा संकलन भएको रकम जम्मा गरेर गणना गरेको समितिले जनाएको छ । च्यातिएका, पोलिएका र सिक्का गणना गर्न अझ बाँकी छ । सत्यवती तालमा लागेको मेलामा झण्डै ३ लाखभन्दा बढी श्रद्धालुको सहभागिता थियो । गतवर्ष १८ लाख ५० हजार भेटी संकलन भएको थियो ।
श्रद्धालुले चढाएको रकम संकलन साथै अधिकांश श्रद्धालुले दानपात्रमा राखे पनि कतिपयले बाहिर फालेको भेटिएको थियो । तालको वरपर सबै स्थानमा पैसा भेटिएको छ । पाँच, दश, बीस, पचास, सय, पाँच सय, हजारका नोट भेटिएका छन् ।