लुम्बिनी वाणिज्य क्याम्पस र प्रज्ञानम् ब्रह्म- ४
अन्तर्राष्ट्रियस्तरको शैक्षिक, अनुसन्धान सम्मेलन नियमित रुपमा आयोजना गर्न सक्षम देशकै एकमात्र सामुदायिक क्याम्पस हो लुम्बिनी वाणिज्य क्याम्पस । त्रिभुवन विश्वविद्यालयसँग आवद्ध रही विश्वविद्यालय अनुदान आयोगबाट दोस्रो पटक गुणस्तर प्रत्यायान प्राप्त गर्न सफल यो क्याम्पस लुम्बिनी प्रदेशको गौरव गर्न लायक नमुना शैक्षिक प्रतिष्ठान हो । परम्परागत शैलीको सम्भाषण, पट्यारलाग्दा बासी कुरा र अव्यवहारिक सैद्धान्तिक विमर्शभन्दा अलि पृथक खालको अनुसन्धानात्मक शिक्षण सिकाइमा जोड दिनुपर्छ भन्ने सन्देश दिन क्याम्पसले ‘प्रज्ञानम् ब्रह्म’ महावाक्यलाई ब्यानर हेड बनाएर दुई वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय सेमिनार/सम्मेलन गर्दै आएको छ ।
प्रज्ञानम् ब्रह्म- पुरातन हिन्दू शास्त्र ‘ऋग्वेद’को महावाक्य हो । यसको शाब्दिक अर्थ हुन्छ- ज्ञान नै ब्रह्म हो । चार वटै वेदमा एकएक वटा महावाक्य छन् । महावाक्यको अर्थ हुन्छ- आफ्नो जीवनको परम स्थितिको अनुसन्धान गर्न सक्यौं भने हाम्रो जीवन सफलतापूर्वक निर्वाह हुन्छ । यही महावाक्यलाई मूल मन्त्र मानेर लुम्बिनी वाणिज्य क्याम्पस यतिबेला चौथो पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने अठोटका साथ जुटिरहेको छ । यही मंसिर १४ र १५ गते (तदनुसार नोभेम्बर २९ र ३०, २०२४) का दिन International Conference on Global Innovations in Management and Social Sciences, ‘Imparting Dynamics’ प्रज्ञानम् ब्रह्म- ४ आयोजना गर्ने गरी हामी अहिले अन्तिम चरणको तयारीमा जुटेको छ ।
यस सम्मेलनमा व्यवस्थापन र सामाजिक विज्ञान विधामा विश्वव्यापी रुपमा भैरहेका नवप्रवर्तन, खोज र अनुसन्धानका गतिशीलताहरुको उजागर गर्दै प्राज्ञिक विमर्श गरिनेछ । सम्मेलन तयारी तथा व्यवस्थापनका लागि अनुसन्धान तथा विकास विभागको समन्वयमा विभिन्न १६ वटा उपसमिति अहोरात्र खटिरहेका छन् । व्यवस्थापन शिक्षामा विशिष्टीकरण गर्दै आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल लुम्बिनी वाणिज्य क्याम्पस सामुदायिक क्याम्पसहरुमध्ये देशकै एउटा उत्कृष्ट क्याम्पस हो । हाल क्याम्पसमा नियमित अध्ययनरत विद्यार्थीहरुको सङ्ख्या ४३०० रहेको छ ।
क्याम्पसले यसअघि पहिलो पटक वि.स. २०७५ कार्तिक ३० र मंसिर १ गते (तदनुसार नोभेम्बर १६ र १७, २०१८) मा “International Seminar on Redefining Management Education in Nepal” प्रज्ञानम् ब्रह्म- १ विषयमा पहिलो अन्तर्राष्ट्रिय कन्फ्रेन्स भव्य रुपमा सम्पन्न गरेको थियो । दोस्रो पटक वि.स. २०७७ मंसिर १९ गते शुक्रबार (तदनुसार डिसेम्बर ४, २०२०) का दिन Virtual माध्यमबाट “International Webinar on Recent Developments in Business, Management & Social Sciences”, ‘Spreading Globally’ प्रज्ञानम् ब्रह्म- २ र तेस्रो पटक वि.सं. २०७९ पौष २७ र २८ गते (तदनुसार जनवरी ११ र १२, २०२३) मा “International Conference on Management, Economics, Social Innovation and Information Science”, ‘Sharing Globally’ प्रज्ञानम् ब्रह्म- ३ सफलतापूर्वक र उपलब्धिमूलक रुपमा सम्पन्न गरिसकेको छ ।
आजभोलि व्यवस्थापन शिक्षाप्रतिको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ । त्रिभुवन विश्वविद्यालयमा भर्ना हुने कुल विद्यार्थी संख्यामा व्यवस्थापन संकाय रोज्ने करिब आधाजसो देखिन्छ । इन्जिनियरिङ र मेडिकल शिक्षामा जस्तै आकर्षण देखिन्छ यो विधामा पनि ।
सम्मेलनमा भारत, पाकिस्तान, चीन, थाइल्यान्ड, मलेसियालगायतका विश्वविद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरुले आआफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा स्वदेशी र विदेशी गरी १२० भन्दा बढी अनुसन्धानकर्ताहरुले अनुसन्धान-पत्र प्रस्तुत गर्नेछन् । सम्मेलनको औपचारिक समुद्घाटन मंसिर १४ गते दिउँसो १ः०० बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौड्यालबाट लुम्बिनी प्रदेशकै गहनाको रुपमा रहेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लुम्बिनी सभाहलमा हुनेछ । प्राविधिक सत्रहरु क्याम्पसकै विभिन्न सुविधा सम्पन्न हलहरुमा हुनेछन् ।
सम्मेलनलाई व्यवस्थित गर्न निम्न चार वटा प्रमुख विषयरक्षेत्र समावेश गरिएको छः
- १) सामान्य व्यवस्थापन, व्यवस्थापन विज्ञान र सूचना प्रविधि
- २) लेखा र वित्त
- ३) अर्थशास्त्र, गणित र तथ्यांक
- ४) समाजशास्त्र, मनोविज्ञान र शिक्षा
व्यवसायिक व्यवस्थापन, अर्थशास्त्र, सामाजिक नवप्रवर्तन र सूचना प्रविधिको विकासक्रमबारे नवीनतम कुरा थाहा पाउनु, अनुसन्धानको क्षेत्रमा विश्वव्यापी रुपमा आएका परिवर्तित अवस्था र नवीनतम कौशलको विकास गर्नु, अनुसन्धानकर्ताका लागि अनुसन्धनात्मक लेखको प्रस्तुतीकरणको अवसर सृजना गर्नु यस अन्तर्राष्ट्रिय सम्मेलनका प्रमुख उद्देश्यहरु हुन् ।
प्रमुख प्राज्ञ वक्ताहरुमा प्रा.डा. डिल्लीराज शर्मा (डीन, व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालय), प्रा.डा. एम. मथिराजन (चिफ रिसर्च साइन्टिस्ट, इन्डियन इन्स्टिच्युट अफ साइन्स, भारत), प्रा. डा. मुहम्मद सहवाज (ऊर्जा तथा वातावरण अर्थशास्त्री, बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजी, चीन), प्रा.वयङ मार्क लिम (डीन, सनवे बिजनेश स्कुल, सनवे विश्वविद्यालय, मलेसिया), सह प्रा. डा. पेनसिरी अकाजित (एसोसिएट डीन फर रिसर्च एन्ड ग्रेजुएट स्टडिज, प्रिन्स अफ सन्कला विश्वविद्यालय, थाइल्याण्ड) रहने तय भएको छ ।
हाम्रा पुस्तक र पाठ्य सामग्री त्यहाँ समावेश भएका विषयवस्तु, केस स्टडी र अझै महत्वपूर्ण अनुसन्धानका कार्यहरु सबै विकसित पश्चिमा देशमा डिजाइन गरिएका छन् । हाम्रो आफ्नो मौलिकता छैन ।
सम्मेलनमा विभिन्न प्राविधिक सत्रहरुमा प्रा.डा. महानन्द चालिसे (त्रिभुवन विश्वविद्यालय), प्रा.डा. डीडी चर्तुवेदी (युनिभर्सिटी अफ दिल्ली, भारत), प्रा.डा. विद्यानाथ कोइराला (त्रिभुवन विश्वविद्यालय) र प्रा.डा. राधेश्याम प्रधान (काठमाडौं)लगायतका प्राज्ञले अध्यक्षता गर्नेछन् । क्याम्पसले अनुसन्धानको क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएका यस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनबाट शैक्षिक गुणस्तरमा वृद्धि हुने र प्राध्यापक तथा विद्यार्थीहरुलाई अनुसन्धान कार्यमा अगाडि बढ्न सहज बनाउने कार्य गर्दछ भन्ने दाबी गरेको छ क्याम्पसले । यस अन्तर्राष्ट्रिय सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, शाइन रेसुंगा डेभलपमेन्ट बैंकलगायत थुप्रै सहयोगी संघसंस्थाहरुले आर्थिक तथा व्यवस्थापकीय सहयोग गरेका छन् ।
खास गरेर बैंक, सरकारी निकाय र औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् १९५४ (विसं २०११) बाट नेपालमा व्यवस्थापन शिक्षा शुरु भएको हो । त्यो बेला राजनीतिशास्त्र, इतिहास, अंग्रेजी साहित्य र अर्थशास्त्र जस्ता विषयप्रतिको रुचि बढी थियो । वाणिज्य/व्यवस्थापन शिक्षा कम प्राथमिकतामा पर्दथ्यो । सरकारी/निजामती सेवामा लेखापाल (एकाउन्टेन्ट)को जागिर/पेशालाई हेयको दृष्टिले हेरिन्थ्यो वा भनौं कम प्राथमिकताको क्षेत्र थियो । व्यवसाय गर्ने पेशालाई तल्लो दर्जामा राखिन्थ्यो ।
खास गरेर भारतमा भएको आर्थिक विकास र उद्योग कलकारखानाको वृद्धि र विकाससँगै वाणिज्यशास्त्रका स्नातकहरुलाई महत्व दिन थालियो । त्यसैको प्रभावस्वरुप नेपालमा त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन र वाणिज्य संकायका कार्यक्रम शुरु गरेको हो । योभन्दा अघि नेपाली विद्यार्थीहरु वाणिज्यशास्त्रको उच्च शिक्षा हासिल गर्न भारतका शहरहरु कालकोता, बनारस, पटना, इलाहावाद र लखनउ जाने गर्थे ।
व्यवस्थापन विधाका विद्वान हेनरी मिन्जबर्गका अनुसार ‘कला, विज्ञान र सृजनालाई एकै ठाउ“मा ल्याउने अभ्यास नै व्यवस्थापन हो ।’ आजभोलि व्यवस्थापन शिक्षाप्रतिको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ । त्रिभुवन विश्वविद्यालयमा भर्ना हुने कुल विद्यार्थी संख्यामा व्यवस्थापन संकाय रोज्ने करिब आधाजसो देखिन्छ । इन्जिनियरिङ र मेडिकल शिक्षामा जस्तै आकर्षण देखिन्छ यो विधामा पनि । व्यवस्थापन कला हरेक क्षेत्रमा उत्तिकै महत्वपूर्ण ठहरिँदै आएको छ ।
व्यवस्थापन शिक्षाले कला, विज्ञान र सृजनालाई एकै ठाउँमा ल्याउने अभ्यास गर्नुपर्दछ । यसले व्यवसायिक क्षेत्रमा आवश्यक पर्ने दक्ष व्यवस्थापक, लेखापाललगायतका जनशक्ति उत्पादन गर्ने, व्यवस्थापन कन्सल्टेन्टको रुपमा परामर्शदाताको कार्य गर्ने उच्च दक्ष जनशक्तिको माग स्वदेशमा नै पूरा गर्न सक्नुपर्दछ ।
नेपालमा अहिले धेरैजसो विश्वविद्यालयले व्यवस्थापन विषयका विभिन्न नामका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । व्यवस्थापन शिक्षा बहु–विषयगत प्रकृतिको हुन्छ । व्यवस्थापकीय सीप जीवनका हरेक मोडमा उत्तिकै काम लाग्दछ । हाम्रा पुस्तक र पाठ्य सामग्री त्यहाँ समावेश भएका विषयवस्तु, केस स्टडी र अझै महत्वपूर्ण अनुसन्धानका कार्यहरु सबै विकसित पश्चिमा देशमा डिजाइन गरिएका छन् । हाम्रो आफ्नो मौलिकता छैन । हाम्रो आफ्नो माटो सुहाउँदा विषयवस्तु व्यवस्थापकीय र उद्यम/व्यवसायका मौलिकखाले समस्याहरुको समाधान गर्ने क्षमता विकास गर्नु अहिलेको मुख्य चुनौती हो ।
अब हामी मौलिक सृजनशील, युवा उद्यमीको देश भनेर किन नचिनिने ? के स्टिभ जब्स, बिल गेट्स, वारेन बफेट, जुकरबर्ग, ज्याक मा नेपालमा उत्पादन हुन सक्दैनन र ? एक प्राज्ञको रुपमा सम्बन्धित सरोकारवालाहरुलाई देश निर्माणमा अग्रसर हुने जनशक्ति तयार गर्न समय सान्दर्भिक दिशानिर्देश गर्नु जरुरी हुन्छ । व्यवस्थापन क्षेत्रका आशावादी युवाहरुमा अरुले बनाएको बाटो हिँड्नुभन्दा आफैंले विकास गरेको बाटोमा बढी भरोसा र विश्वास हुन्छ । आफैंले खनेको बाटो हिँड्नु रोमाञ्चक हुन्छ । तसर्थ व्यवस्थापन शिक्षा अध्यापन गराउने बिजनेस स्कुलहरु र प्राज्ञहरुको अबको कार्यभार यो दिशातर्फ निर्देशित हुुनुपर्दछ । यसैबाट दायित्वबोध पूरा हुन्छ र सन्तुष्टि पनि मिल्छ ।
व्यवस्थापन अध्यापन गराउने शिक्षालयहरु, प्राज्ञहरु र व्यवस्थापन/वाणिज्यशास्त्र अध्ययन गर्ने विद्यार्थीहरु सबैले अहिलेको वर्तमान धरातलभन्दा माथि उठेर फरक ढंगले सोच्नुपर्दछ । अनुसन्धानमुखी शिक्षण सिकाइ क्रियाकलापमा जोड दिनुपर्दछ । व्यवस्थापन शिक्षाको विश्वव्यापी दृष्टिकोण सँगसँगै ‘सोचाइमा विश्वव्यापी दृष्टिकोण, काम गराइ र व्यवहारमा स्थानीयता/मौलिकता’ भन्ने अवधारणालाई आत्मसात गर्दै नव-प्रवर्तनको माध्यमबाट अब व्यवहारमा उतार्न ढिलो गर्नुहुँदैन । पाठ्यक्रम र शिक्षण पद्धतिमा समयानुकूल परिमार्जन गर्दै जानुपर्दछ । यो नै व्यवस्थापन शिक्षाको तर्फबाट देश निर्माण गर्ने कार्यमा महत्वपूर्ण योगदान हुन्छ । व्यवस्थापन शिक्षालाई सैद्धान्तिकभन्दा प्रायोगिक बनाउनु पर्दछ ।
व्यवस्थापन विधा बहुआयामिक विधा हो । अबको व्यवस्थापन र वाणिज्य शिक्षा परम्परागत नभएर अझ बढी गतिशील हुनुपर्दछ । हेनरी मिन्जबर्गले भने जस्तो व्यवस्थापन शिक्षाले कला, विज्ञान र सृजनालाई एकै ठाउँमा ल्याउने अभ्यास गर्नुपर्दछ । यसले व्यवसायिक क्षेत्रमा आवश्यक पर्ने दक्ष व्यवस्थापक, लेखापाललगायतका जनशक्ति उत्पादन गर्ने, व्यवस्थापन कन्सल्टेन्टको रुपमा परामर्शदाताको कार्य गर्ने उच्च दक्ष जनशक्तिको माग स्वदेशमा नै पूरा गर्न सक्नुपर्दछ । वर्तमानको आवश्यकता भनेको टाइशुट लगाएर ९-५ को जागिर गर्नेमात्रै नभएर उद्यमी जनशक्ति उत्पादन गर्ने दिशामा अभिमुख वाणिज्य शिक्षा हो । उद्यमशील भावना जागृत गराउनुपर्दछ ।
२१औं शताब्दीको व्यवस्थापन शिक्षा केवल व्यवस्थापन र वाणिज्यशास्त्र अध्यापनमा मात्र सीमित हुनुहुँदैन । अध्ययन अध्यापनका क्षेत्रमा व्यापक विस्तार भइरहेको हुँदा आजभोलि यसलाई व्यवसायिक शिक्षा भनिन्छ । त्यस्तै शिक्षालयहरुलाई बिजनेस स्कुल ।
२१औं शताब्दीको व्यवस्थापन शिक्षा केवल व्यवस्थापन र वाणिज्यशास्त्र अध्यापनमा मात्र सीमित हुनुहुँदैन । अध्ययन अध्यापनका क्षेत्रमा व्यापक विस्तार भइरहेको हुँदा आजभोलि यसलाई व्यवसायिक शिक्षा भनिन्छ । त्यस्तै शिक्षालयहरुलाई बिजनेस स्कुल । व्यवसाय शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई व्यवस्थापन र उत्पादन कार्यसँग सम्बन्धित आधारभूत सिद्धान्त सिकाइन्छ । यस्ता कार्यक्रमको उद्देश्य व्यवस्थापनसँग सम्बन्धित निर्णय प्रक्रिया, दर्शन, सिद्धान्त र मनोविज्ञान तिनीहरुको व्यवहारिक प्रयोग र नयाँ व्यवसाय शुरुवात कसरी गर्ने, सञ्चालन कसरी गर्ने भन्ने विषय अध्यापन गरिन्छ ।
शिक्षाको मर्म जीवन गुजारा गर्ने सीप र वृत्ति विकाससँग मात्रै रह्यो भने नवीनता अन्वेषण गर्न सकिन्न । अहिले त्यस्तै भएको छ । दक्ष र उच्च दक्ष जनशक्ति पनि ब्रेन ड्रेन भएर पलायन भैरहेको छ । विदेशी विश्वविद्यालयमा गएर अध्ययन गरेका कैयौं नेपाली प्रतिभा विभिन्न खोज र अनुसन्धानमा अब्बल ठहरिएका छन्, तर विडम्बना देशभित्र त्यस्तो वातावरण बन्न सकिरहेको छैन । विश्वविद्यालय तहको शिक्षा अनुसन्धानमुखी हुनुपर्छ । विश्वविद्यालय अनुदान आयोग र सरकारका अन्य निकायमार्फत अनुसन्धानको क्षेत्रमा भैरहेको लगानीले खासै प्रतिफल दिन सकेको छैन । ज्ञानको विस्तार र विकासभन्दा पनि पुनः उत्पादनमा बढी केन्द्रित छ । बढी सैद्धान्तिक र कर्मकाण्डी प्रकृतिको छ हाम्रो विश्वविद्यालय तहको शिक्षा ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट लिइने स्नातक तह र स्नातकोत्तर तहका परीक्षाहरुमा विभिन्न समयमा पटक-पटक बोर्ड प्रथम, बोर्ड द्वितीय, बोर्ड तृतीय र प्रायःजसो दशौं स्थानसम्म प्राप्त गरिरहेको लुम्बिनी वाणिज्य क्याम्पसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्था र विश्वविद्यालयहरुसँग पनि सहकार्य गरिरहेको छ । मानित विश्वविद्यालयको रुपमा विकास हुने लक्ष्यसहित त्रिविका नियमित कार्यक्रमका साथै अरु स्वायत्त कार्यक्रमहरु सफलतापूर्बक सञ्चालन गर्दै अगाडि बढिरहेको लुम्बिनी वाणिज्य क्याम्पसका लागि यो अन्तर्राष्ट्रिय सम्मेलन एउटा कोशेढुंगा बनोस् । अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउन सक्षम होस् । शुभकामना !