दुर्गा प्रसाईंलाई पक्राउको डर, के भन्छ प्रहरी ? – Nepal Press

दुर्गा प्रसाईंलाई पक्राउको डर, के भन्छ प्रहरी ?

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले हिजो जारी गरेको भिडिओले उनलाई समस्यामा पार्न सक्ने देखिएको छ । उनी आफैँ प्रहरीले पक्राउ गर्न सक्ने त्रासमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा २१ करोड डलर रहेको दाबी गर्दै प्रसाईँले फेक डकुमेन्टसहितको भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सरकार र प्रहरीको ध्यानाकर्षण भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्की सामाजिक सञ्जाल वा सार्वजनिक स्थलमा व्यक्तिको मानहानी हुने गरी जथाभावी बोल्ने कुरा अनुसन्धानको विषय बन्ने बताउँछन् ।

‘हाम्रो समाजमा यस्ता अफवाहयुक्त कुरा बोल्ने प्रवृत्ति बढेको छ’, उनले भने, ‘त्यसलाई निरुत्साहन गर्नुपर्ने विषय पनि यसमै जोडिन्छ ।’

यदि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका व्यक्तिका विषयमा दिएका अभिव्यक्ति र लगाइएका लाञ्छना झुठो ठहरिएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ आकर्षित हुने प्रहरीको साइबर ब्युरोले जनाएको छ । ब्युरोका एक अनुसन्धान अधिकृतका अनुसार त्यस्तो कसुरमाथि ऐनको दफा ४७ आकर्षित हुन्छ ।

‘विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्ने’ महलअन्तर्गत सजाय हुने उनले बताए । त्यसमा भनिएको छ, ‘कम्प्युटर, इन्टरनेट, लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामाग्री वा कसैप्रति द्वैष फैलाउने वा विभिन्न जात, जाती वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ ।’

सरकारले ठोस तयारी गरिनसके पनि व्यवसायी प्रसाईँ आफैँ पक्राउको त्रासमा परेका छन् । सरकारले झूटो मुद्दा लगाएर पक्राउ गर्न आँटेको उनको दाबी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईँले आफ्ना समर्थकहरूलाई चनाखो रहन अपिल गरेका छन् ।

उनी लेख्छन्, ‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरि झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ । मलाई साइवर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु । राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’

(फाइल तस्बिर)


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईंलाई पक्राउको डर, के भन्छ प्रहरी ?

  1. यस्तो विषयमा सम्बन्धित पक्षको छानबिन गरी दोषी देखिए सम्बन्धित पक्षलाई कारबाही होस् होइन भने यस्तो भ्रमको खेती गर्ने अफाहा फिजाउने ब्यक्ति वा राज्यको मानमर्दन गर्ने समुह वा राजनीतिक नेता वा कार्याकर्ता वा दललाई हदैसम्मको कानुनी कारबाही राज्यले गर्नुपर्छदेशलाई अस्थिर र अफाहा फिजाउने जो कोहीलाई छोड्नु हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर