रुकुमपूर्व: रुख चिन्ह लिएर चुनाव लड्न कसरी तयार भइन् एमालेकी उपसचिव ? – Nepal Press

रुकुमपूर्व: रुख चिन्ह लिएर चुनाव लड्न कसरी तयार भइन् एमालेकी उपसचिव ?

तुलाचन भन्छिन्- फरक पार्टीको चिन्हमा मत माग्न अप्ठेरो त हुन्छ, तर पार्टीको निर्णय मान्नैपर्‍यो

रुपन्देही । रुकुमका कुनै पनि निर्वाचनबाट कांग्रेस-एमालेले लामो समय सत्तामा पुग्न पाएनन् । लगातार माओवादीले जितेपछि त्यहाँका दुवै पार्टीका नेता कार्यकर्ताहरुलाई उकुसमुकुस भएको छ ।

अहिले पूर्व र पश्चिम गरी दुई जिल्लामा बाँडिएको छ रुकुम । नेकपा माओवादीले बलियो आधार क्षेत्र मानेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा माओवादीको त्यही विरासत पल्टाउन सत्तारुढ एमाले र कांग्रेसले यो उपचुनावमा मोर्चाबन्दी गरेका छन्, तर त्यो मोर्चाबन्दीमा मात्रै सीमित भएन । एमालेका नेताले कांग्रेसको चुनाव चिन्ह लिएर लड्ने निर्णय गरियो । एमालेका धेरै कार्यकर्ता र विश्लेषकहरु यो निर्णयले अचम्भित देखिन्छन् । उनीहरुले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।

मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने दिन कांग्रेस र एमालेबीच सहकार्यको प्रयास भइरहेको थियो । दिउँसो १२ बजेसम्म दुवै दलका नेताहरुले आफूले पाए जित्ने दाबी गरिरहेका थिए । अन्तिम समयमा नयाँ प्रस्ताव आयो- उम्मेदवार एमालेबाट बनाउने र चुनाव चिन्ह कांग्रेसको राख्ने । एकछिन एमालेका नेताहरु अलमल परे, तर एक्लै लड्दा तेस्रो स्थानमा जाने निश्चित भएको र कांग्रेसले पनि जित्ने अवस्था नभएकाले ‘विन-विन’ का लागि यो सहमति गरेको नेताहरु बताउँछन् ।

स्थानीय तहको उपनिर्वाचनमा मोर्चाबन्दी गरेका यी दुई दलले यसअघि २०७९ सालको निर्वाचनमा पनि सहकार्य गरेर माओवादीले यसअघि जितेका केही ठाउँमा सफलता पाएका थिए । अहिले पनि दुवै दलले मोर्चाबन्दी गरेर अगाडि जाने सहमति गरे ।

पहिलो चरणमा उनीहरुले मंसिर १६ गते हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को अध्यक्षमा साझा उम्मेदवार उभ्याएका छन् । एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम दुवै पार्टीको दाबी रहेपछि अन्तिममा यो विकल्पमा जानुपरेको बताउँछन् ।

‘पार्टीका नेताहरुसँग पनि लगातार कुरा भइरहेको थियो, हामीले आफ्नो उम्मेदवारलाई जसरी पनि अघि बढाउने भनेका थियौं । कांग्रेसले मानिरहेको थिएन । एक्लाएक्लै लड्दा दुवैको कुनै सम्भावना पनि थिएन । त्यसैले बाध्य भएर यो विकल्पमा गएका हौं’, उनले भने ।

कांग्रेस रुकुमपूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने सहमति गरेको र यसैलाई कार्यान्वयनमा लैजाने निर्णय भएको बताए ।

उपाध्यक्षको उम्मेदवार बनेकी तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघकी केन्द्रीय सदस्य हुन् । लामो समय राजनीतिमा रहेकी उनी २५ वर्ष शिक्षण पेशामा थिइन् । उनका श्रीमान टोपबहादुर वली पनि एमाले प्रदेश कमिटीका सदस्य हुन् ।

यति लामो समय एमालेको राजनीति गरेकी तुलाचन रुख चुनाव चिन्हमा भोट माग्न सहज नभएको, तर पार्टी निर्णयलाई मानेर अगाडि बढेको बताउँछिन् ।

‘अलिअलि गाह्रो त हुन्छ नि ! फरक पार्टीको चिन्हमा मत माग्ने अप्ठेरो विषय हो, तर पार्टीको निर्णयअनुसार जानुपर्‍यो । यसो नगरेको भए हुने भनेर धेरै शुभेच्छुक, पार्टीका सदस्यहरुले भन्नुभएको छ, तर म पार्टीको क्याडर हुँ । पार्टीले यो आवश्यक ठानेर निर्णय गरेपछि यसैलाई कार्यान्वयन गर्ने गराउने हो’, उनले भनिन् ।

अहिलेसम्म यहाँ माओवादीले जितिरहेको र धेरै मतदाता, शुभेच्छुकहरुले हामीसँग आशा गरेकाले पनि यो निर्णयमा जानुपरेको उनको भनाइ छ ।

