रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढ्यो
काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो ।
उक्त तथ्यांक अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४०४ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार ९३९ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।