उनी थप्छिन्, ‘अब केन्द्रमा सहकार्य भएपछि स्थानीयमा पनि सहकार्य भएको हो । मैले सबैलाई यही भनिरहेको छु । धेरै ठूलो क्षेत्र छ भूगोल । समय छोटो छ, कसरी सन्देश पुर्‍याउने भन्ने छ ।’

एमाले जिल्ला सचिव तेजेन्द्र बुढाले दुवै दलले अन्तिम समयसम्म दाबी नछाडेको र सहकार्यको विकल्प पनि नभएकाले बाध्य भएर ‘विन-विन’ का लागि यसो गरिएको बताए ।

‘यस्तोमा हामीलाई रहरभन्दा पनि बाध्यता भयो । दुवै पार्टीको विन-विनका लागि यसो गरिएको हो । बाहिर बसेर यसो नगरेको भए हुने भन्न सजिलो होला, तर यहाँको अवस्था फरक छ । हामी कति थिचोमिचोमा छौं, कसरी पेलिएका छौं, त्यसबाट मुक्ति पाउन पनि यसखालको निर्णयमा बाध्य भएर सहमति जनाएका हौं । यो अरु कसैको दबाबभन्दा पनि यहाँको बाध्यता हो’, उनले भने ।

२ नम्बर वडामा एमाले जिल्ला कमिटी सदस्य जीवन रोका दुई दलको साझा उम्मेदवार छन् । सहमतिपत्रमा कांग्रेस जिल्ला सभापति केशरमान रोका र एमाले जिल्ला अध्यक्ष लीलामणि गौतमले हस्ताक्षर गरेका छन् ।

समझदारीमा दुवै दलले साझा घोषणापत्र बनाउने, जिल्लाका अन्य कार्यक्रममा समेत साझा संयन्त्र बनाउने र आलोपालो नेतृत्व गर्ने प्रस्ताव उल्लेख गरिएको छ ।

एमाले-कांग्रेस मिलेपछिको गणित

गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । दुवै गठबन्धन गरेका पार्टीको मत जोड्दा पनि जीतको अंक पुग्दैन ।

तर अहिले धेरै अवस्था फेरिएको एमाले-कांग्रेसको दाबी छ । एमाले जिल्ला अध्यक्ष गौतमले त्यो निर्वाचनपछि धेरै ठूलो संख्यामा माओवादीबाट एमाले प्रवेश भएको र तत्कालीन अवस्थामा नेकपा एसमा रहेकाहरु पनि अधिकांश एमालेमा फर्किएको बताए ।

‘अवस्था धेरै फरक छ, धेरै ठूलो संख्यामा एमाले प्रवेश भएको छ, हामीले सहकार्यपछि सहजै चुनाव जित्नेछौं’, उनले भने ।

माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले एमाले-कांग्रेसले व्यक्ति एउटा पार्टीको र चिन्ह अर्काे पार्टीको उठाएर हार स्वीकार गरिसकेको बताए ।

‘उनीहरुले हार स्वीकारेको यसबाटै देखियो । कति अत्तालिएका रहेछन् । उनीहरु मिले पनि हामी सहजै जित्छौं । गत निर्वाचनको अंकले पनि त्यो देखाउँछ’, उनले भने ।

त्यसो त माओवादीमा पनि गत निर्वाचनपछि धेरैले साथ छाडेका छन् । यही आंकलन गरेर माओवादीले विप्लव नेतृत्वको नेकपा माओवादी र नेकपा एसको साथ लिन खोजेको छ । अध्यक्ष बराल एमाले र कांग्रेसबाहेकका दलको साथ लिने बताउँछन् ।

विश्लेषक ऋषि आजादले यस्तो निर्णयले स्वस्थ प्रतिस्पर्धालाई गिज्याएको टिप्पणी गरे ।

‘लोकतन्त्रमा जनमतसँग डराउनेहरुले निर्वाचनमा गठबन्धन गर्ने हुन्, त्यसमाथि एउटा दलको मान्छे अर्को दलको चुनाव चिन्हबाट लडेको त सुहाउँदै सुहाएन । गलत नजिर बसाले । यसरी जितेर पनि कुनै अस्तित्व रहँदैन’, उनले भने ।

यस पालिकामा ११ हजार १८० मतदाता रहेका छन् । भूगोलमा धेरै ठूलो रहेको पालिकामा १४ वटा वडा रहेका छन् ।

नेपाली कांग्रेसले रिचा सुनारलाई उम्मेदवार बनाउने निर्णय गरे पनि समझदारीमा छाडेको हो । माओवादीले नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । एमाले-कांग्रेस गठबन्धन भएपछि माओवादीले पनि अन्तिम समयमा उम्मेदवार फेरेको छ । पहिले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय भए पनि गठबन्धन भएपछि उम्मेदवार फेरेको हो । अहिले उम्मेदवार बनाइएकी नरपुरा बुढा यसअघि माओवादीबाट उपाध्यक्षमा निर्वाचन जितेर दुर्घटनामा मृत्यु भएकी भूपेन्द्रा बुढाकी दिदी हुन् । तटस्थ मतदाता तान्न पनि माओवादीले यस्तो निर्णय गरेको आंकलन गरिएको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर २ का अध्यक्षको मृत्युपछि यहाँ पनि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *